१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
दोषीलाई कारबाहीको माग गर्दै सीताका आफन्त र स्थानीय १७ असोजमा जिल्ला अदालत रुपन्देहीको गेटमा धर्नामा बसेका थिए । फाइल फोटो
२o८१ बैशाख २४ सोमबार o६:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सीता भण्डारी मृत्यु घटना : श्रीमान्, जेठाजु र आमाजू पुर्पक्षका लागि थुनामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:२९:oo

तीनैजनामाथि आत्महत्या दुरुत्साहनको मुद्दा

तिलोत्तमाकी २७ वर्षीया सीता भण्डारीको मृत्यु प्रकरणमा पक्राउ परेका तीनजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । आत्महत्या दुरुत्साहन मुद्दामा मंगलबार र बुधबार भएको थुनछेक बहसपछि जिल्ला अदालत रुपन्देहीले थुनामा पठाएको हो । 

अदालतको आदेशसँगै सीताका पति टीका पौडेल, जेठाजु हरिप्रसाद र आमाजू विष्णु पौडेललाई बुधबारै कारागार चलान गरिएको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए । जिल्ला न्यायाधीश पीताम्बर शर्माको इलाजसले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । बहसमा सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता डम्बरप्रसाद काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता विमल पन्थी र पुडेन्द्र पाण्डेयले बहस गरेको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकृत अनन्तराम मरासिनीले जानकारी दिए ।

तिलोत्तमा नगरपालिका– ५ मणिग्राम बस्ने सीता गत २० भदौको बिहान घरमा मृत भेटिएकी थिइन् । श्रीमती घरको शौचालयमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा देखेपछि आफूले पासो काटेर भुइँमा राखेको पति टीकाले बताएका थिए । घटनापछि प्रहरीले सीताका श्रीमान्सहित तीनजनालाई नियन्त्रणमा राखेर लामो समय अनुसन्धान गरेको थियो । प्रहरीले आर्थिक प्रलोभनमा परी दोषीलाई छाड्न सक्ने भन्दै माइती पक्ष र स्थानीयले आन्दोलन गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)कै टोली आएको थियो । 

सिआइबी र रुपन्देही प्रहरीको संयुक्त टोलीले करिब तीन साता अनुसन्धान गरेपछि प्राप्त प्रमाणका आधारमा सीताले आत्महत्या गरेको ठहर गरेको थियो । तर, घटना आत्महत्या भए पनि आत्महत्या गर्न बाध्य पारिएको अवस्था रहेको भन्दै प्रहरीले श्रीमान्, जेठाजु र आमाजूविरुद्ध दुरुत्साहन मुद्दा अघि बढाएको हो । 

रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले जिल्ला प्रहरी र सिआइबीको संयुक्त अनुसन्धानबाट भण्डारीले आत्महत्या गरेको देखिए पनि आत्महत्या गर्न बाध्य पारिएको पाइएकाले सरकारी वकिलको कार्यालयमार्फत त्यसैअनुसार मुद्दा अघि बढाइएको बताए । ‘सिआइबी र हाम्रो अनुसन्धान, विशेषज्ञ टोलीको पोस्टमार्टम रिपोर्ट, मृतकको मोबाइलमा भेटिएको सुसाइट नोट, घटनासँग जोडिएका ३३ जनासँग गरिएको सोधपुछ तथा सिसिटिभी फुटेज सबैको अनुसन्धानबाट भण्डारीको मृत्यु आत्महत्याबाट भएको पाइएको छ,’ एसपी केसीले भने, ‘तर, घटना आत्महत्या भए पनि आत्महत्या गर्न बाध्य पारिएको अवस्था रहेकाले घटनामा संलग्न तीनजनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा कारबाहीका लागि अदालत पेस गरिएको हो ।’ प्रहरीले घटनास्थलमा भेटिएको सीताको आइफोन मोबाइलको नोटमा मृत्युअघि सुसाइट नोट लेखेको पाइएको, सीता र उनका पतिबीच आदानप्रदान हुने म्यासेज विश्लेषण गर्दा एसएमएसको ‘प्याटर्न’ मिलेको जनाएको छ । 

ad
ad