१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
मनाङ जोड्ने बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ चण्डीस्थानको खरखरे भीरमा गएको पहिरो । यहाँ दिनहुँजसो पहिरोले यात्रु सास्तीमा परेका छन् । तस्बिर : नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

दिनहुँको पहिरोले बेँसीसहर–चामे सडकमा यात्रुलाई सास्ती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:५३:oo

मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा बर्खा र हिउँद दुवै याममा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । बेँसीसहर र मनाङ सदरमुकाम चामे जोड्ने सडक निर्माण भएको २५ वर्ष पुग्दा पनि नागरिकले सहज यात्रा गर्न पाएका छैनन् ।

बेँसीसहर नगरपालिका–६ चण्डीस्थानकोे खरखरे भिरमा पहिरो खस्दा दैनिकजसो सडक अवरुद्ध हुने गरेको छ । वर्षायाम तथा हिउँदमा समेत चण्डिस्थानको अक्करखोला, उत्तिसघारी र चिसापानीवरपर झरिरहने पहिरोले बेँसीसहरदेखि खुदीसम्मको यात्रा झनै जोखिम र कष्टपूर्ण बन्ने गरेको छ । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बेँसीसहर–चामे सडक दैनिकजसो अवरुद्ध हुने गरेको बताए । बाढीपहिरोका कारण बेँसीसहर–चामे सडकको यात्रा कष्टकर बनेको छ,’ अध्यक्ष गुरुङले नयाँ पत्रिकासँग भने, ‘यसको दीर्घकालीन समाधान खोज्न ढिला भइसकेको छ ।’

उत्तरी क्षेत्रको सिंगो मर्स्याङ्दी गाउँपालिका जाने एक मात्र बाटो यही हो । मनाङ जान अर्को विकल्प छैन । त्यसैले पनि नागरिक जोखिम मोल्न बाध्य भइरहेका छन् । सडक विभागमातहतको उक्त सडक डिभिजन सडक कार्यालय दमौलीले हेर्दै आएको छ । सडक विभागले आर्थिक वर्ष ०५१/५२ मा बेँसीसहर–चामे सडक निर्माण थालेको थियो । द्वन्द्वका कारण सडक निर्माणमा कठिनाइ भएपछि ०५७ मा तत्कालीन शाही नेपाली सेनालाई जिम्मा लगाएको थियो । नेपाली सेनाले १९ वर्ष लगाएर पाँच वर्षअघि  ट्रयाक सम्पन्न गरी सडक विभागलाई जिम्मा लगाएको थियो ।

ज्यानै जाने जोखिम
अघिल्लो बिहीबार मर्स्याङ्दी गाउँपालिकाबाट बेँसीसहर आउँदै गरेका गर्जबहादुर गुरुङ खरखरे भीरमा एक घन्टा रोकिए । खरखरे भीरमा पहिरोसँगै झरेको ढुंगाले उनी सवार गाडीमा क्षति भयो । मर्स्याङ्दी गाउँपालिका– ४ स्याँगेका नरबहादुर गुरुङले पनि खरखरे भीरमा दैनिकजसो पहिरो जाँदा बाटो अवरुद्ध हुने गरेको बताए । खुदीका वीरेन्द्र भण्डारीका अनुसार यहाँका स्थानीयलाई जोखिमपूर्ण रूपमा पहिरोबाटै वारपार गर्नुपर्ने बाध्यता छ । ‘पानी परेपछि पहिरो खसिहाल्छ, डराई–डराई हिँड्नुपर्छ,’ भण्डारीले नयाँ पत्रिकासँग भने, ‘मनाङ जाने सडक बनेको २५ वर्ष भयो, कहिल्यै राम्रोसँग हिँड्न पाइएन ।’ 

६५ किलोमिटर पार गर्न ६ घन्टा
लमजुङ सदरमुकाम बेँसीसहरबाट मनाङको चामेसम्मको दूरी ६५ किलोमिटर छ । त्यसमा लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर सडक पर्छ । त्यही ६५ किलोमिटर सडक पार गर्न सवारीसाधनलाई ६ घन्टा लाग्छ । यात्रु मात्र होइन, सवारीचालकसमेत सडकको हालत देखर चिन्तित छन् । जोखिमपूर्ण यात्रा गराउन आफूहरूको रहर नभएर बाध्यता भएको सवारीचालक सोमबहादुर मग्राती बताउँछन् ।

लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बेँसीसहर–चामे सडकमा बाढीपहिराले सडक अवरुद्ध हुँदा बाटो खुलाउन तत्काल डोजर र प्रहरी परिचालन गर्ने गरिएको बताए । उनले भने, ‘बाटोमा पहिरो गएको खबर आएसँगै डिभिजन सडक कार्यालय दमौलीको सहयोगमा बाटो खुलाउँदै आएका छौँ ।’ 

ad
ad