मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २३ बुधबार ०६:५२:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल दुई विकेटले विजयी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २३ बुधबार ०६:५२:००

पपुवा न्युगिनीविरुद्धको पहिलो खेलमा उत्कृष्ट बलिङ गरेका सन्दीप ‘म्यान अफ दी म्याच’ भएका छन् । उनले १० ओभरमा ३५ रन खर्चंदै चार विकेट हात पारेका थिए । दुई टोलीबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।

पपुवा न्युगिनीविरुद्धको पहिलो एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल दुई विकेटले विजयी भएको छ । ओमानको अल अमेरात मैदानमा नेपालको जितमा सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी र आसिफ सेखले उत्कृष्ट प्रदर्शन गरेका थिए । पहिलो ब्याटिङ गरेको पपुवा न्युगिनी ३३ ओभरमा एक सय ३४ रनमै अलआउट भयो । 

सहज लक्ष्य पछ्याएको नेपालले ३९.३ ओभरमा आठ विकेटको नोक्सानीमा एक सय ३५ रन जोड्यो । दुई खेलको एक दिवसीय सिरिजमा नेपालले १–० को अग्रता लिएको छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नुअघि नेपालले तयारीस्वरूप पपुवा न्युगिनीसँग दुईवटा एकदिवसीय खेल खेल्नेछ । 

दुई टोलीबीचको दोस्रो खेल शुक्रबार हुनेछ । पहिलो खेलमा उत्कृष्ट बलिङ गरेका सन्दीप म्यान अफ दी म्याच घोषित भएका छन् । उनले १० ओभरमा ३५ रन खर्चंदै चार विकेट हात पारेका थिए । मंगलबारको खेलमा विक्रम सोबले नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरे । उनले बलिङमा पाँच ओभर गर्दै २० रन खर्चेर दुई विकेट हात पार्दै आफ्नो डेब्यु खेल स्मरणीय बनाए । 

एक सय ३५ रन पछ्याएको नेपालको सुरुवात गतिलो भएको थियो । कुशल भुर्तेल र आसिफ सेखले पहिलो विकेटका लागि ११.१ ओभरमा ४६ रनको साझेदारी गरेका थिए । सोपेरले भुर्तेललाई व्यक्तिगत १५ रनमा आउट गरे । कुशलले २८ बलमा दुई चौका प्रहार गरेका थिए । १२.५ ओभरमा राभुले सेखलाई क्याचआउट पारे । सेखले ४६ बलमा चार चौकासहित ३० रन जोडे ।

दुवै ओपनर गुमाउँदा नेपाल १२.५ ओभरमा ४९–२ को राम्रै स्थितिमा थियो । पपुवा न्युगिनीका स्पिनर बलरले जादुमयी खेल प्रदर्शन गरेपछि नेपालको बलियो ब्याटिङ लाइनअप एकाएक कमजोर बन्यो । पपुवा न्युगिनीका स्पिनर र मध्यगतिका बलर सामना गर्न नसक्दा अनुभवी नेपाली ब्याट्सम्यान एकपछि अर्को गर्दै पेभेलियन फर्के । जसका कारण नेपाल ४९–२ बाट ८२–७ को दयनीय अवस्थामा पुग्यो । इनिङ्सको २७.६ ओभरमा पवन सराफको विकेट गुमाउँदा नेपाल यो कमजोर अवस्थामा पुगेको हो । पपुवा न्युगिनीले नेपालमाथि जित निकाल्न केवल दुई विकेट चाहिएको थियो । पपुवा न्युगिनीले पूर्ण रूपमा खेल नियन्त्रणमा लिइसकेको थियो ।

म्यान अफ दी म्याच घोषित सन्दीप लामिछाने

नेपाली ब्याट्सम्यान चर्को दबाबमा थिए । नेपालले भने जित निकाल्न दुई विकेटको साथमा थप ५३ रन जोड्नुपर्ने थियो । एउटा सानो गल्तीले पनि नेपाल पराजित हुने अवस्था थियो । क्रिजमा छैटौँ क्रमका आक्रामक ब्याट्सम्यान रोहितकुमार पौडेल र दशौँ क्रमका सोमपाल कामी मात्र थिए । अलराउन्डर सोमपालले मध्यक्रमका रोहितलाई गतिलो साथ दिए । दुवै जोडीले आठौैँ विकेटका लागि धैर्य मात्र देखाएनन्, कठिन अवस्था सुधार गर्दै नेपाललाई जिततर्फ उन्मुख गराए । रोहित र सोमपालले १३ ओभर ब्याटिङ गर्दा अनावश्यक स्ट्रोक लगाएनन् । रोहित र सोमपालबीच महत्वपूर्ण ५२ रनको साझेदारी हुँदा नेपालको जित पक्का भयो । पपुवा न्युगिनीविरुद्ध संघर्षपूर्ण जितमा महत्वपूर्ण योगदान दिएका रोहितले विजयी रन बटुल्न पाएनन् । 

नेपालले एक सय ३४ रनको बराबरी गरेकै वेला रोहित आउट भए । रोहितले सर्वाधिक ४१ रनको योगदान दिए । उनले ६५ बलमा दुई चौका जोडे । विजयी रन बटुलेका सोमपालले ३२ बलमा समान एक चौका र छक्का ठोक्दै २२ रनमा अविजित रहे । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले सन्न्यास लिएपछि पहिलोपटक नेपाली टोलीले एकदिवसीय खेल खेलेको हो । गत महिना पारसले अनपेक्षित रूपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए । 

ज्ञानेन्द्र ६ रनमै आउट
कप्तान ज्ञानेन्द्र मल्ल ६ रनमा आउट भए । उनले २० बलको सामना गरेका थिए । मध्यक्रममा आरिफ सेख (९), शरद भेषवाकर (६) र कुशल मल्ल (१) रनमा आउट भए । यसअघि ब्याटिङ गरेको पपुवा न्युगिनीको सुरुवात कमजोर भयो । इनिङ्सको १.१ ओभरमा टोनी उरालाई डेब्युम्यान विक्रमले नै बोल्ड गरे । पपुवा न्युगिनीका कप्तान आसद भाला (४)लाई पनि विक्रमले नै क्रिजबाट हटाए । 

कप्तान आसद आउट हुँदा पपुवा न्युगिनी ९–२ को स्थितिमा रह्यो । पपुवा न्युगिनीले ५९ रनको योगफलमा दुई विकेट गुमाएको थियो । सो इनिङ्समा दोस्रा ओपनर लेगा सिआकाले सर्वाधिक ३० रनको योगदान गरे । उनले ३८ बलमा समान एक चौका र छक्का प्रहार गरे । मध्यक्रममा चार्लेस अमिनीले २३ बलमा २३ रन, सेसे बाउले २४ बलमा १४ रन, गाउडीले २९ बलमा २२ रन बटुले । नेपालका लागि थप दुई विकेट कुशल मल्लले लिए ।