डेभिड मिलरको आगमनले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ : अध्यक्ष घिमिरे

शनिबार, ७ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । कर्णाली याक्स स्पोर्टस् प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले विश्वचर्चित क्रिकेटर डेभिड मिलरको आगमनसँगै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । 

शुक्रबार कर्णालीले दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेभिड मिलरलाई आगामी तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)का लागि अनुबन्ध गरेको हो । उनी एनपिएलको इतिहासमा सहभागीमध्ये सबैभन्दा ठुलो स्टार र सफल खेलाडी हुन् । 

‘पहिलो सिजन हामीले शिखर धवनलाई अनुबन्ध गरेका थियौँ । जसले नेपाली क्रिकेट र एनपिएलको निकै चर्चा भयो । यसपटक डेभिड मिलर, पाकिस्तानका टी–२० टिमका कप्तान साहिबजादा फर्हान र हुसैन तलातलाई अनुबन्ध गरेका छौँ । यसले कर्णाली याक्सलाई मात्रै नभएर, एनपिएलदेखि नेपालको पर्यटन प्रवर्द्धनमा समेत ठुलो योगदान पुग्ने विश्वास लिएको छु,’ घिमिरेले भने ।

कर्णालीका अध्यक्ष गृहेन्द्र घिमिरेले समर्थकको चाहनाअनुसार चर्चित खेलाडी अनुबन्ध गर्न सफल भएको पनि बताए । उनले भने, ‘कर्णाली याक्समा समर्थकले हामीबाट धेरै आशा गर्नुभएको थियो । सोहीअनुसार हामीले डेभिड मिलर, फर्हान र तलाजस्ता विश्वचर्चित खेलाडीलाई अनुबन्ध गर्न सफल भएका छौं ।’

अध्यक्ष घिमिरेले यसपटक उपाधि जित्ने लक्ष्यसहित योजना बनाइरहेको बताएका छन् । ‘हामीले अहिलेसम्म प्लेअफ खेलेका छौँ । यसपटक उपाधि जित्ने लक्ष्यसहित विश्वचर्चित खेलाडी अनुबन्ध गरेका छौँ । हाम्रो ध्यान उपाधिमै केन्द्रित हुनेछ,’ उनले भने ।

३७ वर्षीय मिलरले दक्षिण अफ्रिकासँगै विश्वचर्चित फ्रेन्चाइज लिगहरूमा आफ्नो बलियो छाप छाडेका छन् । भारतको इन्डियन प्रिमियर लिग (आइपिएल), अस्ट्रेलियाको विग बास लिग, पाकिस्तान प्रिमियर लिगसँगै थुप्रै लिगहरू खेलेका छन् । उनले आइपिएलमा मात्रै दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स ११ पञ्जाब, गुजरात टाइटन्सबाट खेलेका थिए । सन् २०२२ मा गुजरात टाइटन्सले ऐतिहासिक आइपिएल जित्दा मुलर मुख्य खेलाडी थिए ।  मिलरले दक्षिण अफ्रिकाबाट १४० टी– २०  आईमा दुई हजार ८०४ रन बनाएका छन् । यसक्रममा दुई शतक र नाै अर्धशतक प्रहार गरेका थिए । 

डेभिड मिलर कर्णाली याक्समा अनुबन्ध हुने छैटौँ विदेशी हुन् । यसअघि क्लबले पाकिस्तान टी– २० क्रिकेटका कप्तान साहिबजादा फर्हानसँगै पाकिस्तानकै चर्चित अलराउन्डर हुसैन तलातलाई अनुबन्ध गरेको थियो । त्यसबाहेक टिमले दोस्रो सिजन सानदार प्रदर्शन गरेका स्कटल्यान्डका अलराउन्डर मार्क वाट, अरिफुल इस्लाम र अकबर अलीलाई अनुबन्ध गरेको छ । 

यस्तै, घरेलु खेलाडीमा सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, विपिन शर्मा, युनिविक्रम सिंह, दीपेन्द्र रावत, पवन सर्राफ, युवराज खत्री, दीपक डुम्रे, सूर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मालाई अनुबन्ध गरिसकेको छ ।

सुझावित समाचार