१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २२ मंगलबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २२ मंगलबार o७:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं उपत्यकामा हालसम्मकै पाँचौँ ठूलो वर्षा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २२ मंगलबार o७:४४:oo

त्रिभुवन विमानस्थल क्षेत्रभन्दा पनि ठूलो वर्षा भक्तपुरको नगरकोटमा, एक घन्टामै ५४ र पाँच घन्टामा १०९ मिलिमिटर वर्षा मापन 

काठमाडौं उपत्यकामा पाँचौँ ठूलो वर्षा भएको छ । चार दिनयता उपत्यकामा तापक्रम बढेसँगै देखापरेको स्थानीय वायुमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु सम्मिश्रण हुँदा आइतबार राति काठमाडौं उपत्यकामा ठूलो पानी परेको हो । 

पानी सोमबार बिहानसम्म परेको थियो । मौसमविद्हरू एक घन्टामा ६०, तीन घन्टामा ८०, ६ घन्टामा एक सय र २४ घन्टामा १२० मिलिमिटर वर्षा भएमा अतिभारी भन्छन् । यो वेला बाढीपहिरोको जोखिम हुने भएकाले अलर्ट जारी गरिन्छ । तर, आइतबार राति भक्तपुरको नगरकोट क्षेत्रमा एक घन्टामै ५४ मिलिमिटर, पाँच घन्टामा १०९ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभाग हावापानी विज्ञान महाशाखाको तथ्यांक छ । विमानस्थल क्षेत्रमा राति पाँच घन्टामा १०५ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

पछिल्लो २४ घन्टामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा १२१. ५ मिलिमिटर वर्षा मापन हुँदा नगरकोटमा त्योभन्दा बढी १२२.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ । यो वर्षालाई प्राविधिक रूपमा २४ घन्टामा भनिए पनि आइतबार रातिदेखि सोमबार बिहान ८:४५ बजेसम्मको तथ्यांक हो । 

‘२४ घन्टाको तथ्यांकलाई हेर्दा यो धेरै ठूलो वर्षा त होइन, तर छोटो समयमै ठूलो पानी परेको छ,’ महाशाखाका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले भनिन्, ‘नगरकोटमा १० मिनेटमै ९४ मिलिमिटरसम्म वर्षा रेकर्ड भएको छ, यो भनेको ठूलो दर्केको पानी हो ।’ छोटो अवधिमै ठूलो वर्षा हुँदा सोमबार बिहान बागमती र त्यसका सहायक नदी छेउका बस्ती डुबानमा परेका थिए ।