कुलमानको नियुक्तिविरुद्धको मुद्दा प्रधानन्यायाधीश जबराको इजलासमा

आइतबार, २० भदौ, २०७८
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कुलमान घिसिङको नियुक्तिविरुद्धको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतले आइतबार सुनुवाइका लागि प्रधानन्यायाधीश जबराको इजलास तोकेको हो। 

प्राधिकरणको कार्यकारी अधिकृतबाट आफूलाई हटाएर घिसिङलाई ल्याउनु असंवैधानिक भएको भन्दै यसअघिका सिइओ हितेन्द्रदेव शाक्यले भदौ १ मा सर्वोच्चमा रिट दर्ता गराएका थिए।

शाक्यले आफूलाई हटाएको जानकारीसमेत नदिई घिसिङलाई नियुक्ति गर्नु असंवैधानिक भएको रिटमा उल्लेख गरेका छन्। रिटमा शाक्यले आफूलाई पुनर्नियुक्त गर्न अन्तरिम आदेश माग गरेका छन्।

सर्वोच्चले यसअघि रिटमाथि सुनुवाइ गर्दै नियुक्तिको सम्बन्धमा मन्त्रिपरिषदबाट भएको निर्णयको सक्कल फाइल मगाउने आदेश गरेको थियो।

सुझावित समाचार