अमेरिकामा फेरि फैलियो कोरोना : बालबालिका बढी संक्रमित

दुई महिनादेखि १२ वर्ष उमेरसम्मका बालबालिका कोरोनाबाट थलिएका छन्, एक साताभित्र ३४ राज्यका एक लाख ८० हजार बालबालिका संक्रमित भएका छन्

सोमबार, १४ भदौ, २०७८
डिजिटल संस्करण

अमेरिकामा कोरोना भाइरस फेरि एकपटक तीव्र रूपमा फैलिरहेको छ । यसपटक कोरोनाको असर स–साना बालबालिकामाथि परेको छ ।अमेरिकाका ३४ राज्यका अधिकांश बालबालिका कोरोना संक्रमित भएको विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् । यी राज्यहरूमा कोरोनाका कारण गम्भीर रूपमा बिरामी भएका बालबालिका पहिलोपटक अस्पताल भर्ना भएका छन् ।

दुई महिनादेखि १२ वर्ष उमेरसम्मका बालबालिका कोरोनाबाट थलिएका छन् । यो एक साताभित्र ३४ राज्यका एक लाख ८० हजार बालबालिका संक्रमित भएको मिडियाहरूले जनाएका छन् । जसमध्ये ६ हजार एक सयको अवस्था चिन्ताजनक छ । सबैजसो राज्यका चिकित्सकहरूले एक सातादेखि बिदामा नबसी उपचार गरिरहेको अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र चिल्ड्रेन हस्पिटल एसोसिएसनले जनाएका छन् । 

कतिपय राज्यमा पर्याप्त चिकित्सक (डाक्टर र नर्स) नहुँदा उनीहरूलाई दोहोरो तलब दिँदै ड्युटी गराइएको छ । यस्तै, पर्याप्त अक्सिजन, आइसियू तथा भेन्टिलेटरसमेत नहुँदा उनीहरूको उपचारमा समस्या भइरहेको छ । ठूलो समस्या भनेकै एक वर्षमुनिका बालबालिकाको उपचार गर्न भइरहेको चिकित्सकले बताएका छन् ।

 आमाबुबाबाट टाढा रहेका ती कलिला बालबालिकाको श्वासप्रश्वासमा समस्या आएको चिकित्सकहरू बताउँछन् । गम्भीर रूपमा संक्रमित भएका बालबालिकाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

 दुई महिनाको शिशुमा पनि संक्रमण
न्युअर्लिन्स सहरमा दुई महिनाको कार्वस नाम गरेकी शिशु बाल अस्पतालमा भर्ना भएकी छन् । कार्वसलाई सास फेर्न गाह्रो भएपछि तत्कालै अस्पताल भर्ना गरिएको थियो । अहिले उनको उपचार भेन्टिलेटरमा भइरहेको छ । २४ घन्टा डाक्टर तथा नर्सहरूको निगरानीमा कार्वसको उपचार जारी छ । डाक्टरहरूका अनुसार कार्वसको स्वास्थ्य अवस्थामा त्यति सुधार आएको छैन । कोरोना भाइरस संक्रमितमध्ये कार्वस सबैभन्दा कम उमेरकी हुन् । 

यसैबीच, लुइसियानाका गभर्नर जोन बेल एडवर्ड्सले पछिल्लो चार दिनमा तीन हजार बालबालिका संक्रमित भएको जानकारी दिएका छन् । ‘यो संख्या गत एक महिनाको तुलनामा चार गुणा बढी हो,’ लुइसियानाका गभर्नर जोनले भने, ‘टेनेसी र टेक्सासका अस्पतालका आइसियू बालबालिकाले भरिएका छन् ।’ 

चार सय बालबालिकाको संक्रमणबाट निधन
क्यालिफोर्निया र न्युयोर्कजस्ता ठूला सहरमा पनि बच्चाको केस बढिरहेको छ । अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका कारण चार सय बालबालिकाको निधन भएको एसोसिएसनले जनाएको छ । पछिल्लो २४ घन्टामा अमेरिकामा तीन हजार नौ सय ६६ जना नयाँ संक्रमित फेला परेका छन् । यस्तै, २४ घन्टामा १७ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा अहिलेसम्म तीन करोड ९६ लाख २१ हजार तीन सय ८३ जना संक्रमित भएका छन् । जसमध्ये तीन करोड आठ लाख १२ हजार दुई सय ४३ जना निको भएका छन् । 

See More On

सुझावित समाचार