नेकपा एमाले दाङले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ड डा. विनोद सिंहलाई मोसो दल्ने दुईजनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । शुक्रबार दिउँसो पौने २ बजेतिर डा. सिंहमाथि मासो दल्ने एमालेनिकट अनेरास्ववियुका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्रीलाई कारबाही गरिएको हो ।
एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत र सचिव मनोहर बुढाथोकीले एक विज्ञप्ति जारी गरी डा. सिंहमाथि मोसो दल्ने कार्यप्रति निन्दा गर्दै कानुनबमोजिम कारबाहीको माग गरेका छन् ।
संयोजक परियारकी श्रीमतीलाई टाइफाइडको उपचारका लागि बिहीबार प्रादेशिक अस्पतालमा लगिएको र अस्पतालमा कल्चर चेकजाँचको सेवा नभएपछि मेसु सिंहसँँग विवाद सिर्जना भएको थियो । डा. सिंहले अस्पतालमा कल्चर सेवा नै नभएकाले त्यो सेवा प्रदान गर्न नसकिने बताएका थिए । त्यसपछि शुक्रबार चार–पाँचजना युवाले कार्यकक्षमै आएर मोसो दलेर भागेका थिए ।