एमालेनिकट विद्यार्थी नेताले दले प्रादेशिक अस्पतालका डाक्टरलाई मोसो

शुक्रबार, ११ भदौ, २०७८
डिजिटल संस्करण
एमालेनिकट विद्यार्थी नेताले दले प्रादेशिक अस्पतालका डाक्टरलाई मोसो

अस्पतालका निमित्त  मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद  सिंह

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु दाङका संयोजक सर्जन परियारसहितका युवाले  राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई मोसो  दलेका  छन् । 

संयोजक परियारकी श्रीमतीलाई टाइफाइडको उपचारका लागि बिहीबार प्रादेशिक अस्पतालमा लगिएको  र अस्पतालमा कल्चर चेकजाँचको सेवा नभएपछि  मेसु सिंहसँग  विवाद सिर्जना भएको थियो । ‘उहाँ श्रीमतीलाई उपचारका लागि भनेर बिहीबार अस्पताल आउनुभएको थियो, हामीसँग  कल्चर सेवा थिएन,’ डा.  सिंहले  भने, ‘हिजो सामान्य  छलफल भएको थियो, तर आज आएर कुनै छलफल, संवादविनै  मलाई मोसो  दलेर  जानुभयो ।’  

शुक्रबार  दिउँसो  पौने २ बजेतिर  सर्जनसहित आएका चार–पाँचजना युवाले कार्यकक्षमै आएर  मोसो दलेर भागेको  डा. सिंहले बताए । ‘उहाँको भनाइअनुसारचाहिँ उहाँको  श्रीमती भन्नु भएको थियो,’ उनले भने, ‘तर, उहाँले बुढो  मान्छे समाएर  ल्याउनुभएको थियो,  यो हेर्दा  नियोजित, कसैबाट परिचालित हो जस्तो देखिन्छ ।’

बिरामीको  कार्डमा  डाक्टरले  ब्लडकल्चर गर्नुपर्छ भनी लेखेको, तर त्यो  सेवा अस्पतालमा नभएको  भनी आफूले जवाफ दिँदा  यस्तो अवस्था आएको डा. सिंहको भनाइ थियो । 

अहिले अस्पतालमा कल्चर सेवा छैन । त्यसका लागि  छुट्टै कोठा  आवश्यक पर्ने र माइक्रोबायोलोजिस्टको आवश्यक पर्ने अस्पतालको ल्याबमा कार्यरत  कर्मचारी  जीवन  खड्काले बताए  । त्यो  सामान्य  किसिमको ल्याबमा  नहुने उनले बताए । प्रायः ५० शय्याको अस्पतालमा  त्यो सेवा  उपलब्ध नहुने उनको भनाइ छ ।  
परियारसहित, गणेश  खड्का, दिवस क्षेत्रीसहितकाे टोलीले  मोसो दलेकाे थियाे ।  

साथै डा. सिंहले दोषीमाथि  कानुनअनुसार  कारबाहीको माग गरेका  छन् । यस्ता  क्रियाकलापले डाक्टरहरू असुरक्षित हुने तथा  काम गर्ने  वातावरण  पनि नहुने भएकाले यस विषयमा  सबै  गम्भीर हुनुपर्ने उनको भनाइ छ । दोषिमाथि  कडाभन्दा कडा  कारबाही गर्ने  दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताएका  छन् । उनले अस्पतालमा यस्ता खालका अराजक प्रवृत्तिले  चिकित्सक तथा  कर्मचारीहरूमा नकारात्मक प्रभाव  पार्ने  भन्दै गम्भीर भएर अनुसन्धानमा लाग्ने समेत  बताए  । 

सेवा बन्द गर्ने चेतावनी   

 घटनापछि  अस्पताल विकास  समितिका  पदाधिकारी र अस्पतालका कर्मचारीहरूको संयुक्त बैठक

त्यो घटनापछि  अस्पताल विकास समितसहित सम्बन्धित  संगठनहरूको  बैठकले दोषीप्रति कडाभन्दा कडा  कारबाहीको माग गरेको  छ । यदि  शनिबार  बिहान ९ बजेसम्म  दोषीमाथि  कारबाही  नगरे अस्पतालको इमर्जेन्सी, सुत्केरी, डायलाइसिसलगायत अति आवश्यक  सेवा बाहेक  अन्य  सेवा ठप्प  पार्ने  निर्णय  भएको अस्पताल  विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले बताए  ।  

सुझावित समाचार