Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दीपक  बोहरा दाङ
२०७८ भदौ १२ शनिबार १५:५०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डाक्टरलाई कालोमोसो दल्ने पक्राउ नपरेपछि स्वास्थ्यकर्मी धर्नामा

Read Time : > 1 मिनेट
दीपक  बोहरा दाङ
२०७८ भदौ १२ शनिबार १५:५०:००

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त  मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद  सिंहमाथि कालोमोसो दलेको २४ घन्टा  बित्दा पनि घटनामा संलग्नहरू पक्राउ  नपरेपछि स्वास्थ्यकर्मीहरूले प्रहरी कार्यालयमा धर्ना दिएका छन् ।

अस्पताल विकास समितिका पदाधिकारी, कार्यरत चिकित्सकलगायत सम्पूर्ण कर्मचारी, अन्य निजी स्वास्थ्य संस्थामा  कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले संयुक्त रूपमा आज शनिबार दिउँसो १ बजेदेखि साढे १ बजेसम्म इलाका प्रहरी कार्यालय तुलसीपुरमा धर्ना दिएका हुन् । प्रहरीले नै पक्राउ गर्न चासो नदिएको उनीहरूको आरोप छ । 

शुक्रबार दिउँसो पौने २ बजेतिर सर्जन परियार, दिवस क्षेत्री, गणेश खड्कासहित चार–पाँचजना युवाहरूले डा. सिंहमाथि दुर्व्यवहार गरेका थिए । अस्पतालमा कल्चर सेवा नभएको विषयमा विवाद भएपछि परियारसहितको टोलीले डा. सिंहलाई कालोमोसो दलेका थिए ।   

साथै, आज स्वास्थ्यकर्मीहरूले कालोपट्टी बाँधेर इमर्जेन्सी सेवा दिएका अस्पतालका  सूचना अधिकारी कृष्णगोपाल चौधरीले बताए । यदि घटनाका विषयमा स्थानीय प्रशासनले चासो नदिए भोलि(आइतबार) बिहान ८ बजे विरोधस्वरूप बजार परिक्रमा गर्ने निर्णय भएको उनले बताए । यदि घटनामा संलग्नहरूलाई पक्राउ नगरेमा आन्दोलनका थप कार्यक्रमहरू आइतबार सार्वजनिक गरिने उनको भनाइ छ । 

अभियुक्तहरू जिल्लाभित्र नहुँदा  समस्या  :  प्रहरी
जिल्ला प्रहरी कार्यालय दाङका  प्रहरी  प्रमुख सुरेशप्रसाद काफ्लेले अभियुक्तहरू जिल्लाबाहिर भएकाले पक्राउ गर्न समस्या रहेको बताए । घटनाका बारेमा समयमा खबर नभएकाले समयमै पक्राउ गर्न नसिकएको उनको भनाइ छ । ‘उहाँहरूले ढिला मात्रै हामीलाई जानकारी दिनुभयो । घटना भएको दुई  घन्टापछि मात्रै हामीलाई खबर भयो’, उनले भने, ‘अस्पतालमै हाम्रा प्रहरी २४ घन्टा खटिएका हुन्छन् । उनीहरूलाई जानकारी दिनुपर्थ्याे । अस्पतालको हाताभित्रैबाट छोप्न सकिन्थ्याे ।’

समयमै जानकारी नदिनु शंकाको विषय बनेको काफ्लेले बताए । अघिल्लो दिन अस्पतालका लेखापालमाथि हातपात हुँदा पनि आफूहरूलाई कुनै खबर नआएको उनले बताए । परियार आज बिहान ८ बजेतिर फेसबुक लाइभमा आएका थिए। अस्पतालमा बेथिति देखिएकाले कालोमोसो दल्न बाध्य भएको उनले प्रतिक्रिया दिएका छन्। 

एमालेमा मत विभाजन
अस्पतालमा भएको घटनाका विषयमा एमालेमा पनि दुई धार देखिएकाे छ । अध्यक्ष हुकुम बस्नेत र सचिव मनोहर बुढाथोकीले परियार र क्षेत्रीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेपछि एमाले दाङकै  युवा नेता  विवेक श्रेष्ठले आपत्ति जनाएका थिए । यो प्रकरणमा श्रेष्ठले परियार र क्षेत्रीको बचाउ गरेका छन् । बस्नेतले पदको  दुरुपयोग  गरेर विज्ञप्ति  निकालेको उनको छ ।