मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
माधव नेपाल, अध्यक्ष, नेकपा एकीकृत समाजवादी
दिपेश शाही काठमाडाैं
२०७८ भदौ १० बिहीबार ०७:१२:००
Read Time : > 5 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

अब सबै वाम र लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध गर्ने कोसिस गर्छौँ : माधव नेपाल

अन्तर्वार्ता

Read Time : > 5 मिनेट
दिपेश शाही, काठमाडाैं
२०७८ भदौ १० बिहीबार ०७:१२:००

पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल नेपालको कम्युनिस्ट आन्दालेनमा चार दशकभन्दा बढी समय बिताइसकेका नेता हुन् । त्यति नै लामो समय उनले नेकपा एमाले र त्यसका वर्तमान अध्यक्ष केपी ओलीको सहयात्रीका रूपमा पनि बिताएका छन् । तर, यतिवेला उनले आफैले मेहेनत गरेको पार्टी नेकपा एमाले र सहयात्री ओलीलाई छोडेर नयाँ पार्टी गठन गरेका छन्, नेकपा (एकीकृत समाजवादी) । उनले एमाले छाडेर नयाँ पार्टी गठन गर्दैगर्दा सबभन्दा बढी जनमत प्राप्त पार्टी मात्रै होइन, त्यो पार्टीका कयौँ कार्यकर्ता, आफूनिकट नेता र पुनः सबभन्दा ठूलो पार्टीको नेतृत्व गर्ने अवसरलाई पनि त्यागेका छन् । यो अवस्थामा नेता नेपालका विश्वास पात्र मानिएका करिब एक दर्जन प्रभावशाली नेताहरूको साथ पनि तत्कालका लागि टुटेको छ । नयाँ पार्टी गठनपछि यसका कारण, अबको रणनीति र सम्भावनाका विषयमा नेता नेपालसँग नयाँ पत्रिकाका लागि दिपेश शाहीले गरेको कुराकानीः

संसद् पुनर्स्थापना गर्नुभयो, आफ्नै पार्टीको सरकार स्वेच्छाचारी भयो भनेर वैकल्पिक सरकार बनाउनुभयो । हुँदाहुँदा अहिले आफैँले वर्षौँ मिहिनेत गरेको पार्टी विभाजन गर्नुभयो । यो अवस्थासम्म कसरी पुग्नुभयो ?

– पहिलो कुरा त हामी कम्युनिस्ट पार्टी निर्माणको अभियानमा सुरुदेखि नै लागेका हौँ । त्यसरी लाग्दै गर्दा पुरानो पार्टीबाट विद्रोह गरेर नै नयाँ पार्टी बनाउँदै अगाडि बढिएको हो । नयाँ विचार र सोचका साथ हामी अगाडि बढ्यौँ र पुरातन विचारहरूलाई हामीले अस्वीकार गर्‍यौँ । निराशा, हताशा, शिथिलता र सबै खालका विकृति–विसंगतिविरुद्ध हामीले विद्रोह गर्दै अगाडि बढ्ने जमर्को गरेका हौँ । यो क्रम निरन्तर रूपमा जारी छ । अहिले पनि नेकपा एमालेलाई जुन विचार र रफ्तारका साथ अगाडि बढाउन खोजिएको थियो त्यसमा धमिरो लाग्यो । त्यो धमिरो लगाएर केपी ओलीले पार्टीलाई दक्षिणपन्थी भासमा फसाउनुभयो । पार्टीको क्रान्तिकारी धारलाई भुत्ते बनाउनुभयो । पार्टीमा गलत विचार, संस्कार र संस्कृति हुर्काउनुभयो । व्यक्तिवाद हाबी भयो र त्यसका सम्पूर्ण दुर्गुणहरू त्यहाँ देखापर्न थाले । त्यसैकारण एउटा पूर्ण पार्टी व्यक्तिको कम्पनी लिमिटेडजस्तो हुन पुग्यो । उहाँले आफ्ना प्रशंसकहरूको झुन्डलाई मात्रै स्थान दिन थाल्नुभयो । बाँकी सबैलाई पन्छाउन थाल्नुभयो । पार्टीभित्रका वास्तविक समस्याका कारणहरू पत्ता लगाउने कोसिस गर्नुभएन । उठाएका मुद्दालाई व्यक्तिगत विरोधका रूपमा लिन थाल्नुभयो । त्यसैकारण उहाँले हामीलाई पार्टीबाट निष्कासन गर्नुभयो ।

त्यति मात्रै होइन, त्यसभन्दा पहिले पटकपटक प्रतिनिधिसभा भंग गर्नुभयो । कसैको पनि विचारलाई उहाँले सुन्नुभएन । सर्वोच्चको फैसलालाई पनि उहाँले सकारात्मक रूपमा लिनुभएन । त्यत्रो बहुमतको रायलाई पनि उहाँले कहिल्यै सम्मान गर्नुभएन । नेकपाभित्र त्यो अवस्था रह्यो । नेकपा एमाले हुँदा पनि सही विचार बोकेका पुराना अनुभवी साथीहरूको विचारलाई उहाँले पूरै बेवास्ता गर्नुभयो । हुँदाहुँदा उहाँले सुरुमा नेकपा र पछि एमालेलाई विभाजन गर्नुभयो । अलग हिसाबले चल्न थाल्नुभयो । त्यो क्रम अगाडि बढाउँदै जानुभयो । उहाँले गल्तीलाई महसुस गर्ने र सुधार गर्ने पनि कुनै प्रयत्न गर्नुभएन । आलोचनात्मक दृष्टिकोण राख्ने साथीहरूलाई उहाँले शत्रु ठान्न थाल्नुभयो ।

बीचबीचमा वार्ताका केही कुराहरू पनि चले, जुन सबै नाटक मात्रै थिए । उहाँले जालझेल मात्रै जान्नुभयो, सही सदीक्षा कहिल्यै पनि रहेन । जहिले पनि उपयोग गर्ने र गलत कदम चाल्ने तरिका अपनाउनुभयो । यसपछि एउटा दुःखद अवस्था आयो । पार्टीमा विद्रोह गर्नुपर्ने अवस्था बन्यो र क्रान्तिकारी धारलाई उठाउनुपर्ने अवस्था सिर्जना भयो । पार्टी र क्रान्तिलाई जोगाउनुपर्ने एउटा गम्भीर जिम्मेवारीबोधको भावनाबाट जुर्मुराएर हामी उठ्यौँ । त्यसैको परिणाम हामीले एउटा क्रान्तिकारी धारको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को गठन ग¥यौँ । जुन निर्वाचन आयोगमा पनि दर्ता भइसकेको छ । यसका निम्ति म हाम्रा जनसमुदाय र कमरेडहरूबाट प्राप्त साथ, सद्भाव तथा विश्वासका लागि सबैप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

अबको राष्ट्रिय राजनीतिमा तपाईंको दल एकीकृत समाजवादी र राजनीतिक दलको मूल नेतृत्व मात्रै होइन, पूर्वप्रधानमन्त्रीसमेत हुनुको नाताले तपाईं स्वयंको भूमिका के हुनेछ ?

– यो पार्टी नितान्त नयाँ ढंगबाट अगाडि बढ्नेछ । विगतका सबै विकृति र विसंगतिबाट मुक्त गर्ने हाम्रो कोसिस हुनेछ । आफ्नो मूल उद्देश्य समाजवादको दिशामा अगाडि बढ्ने हुनेछ । माक्र्सवाद, लेनिनवादको क्रान्तिकारी दृष्टिकोणलाई आत्मसात् गर्नेछ । जनताको बहुदलीय जनवादको मूल मर्म र भावनालाई आत्मसात् गर्दै अगाडि बढ्नेछ । नेपालको विशिष्टता र विशेषताअनुरूप, जनताको चाहनाअनुरूप नीति र विचार लिएर अगाडि बढ्नेछ । सरकारको सञ्चालन पनि त्यही हिसाबले होस् भन्ने हाम्रो चाहना हुनेछ ।

पार्टी निर्माणको काममा पनि सबै कार्यकर्तालाई संगठित गरेर अगाडि बढ्नेछौँ । जनताको माझमा पार्टीलाई स्थापित गर्ने काममा जुट्नेछौँ । जनताको विश्वास प्राप्त गरेर जनताको प्यारो पार्टीका रूपमा यसलाई स्थापित गर्ने हाम्रो प्रयत्न हुनेछ । हामीले नयाँ यात्राको प्रारम्भ गरेका छौँ । कम्युनिस्ट आन्दोलनको एकताका लागि हामी निरन्तर क्रियाशील रहनेछौँ । हामी सबै वाम र लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध गर्ने कोसिस गर्नेछौँ । राष्ट्रियताको झन्डा बुलन्द गर्दै अगाडि बढ्नेछौँ । लोकतन्त्रको रक्षा गर्नेछौँ । सामाजिक न्याय, समानता र समानुपातिक रूपान्तणको बाटोमा अगाडि बढिरहनेछौँ ।

तपाईंले आफ्नो व्यक्तिगत जीवनको महत्वपूर्ण समय अहिलेको एमालेको पार्टी जीवनमा खर्च गर्नुभयो । सबभन्दा लामो समय नेतृत्व पनि गर्नुभयो । त्यही पार्टीलाई लोकतान्त्रिक प्रक्रियामा जनताले सबभन्दा धेरै मत पनि दिएका थिए । तर, अहिले आफैँले त्यो पार्टी, ती कार्यकर्ता र ती मतदातालाई पनि छोडेर नयाँ पार्टी बनाउँदा कस्तो महसुस गरिराख्नुभएको छ ?

हाम्रो इतिहास नै यस्तो छ । हामीले पुरातनवादी विचारलाई त्यागेर क्रान्तिकारी विचारलाई अँगाल्दै आएका छौँ । केपी ओलीको भ्रममा अझै पनि जो अलमलिनुभएको छ, म उहाँहरूलाई त्यसबाट मुक्त हुन अनुरोध गर्न चाहन्छु । कसैले भ्रम पालेर बस्नुभएको छ भने उहाँहरूलाई केपी ओलीमा जुन प्रवृत्ति पलाएको छ, हुर्किएको छ र झाँगिएको छ त्यो सुध्रिने लक्षण छैन भनेर सचेत गराउन चाहन्छु ।

केशरजंग रायमाझीमा सुधार होला भनेर ठान्दा त्यो पार्टी नै सडेर सकियो । उनीसँग विद्रोह गरेर पुष्पलालले नयाँ क्रान्तिकारी धारको पार्टी निर्माण गरेर अगाडि बढ्नुभएको थियो । त्यो पार्टीमा पनि विद्रोह गरेर हामीले अर्को पार्टी निर्माण गरेका हौँ । मोहनविक्रमजीले पनि विद्रोह गरेर अर्को पार्टी बनाउनुभयो । त्यसपछि त्यहाँबाट पनि विद्रोह गरेर प्रचण्डजीले अर्को पार्टी बनाउनुभयो । त्यतिवेला नै हामीले ०५१ मा सबभन्दा ठूलो लोकप्रिय दल बन्ने मौका पायौँ । लोकप्रिय सरकार पनि बनायौँ र जनताको मत पनि जित्यौँ । पछि गएर नेकपा माओवादीले ०६४ को चुनावमा हामीलाई पनि उछिनेर बेग्लै परिणाम प्राप्त गर्‍यो ।

यसरी हेर्दा स्वाभाविक रूपमा विद्रोही धारहरू नै नेपालको राजनीतिमा हाबी हुँदै गएका छन् । क्रान्तिकारी सोचमा अगाडि बढ्नेहरूले नै जनताको विश्वास जित्दै आएका छन् । व्यक्तिवाद पराजित हुँदै गएको छ । दक्षिणपन्थ समाप्त हुँदै गएको छ । दक्षिणपन्थले अन्तमा कम्युनिस्ट आन्दोलनलाई विसर्जनको दिशामा पुर्‍याउने हो ।

अहिले बाँकी रहेको एमालेमा चरम गुटवादी चिन्तन कायम छ । त्यो गुटको दायराबाट केपी ओली माथि उठ्न सक्ने अवस्था छैन । फराकिलो दृष्टिकोण, निर्णय र कार्यकर्ताको समुचित मूल्यांकन पनि छैन । उहाँले गुण र दोषका आधारमा मूल्यांकन र विश्लेषण गर्नुहुन्न । पार्टी सञ्चालन गर्न सक्नुहुन्न । गुट चलाउन मात्रै उहाँ माहिर हुनुहुन्छ । त्यहाँ बसेका साथीहरूले अनेकौँ हन्डर–ठक्कर खाएपछि उहाँहरूको चेत खुल्नेछ । चेत खुलेपछि मात्रै मान्छे नयाँ निष्कर्षमा पुग्न सक्छ । म उहाँहरूलाई हार्दिक आह्वान गर्न चाहन्छु, यो क्रान्तिकारी धारले नै कम्युनिस्ट आन्दोलनलाई जोगाउनेछ, हुर्काउनेछ र अगाडि बढाउनेछ । बृहत् कम्युनिस्ट एकता गर्नेछ । नयाँ गतिका साथ अघि बढ्नेछ । त्यसैले आउनुहोस्, सँगै अघि बढौँ ।

केपी ओलीसँग लडिरहँदा सँगै उभिनुभएका तपाईंका नजिकका भनिएका केही नेताहरू अहिले फर्केर एमालेमा नै पुग्नुभएको छ । तपाईंले नयाँ क्रान्तिकारी पार्टी निर्माण गर्‍यौँ भन्दै गर्दा उहाँहरू एमालेको पुनरोदय गर्नेछौँ भन्दै हुनुहुन्छ । के अब एमालेसँग तपाईंको पार्टी एकीकृत समाजवादीको एकताका सम्भावना बाँकी छन् ?

उहाँहरूले केपी ओलीलाई सुधार्न सक्नुहुन्छ र केपी ओलीका प्रवृत्तिलाई परास्त गर्न सक्नुहुन्छ भने एकता नै नहुने भन्ने हुँदैन । तर, अहिलेको अवस्थामा त्यो सम्भव देखिँदैन । एकताको ढोका जहिले पनि खुला छ । हामी सबै वामपन्थी कम्युनिस्ट पार्टीहरूसँग पनि वार्ता र संवाद गर्नेर्छौँ । यो संवादपछि हामी बृहत् वाम एकताका लागि प्रयत्न गर्नेछौँ र सहकार्य गर्दै अघि बढ्नेछौँ ।

एकीकृत समाजवादी अब सरकारमा पनि सहभागी हुन्छ ? सरकारमा सहभागी भएपछि जनतासामु नयाँ दल, त्यसको विचार र शैली फरक छ भनेर देखाउन कसरी काम गर्नुहुन्छ ?

हामीले अरूभन्दा भिन्न ढंगले काम गर्नेछौँ । जनताको चाहना, राष्ट्रको आवश्यकता र समयको मागअनुसार भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । भ्रष्टाचार र अनियमितताको दलदलबाट जोगिँदै त्यसका विरुद्ध लड्नेछौँ । स्वच्छ छवि कायम गर्दै मुलुकलाई समाजवादको दिशामा लिने चिन्तन र सोचका साथ अघि बढ्नेछौँ ।

तपाईंले नयाँ पार्टी गठनको प्रक्रिया सुरु गरेसँगै बहसमा आएको छ कि समाजवादी केन्द्र स्थापना हुनेछ र त्यसको नेतृत्व तपाईंले गर्नुहुनेछ । यसको सम्भावना के हो ?

कम्युनिस्ट पार्टीहरूको विकल्प छैन । कम्युनिस्ट पार्टीलाई छोड्न सकिँदैन । कम्युनिस्ट पार्टी नेपाली जनताको चाहना हो । कम्युनिस्ट पार्टी नै जनताको चाहना, इच्छा र आकांक्षालाई पूरा गर्ने महत्वपूर्ण शक्ति हो । यसलाई कमजोर बनाउने र समाप्त पार्ने कुनै पनि कुरा मान्य छैन र अब पनि हुनेछैन । त्यो यात्रामा वामपन्थी र समाजवादी शक्तिहरूबीच सहकार्य हुनेछ ।

अहिलेको सरकारमा रहेका दलहरूबीच चुनावी तालमेल वा गठबन्धन नै बन्ने सम्भावना कति छ ?

चुनावी तालमेल सबैसँग हुन्छ भनेर अहिले नै भन्न सकिँदैन, तर तालमेल हुन्छ । को–कोसँग हुनेछ भन्ने कुरा समयक्रममा प्रस्ट हुँदै जानेछ ।