१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
टेकराज थामी काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:५२:oo
Read Time : > 6 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नुभिव हत्या प्रकरण : प्रहरी अनुसन्धान ‘सन्देहपूर्ण’

Read Time : > 6 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:५२:oo

टाउको र निधारमा गम्भीर चोट, शरीरभरि निलडाम, सिसिटिभी फुटेजमा तीनजनाले कुटपिट गरेको दृश्य, पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण ‘टाउकोको चोट र ओभर ब्लिडिङ’ उल्लेख, तर आत्महत्या भन्दै प्रहरीद्वारा घटना सामसुमको प्रयास

बारा निजगढ–९ का १८ वर्षीय नुभिव उप्रेतीको हत्या सम्बन्धमा प्रहरीले गरेको अनुसन्धान अपुरो रहेको पाइएको छ । गत ४ वैशाखमा उनको कास्कीको पोखरा–६ बैदामस्थित लेकसाइडमा हत्या भएको थियो । 

नुभिवको शव फेवाताल किनारामा सोही दिन बिहान ६:४५ बजे तैरिरहेको अवस्थामा फेला परेको थियो । उनको टाउको र निधारमा गम्भीर चोट थियो । शरीर र पेटमा पनि चोट थियो । तर, प्रहरीले घटनालाई हत्या नभई आत्महत्या भएको जिकिर गर्दै आएको छ । कतिसम्म भने नुभिवका परिवारलाई पनि प्रहरीले आत्महत्या नै भनी सहमत गराउन बाध्य पारेको छ । सोहीकारण प्रहरीले पीडित पक्षको जाहेरीसमेत इन्कार गर्दै आएको थियो । घटनाको मुचुल्का उठाउने क्रमदेखि नै प्रहरीले गरेको हेलचेक्र्याइँ अनुसन्धान अपुरो हुनुको कारण रहेको पीडित परिवारको भनाइ छ । नुभिवकी आमा भगवती उप्रेतीले पोस्टमार्टम रिपोर्टमा नुभिवको मृत्यु ‘टाउकोको चोट र ओभर ब्लिडिङ’ कारण भएको उल्लेख थियो । यति हुँदा पनि प्रहरीले किटानी जाहेरी लिन नमानेको उनले बताइन् । 

जिल्ला प्रशासन कार्यालय कास्कीमा निकै हारगुहार गरेपछि मात्रै प्रहरीले जाहेरी दर्ता गरेको भगवतीको भनाइ छ । ‘छोराको मृत शरीर फेवातालमा भेटिएछ । खबर पाउनासाथ हामी पोखरा पुग्यौँ । त्यसवेलासम्म शव अस्पताल लगिसकेछन् । मृत्युको कारण सोध्दा प्रहरीले आत्महत्या भन्यो । हामीलाई गुमराहमा पारियो,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘पछि छोराको टाउको र शरीरमा चोट देखियो । पोस्टमार्टम रिपोर्टले पनि मृत्युको कारण टाउकोको चोट र ओभर ब्लिडिङ देखायो । जाहेरी बोकेर हामी प्रहरी कार्यालय पुग्यौँ । तर, प्रहरीले जाहेरी नै लिएन । पछि सिडिओ कार्यालय गयौँ, त्यसपछि मात्रै जाहेरी दर्ता भयो ।’

घटनाको आठ दिनपछि जाहेरी दर्ता, तर कारण नखोजी अनुसन्धान ‘क्लोज’ 
जिल्ला प्रशासन कार्यालय कास्कीको निर्देशनपछि प्रहरीले पीडित परिवारको जाहेरी दर्ता गर्‍यो । घटनाको आठ दिनपछि दर्ता जाहेरीकै आधारमा प्रहरीले बल्ल घटनास्थलआसपासका सिसिटिभी फुटेज संकलन गर्‍यो । फुटेजकै आधारमा कुटपिटमा संलग्न पोखराका १९ वर्षीय वासुदेव गुरुङ र अर्का १९ वर्षीय विगेन गुरुङलाई र बैदाम–१४ का नाबालक भनिएका एकजनालाई केही घन्टाभित्रै पक्राउ गर्‍यो । तर, प्रहरीले कुटपिटको कारण खोज्न अनुसन्धान दायरालाई फराकिलो बनाएन । अनुसन्धान टुंग्याएर प्रहरीले प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा पेस गर्‍यो । 

जाहेरी दर्ता भएको केही घन्टामै तीनजनालाई प्रहरीले कसरी पक्राउ गर्‍यो भन्ने आफूहरूले बुझ्न नसकेको नुभिवकी आमा भगवती बताउँछिन् । ‘घटना कसरी भयो ? के कारणले छोराको हत्या भयो ? सुरुमा हत्यालाई किन आत्महत्या भनियो ? हत्या भएको प्रमाणित हुँदासम्म प्रहरीले जाहेरी दर्ता लिन किन मानेन ? आत्महत्या हो भन्नेले नै जाहेरी दर्ता भएको केही घन्टा बित्न नपाउँदै तीनजनालाई कसरी पक्राउ गर्‍यो ? यी प्रश्नको उत्तर हामीले अझै पाउन सकेका छैनौँ,’ प्रहरीको लापरबाहीप्रति संकेत गर्दै उनले भनिन् । जिल्ला अदालतले प्रहरीले पेस गरेकै प्रतिवेदनका आधारमा घटनामा संलग्न वासुदेव र विगेनलाई पुर्पक्षका लागि कारागार र बैदाम–१४ का (नाबालक भनिएका) लाई सुधारगृह पठाउने आदेश दिइसकेको छ । 

ट्रेजर लाउन्जभित्रको सिसिटिभी फुटेज गायब

घटना ३ वैशाख बिहान करिब ३ बजेको हो । नयाँ वर्ष पार्टी मनाउन लेकसाइडस्थित ट्रेजर लाउन्ज निक्कै व्यस्त थियो । लाउन्ज ग्राहकले भरिएको थियो । यही भिडमध्येका एक सदस्य थिए, १८ वर्षीय नुभिव । नुभिव लाउन्जमा भित्रै थिए । केही समयपछि लाउन्ज बन्द भयो । अन्यसँगै नुभिव पनि बाहिरिए । 

नुभिवले केही सामान भित्रै छाडेछन् । सम्झेपछि लिन उनी लाउन्ज गए र भित्र छिर्न खोजे । तर, सुरक्षागार्डले दिएन । दुईबीच भनाभन भयो । दुईबीचको भनाभनमा नजिकै उभिएका बिगेन गुरुङ पनि थपिए । तत्कालै प्रहरी घटनास्थलमा पुग्यो । विवाद मिलाएर प्रहरीले दुवै पक्षलाई घर जान भन्यो । नुभिव हिँड्दै चोक मात्रै के पुगेका थिए, त्यहीँ पुगेका बिगेन, वासुदेव र अर्का एकजनाले सांघातिक आक्रमण गर्न थाले । हेल्मेट, लात्ती, मुक्का सबै बर्सिन थाल्यो । चोटका कारण उनी त्यहीँ ढले । 

सुरुमा आत्महत्या भन्ने प्रहरीले केही घन्टामै कसरी तीनजनालाई पक्राउ गर्‍यो ? 

भगवती उप्रेती, नुभिवकी आमा

घटना कसरी भयो ? के कारणले मेरो छोराको हत्या भयो ? सुरुमा हत्यालाई किन आत्महत्या भनियो ? हत्या भएको प्रमाणित हुँदासम्म प्रहरीले जाहेरी दर्ता लिन किन मानेन ? आत्महत्या हो भन्नेले नै जाहेरी दर्ता भएको केही घन्टा बित्न नपाउँदै तीनजनालाई कसरी पक्राउ ग¥यो ? यी प्रश्नको उत्तर हामीले अझै पाउन सकेका छैनौँ ।

माथिका सबै घटना विवरण संकलित सिसिटिभी फुटेजमा देखिन्छ । तर, लाउन्जभित्रको गतिविधि भने न प्रहरीको अनुसन्धान प्रतिवेदनमा छ, न सिसिटिभी फुटेज नै बरामद गरिएको छ । लाउन्जभित्रको सिसिटिभी फुटेज बिग्रिएकाले संकलन हुन नसकेको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । पीडित उप्रेती परिवारको शंका यहीँ छ । नुभिवकी आमा भगवती भन्छिन्, ‘घटना जहाँबाट सुरु भयो, त्यहीँकै सिसिटिभी फुटेज किन बरामद गर्न सकिएन ? प्रहरीले फुटेज स्क्र्याच भएको भनेको छ । त्यो भनेको पूरै स्क्र्याच भएको त होइन होला नि । त्यसलाई अनुसन्धानका लागि किन बरामद गरिएन ? कसैलाई बचाउने उद्देश्यले प्रहरीबाट यो काम भएको त होइन ? हाम्रो शंका यहीँ छ ।’

मोबाइल कहाँ छ ? 
नुभिवले घटना हुनुअघि बिहान २:२६ बजे आमा भगवती उप्रेतीलाई भाइबरमार्फत सन्देश पठाएको देखिन्छ । सन्देशमा उनले लेखेका छन्, ‘आइएम रियल्ली सरी । आई कुड नट टक टू यू । म पोखरा छु ।’ ३:१५ बजे उनले फेरि भाइवरमार्फत अर्को अधुरो सन्देश लेखेका छन् । भनेका छन्, ‘दिस सुड बी द लास्ट टेक्स्ट आफ माइन ........’ । त्यसपछि बन्द भएको मोबाइल ६:४९ मा पुनः सञ्चालनमा आयो । मोबाइलबाट ६:४९ मा नुभिवका साथी सहिष्णु घर्तीमगरलाई फोन गयो, तर दुई पक्षबीच कुरा भने हुन सकेन ।

प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार नुभिवको शव बिहान ६:४५ बजे नै फेलातालमा फेला परेको थियो । उनले आफ्ना साथी सहिष्णुलाई फोन गर्न सक्ने विषय नै भएन । तर, उनकै मोबाइलबाट सहिष्णुलाई फोन गएको छ । सहिष्णुलाई फोन गर्ने व्यक्ति को थिए ? नुभिवको मोबाइल कसले लग्यो ? प्रहरीले यसतर्फ अनुसन्धान नै गरेन । अहिलेसम्म नुभिवको मोबाइल कसले लग्यो भन्ने कुनै खुलेको छैन ।

ललितपुर कुमारीपाटीबाट नुभिव एक्कासि कसरी पोखरा पुगे ? 
नुभिव परिवारसँगै ललितपुरको कुमारीपाटी बस्थे । सेन्टजेभियरबाट १२ कक्षा पास गरेका उनी स्नातक अध्ययन गर्न केही समयअघि मात्रै कुमारीपाटीस्थित सिटिजन कलेज भर्ना भएका थिए । ३ वैशाखको बिहान ९:३० तिर उनी कलेज गएका थिए । उनी सधैँ अपराह्न ४:३० बजे घर फर्कन्थे । तर, त्यसदिन उनी अबेरसम्म फर्किएनन् । त्यसपछि परिवारका सदस्यले उनको साथीभाइसँग सम्पर्क गरे । सोधखोज गरे । आफन्तकहाँ बुझे । तर, केही पत्ता लाग्न सकेन । 

कतै केही खबर नपाएपछि आमा भगवतीले छोरा हराएको भन्दै महानगरीय प्रहरी परिसर जाउलाखेलमा खोजीका लागि निवेदन दिइन् । राति अबेर भएकाले सुतिन् । भोलिपल्ट बिहान उठ्नासाथ छोराको खोजीमा लागिन् । यही क्रममा बिहानको ७ बजे पोखराबाट उनलाई फोन आयो । फोनमा भनियो, ‘तपाईंको छोरा फेवातालमा मृत भेटिएका छन्, कन्फर्म गर्न फोटो पठाउनुपर्‍यो ।’

भगवती छाँगाबाट खसेझैँ भइन् । कहिल्यै पोखरा नगएको छोरा कसरी अचानक त्यहाँ मृत भेटियो ? सुरुमा उनलाई पत्यारै लागेन । दुवै पक्षबीच फोटो आदानप्रदानपछि फेवातालमा भेटिएको शव नुभिवकै रहेको पुष्टि भयो । नुभिव एकाएक कसरी पोखरा पुगे ? उनी एक्लै थिए कि उनीसँग अरू कोही थिए ? यसतर्फ प्रहरीको अनुसन्धान नै भएन । ‘छोरा सानो छँदा एकचोटि पोखरा गएको हो । त्यसपछि गएको थिएन । तर, उसैको शव फेवातालमा भेटियो । एकाएक उनी कसरी पोखरा पुगे ? उनीसँग अरू थिए कि थिएनन् ? उनलाई पोखरासम्म लैजान कसैले बाध्य तुल्याएको त होइन ? उनको मोबाइल बरामद नहुनु यही रहस्य खुल्ने डरले त होइन ?’ भगवतीले प्रश्न गर्दै भनिन् ।

टाउको र शरीरमा चोट, तर प्रहरीले मुचुल्कामा लेखेन
प्रहरीले नुभिवको शव ४ वैशाख बिहान ६:४५ मा फेला पारेको थियो । त्यसलगत्तै प्रहरीले घटनास्थल सिल गर्‍यो । प्रहरीले घटनास्थलबारे मुचुल्का प्रतिवेदनमा प्रस्ट उल्लेख गरेको छ । तर, मृतकको टाउको र निधारमा लागेको चोट, शरीरमा देखिएको निलडाम, खुट्टाको चोटबारे केही उल्लेख गरेको छैन । 

मुचुल्का उठाउने क्रममा प्रहरीले गरेको यो लापरबाही योजनाबद्ध हुन सक्ने परिवारको आरोप छ । ‘नुभिवको टाउको र निधारमा लागेको चोट, शरीरमा देखिएको निलडाम, खुट्टाको चोटबारे प्रहरीले मुचुल्कामा केही उल्लेख गरेको छैन । उनीहरूले आठ दिनसम्म हत्यालाई आत्महत्या भनिरहे । सोही कारण जोहरी लिन पनि मानेनन् । यी सबै घटनाक्रमले मलाई छोराको हत्या योजनाबद्ध रहेको र प्रहरीको अनुसन्धान फितलो देखिएको लाग्छ,’ भगवतीले भनिन् ।

नाबालक भनिएका अभियुक्तको उमेर अस्वाभाविक 
नुभिवमाथि कुटपिट गरेको भन्दै प्रहरीले तीनजनालाई पक्राउ गर्‍यो । पक्राउ परेकामध्ये बिगेन र वासुदेवको उमेर समान १९ वर्षका भनिएको छ । उनीहरूको परिचय खुलाइएको मात्रै छैन, अदालतको आदेशपछि दुवैलाई पुर्पक्षका लागि कारागार पठाइएको छ । तर, उनीहरूसँगै पक्राउ परेका अर्का एकलाई भने नाबालक त भनिएको छ, परिचय खुलाइएको छैन । उनलाई कोडमा ‘बैदाम–१४’ भनिएको छ । तर, सिसिटिभी फुटेज र सामाजिक सञ्जालमा प्राप्त उनको फोटो हेर्दा उनी नाबालक देखिँदैनन् । 

छोरो कहाँ गयो भन्ने प्रहरीलाई होइन, परिवारका सदस्यलाई थाहा हुनुपर्‍यो नि

डिएसपी चिनिमाया तामाङ प्रमुख, वडा प्रहरी कार्यालय बैदाम पोखरा 

ललितपुरस्थित कलेज जान घरबाट हिँडेका किशोरको एकाएक भोलिपल्ट पोखराको फेवातालमा शव भेटियो । प्रहरी अनुसन्धानमा उनी काठमाडौंबाट पोखरा कसरी पुगे भन्ने देखिन्छ ?
त्यो प्रहरीलाई थाहा हुने कुरा होइन, मृतकको परिवारलाई थाहा होला । छोरा कसरी पोखरा पुग्यो भन्ने त उहाँहरू (परिवार)ले बताउने कुरा हो । 

तपाईंले नै घटनाको अनुसन्धान गर्नुभयो । मृतक सार्वजनिक गाडीमा, जहाजमा वा निजी सवारीसाधनमा पोखरा पुगे भन्ने केही न केही त पत्ता लगाउनुभएको होला नि ?
त्यो मलाई थाहा हुने कुरा होइन । 

हत्यामा संलग्न भनिएका तीन किशोरसँग के विषयमा मृतकको विवाद भएको रहेछ र किन कुटपिट गरिएको रहेछ ?
यो कुरा भन्न मिल्दैन । 

लेकसाइडको ट्रेजरी लाउन्जको अगाडि मृतकमाथि कुटपिट भएको सिसिटिभी फुटेजबाट देखिन्छ । डिस्कोमा जान मात्रै उनी काठमाडौंबाट एक्लै पोखरा गएका थिए त ? अनुसन्धानमा तपाईंले के पाउनुभयो ?
यो कुरा मैले तपाईंलाई बताउन जरुरी छैन । 

मृतकको टाउको, शरीर र खुट्टामा चोट लागेको तस्बिरहरूमा प्रस्ट देखिन्छ । तर, प्रहरीको मुचुल्कामा त्यो केही उल्लेख छैन । त्यति मात्रै होइन, प्रहरीले पीडित परिवारको किटानी जाहेरीसमेत लिन मानेन । चौतर्फी विरोध भएपछि आठौँ दिनमा मात्रै तपाईंले जाहेरी लिनुभयो । के समस्या थियो र जाहेरी लिनुभएन ?
यसमा प्रहरीको दोष छैन । मृतकको परिवारले शव बुझे । सदगद गरे र घर गए । उनीहरूले नै आत्महत्या भनेपछि हामीले के गर्न सक्छौँ ? 

मृतकले बोकेको मोबाइल फोन अझै भेटिएको छैन । ट्रेजरी लाउन्जभित्रको सिसिटिभी फुटेज पनि फेला परेन । त्यसैले पीडित परिवारले प्रहरीको अनुसन्धानमाथि शंका गरेका छन् । के भन्नुहुन्छ ?
हामीले सबै कोणबाट अनुसन्धान गरेर भएजति प्रमाण संकलन गर्‍यौँ । अनुसन्धानको फाइल सरकारी वकिलको कार्यालयमा पेस गरेका छौँ । त्यसकै आधारमा अदालतले पक्राउमध्ये दुईलाई पुर्पक्षका लागि जेल र  एकलाई सुधारगृह पठाउने आदेश गरेको छ । यस विषयमा मैले तपाईंलाई थप बताइरहन जरुरी छैन, उतै सोध्नुहोला ।

ad
ad