१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ भदौ २ बुधबार ०६:३१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मनाङका बाढीपीडितलाई प्रदेश सरकारले  घर बनाउन प्रतिपरिवार थप दुई लाख दिने

Read Time : > 1 मिनेट
२०७८ भदौ २ बुधबार ०६:३१:००

गण्डकी प्रदेश सरकारले मनाङका बाढीपीडितलाई विशेष राहतको घोषणा गरेको छ । प्रदेशको विकट जिल्लामा बाढीले पुर्‍याएको क्षतिको मूल्यांकन गरी उक्त राहत प्रदान गर्न लागिएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए । मुख्यमन्त्री पोखरेल र अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले सोमबार जिल्लाको नासों गाउँपालिकाको क्षतिग्रस्त क्षेत्रको  अवलोकन गरेका छन् ।

बाढी प्रभावित क्षेत्रमा बाढीपीडितसँग बोल्दै मुख्यमन्त्री पोखरेलले बर्खाको सुरुमै मनाङमा भौतिक संरचनमा ठूलो क्षति भएकाले बाढीले पूर्ण क्षति पुर्‍याएका घर निर्माणका लागि प्रतिघर दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे । मुख्यमन्त्री पोखरेलले बेंसीसहर–चामे सडक खुलाउन संघ सरकारले काम थालिसकेको र नासों गाउँपालिका– २ खोत्रोसम्म गाडी चल्न थालिसकेको बताए । 

उनका अनुसार मनाङको माथिल्लो क्षेत्रमा समेत सडक पुनर्निर्माणको काम भइरहेको छ । मुख्यमन्त्री पोखरेलले बाढी र पहिरो प्रभावित क्षेत्रको आवश्यकताका आधारमा प्राथमिकता तोकेर संघ सरकारसँग समन्वय गर्दै काम गर्ने प्रतिबद्धता जनाए । संघ सरकारले मनाङलाई विपत् संकटग्रस्त घोषणा गरिसकेको छ । 

जिल्लामा विभिन्न बस्तीको पुनर्निर्माणका लागि आफूले केन्द्रसँग समन्वय गरिरहेको उनको भनाइ थियो । मनाङ सदरमुकाम चामेमा बाढीकै कारण बिजुली बत्ती नबलेपछि प्रदेश सरकारले सबै सरकारी कार्यालयहरूमा सोलार जडान गरिसकेको छ । अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले बाढी र पहिरो प्रभावितहरूको पहिचान गरी तत्काल र दीर्घकालीन रूपमा समस्या समाधानका लागि सरकार कटिबद्ध भएको बताए । 

वडा नम्बर १ को ताल गाउँ बगरमा परिणत भएकोले अस्थायी बसोवासका साथै प्रभावितहरूलाई खानबस्न प्रबन्ध भइरहेको र प्रदेश सरकारले कमी हुन नदिने प्रतिबद्धता जनाए । सोमबार मुख्यमन्त्री र अर्थमन्त्रीसँगै कांग्रेस सांसद चिन्तबहादुर घले, माओवादी केन्द्रका नेता कपिल लामा सहभागी थिए । बाढीले नासों गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । 

मनाङमा असार १ गते वर्षासँगै आएको बाढीले ८५ घर पूर्ण रूपमा क्षति भएको छ  । बाढीका कारण नासों गाउँपालिकाको नाैवटै वडाहरू प्रभावित भएको नासों गाउँपालिका अध्यक्ष घलेले बताए । बाढीले स्थानीयको घरवास नै डुबाउनुका साथै खेतीयोग्य जमिनसमेत बगाएको छ । मूल सडक र झोलुंगेपुल बगाएको छ । 

गोरेटो बाटोसमेत हिँड्न सकिने अवस्थामा छैन । बाढीपहिरोका कारण दुई महिनादेखि मनाङ सडक, सञ्चार र बिजुलीबाट सम्पर्कविच्छेद भएको छ ।