१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
कमल खत्री म्याग्दी
२o८१ बैशाख २१ शुक्रबार o६:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एसइई उत्तीर्णपछि आमाहरूको मुहारमा फर्कियो खुसी

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:२७:oo

बेनी नगरपालिका– ८ कालिपुलकी भुलमायाँ तिलिजाले ६० वर्षको उमेरमा एसइई उत्तीर्ण गरिन् ।  सदरमुकाम बेनीमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयबाट ०७७ को एसइईमा सहभागी भएकी तिलिजासहित नौजना आमाहरूले एसइई उत्तीर्ण गरेका छन् । बीचमै पढ्न छोडेका र विभिन्न कारणले पढ्न नसकेका महिलाहरूका लागि बेनीमा ०७३ देखि उज्यालो वैकल्पिक विद्यालय स्थापना गरिएको छ । 

विद्यालय स्थापना भएसँगै नियमित रूपमा विद्यालयमा पुगेर अध्ययन गर्दै आएकाहरूमध्ये यस वर्षको एसइईमा २४ देखि ६० वर्ष उमेरसम्मका आमाहरू परीक्षामा उत्तीर्ण भएको विद्यालयकी सहजकर्ता रिता गर्बुजाले जानकारी दिइन् । यस विद्यालयमा २० देखि ६० वर्ष उमेरसम्मका ६८ जना अध्ययनरत छन् ।

बाध्यताले बीचैमा अध्ययन छाडेर घर सम्हालेर बसेको अवस्थामा पुनः अध्ययन गर्न मिल्ने उज्यालो वैकल्पिक विद्यालय स्थापना भएपछि आफूहरूको अधुरो रहेको पढ्ने चाहना पूरा भएको तिलिजाले बताइन् । ‘पढ्ने रहरलाई ढिलै भए पनि पूरा गर्न सफल भएका छौँ, हिजो साधारण विद्यालयमा गएर पढ्न सकिएन, आज छोराछोरीहरूले समेत पढाइ पूरा गरिसकेपछि हामीले पढ्ने अवसर मिल्यो,’ उनले भनिन् । 

यसैबीच उज्यालो वैकल्पिक विद्यालयबाट एसइई उत्तीर्ण गर्ने नौजना आमाहरूलाई सम्मान गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री नरदेवी पुन, विद्यालय सञ्चालक समितिका अध्यक्ष चन्द्रकुमार केसी, उपाध्यक्ष राजेश शाक्य, सचिव लोकेश पुनमगरलगायतले एसइई उत्तीर्ण आमाहरूलाई सम्मान गरेका थिए । उज्यालो वैकल्पिक विद्यालय स्थापना भएपछि यस वर्ष पहिलोपटक एसइईमा परीक्षार्थीहरू सहभागी भएका थिए । 

०७७ को एसइईमा सहभागी भएर उत्तीर्ण हुने आमाहरूले २.४० देखि २.६० जिपिए लिएर उत्तीर्ण भएका छन् । उत्तीर्ण हुनेहरूमा ६० वर्षीया भुलमाया तिलिजा, ५५ वर्षीया लालकुमारी सापकोटा, ४८ वर्षीया भुलकुमारी तिलिजा, ३७ वर्षीया सविना नेपाली, ३६ वर्षीया तिर्सना भण्डारी, ३० वर्षीया रेणु विक, २८ वर्षीया पुष्पा शाही, २५ वर्षीया सलिना विक र २४ वर्षीया ललिता तिलिजा रहेका छन् ।

विद्यालयमा आमाहरूलाई नेपाली विषयसहित अंग्रेजी, गणित विषयमा पठनपाठनसँगै  कम्प्युटरसम्बन्धी समेत सामान्य सीप विकास गरिएको विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष शाक्यले जानकारी दिए । विद्यालय सञ्चालन गर्न गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाइले आर्थिक रूपमा सहयोग उपलब्ध गराएका छन् ।                                  

ad
ad