१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ श्रावण १५ शुक्रबार १०:३७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा स्वास्थ्य सावधानी नअपनाउँदा कोरोना बढ्ने चिन्ता

Read Time : > 1 मिनेट
२०७८ श्रावण १५ शुक्रबार १०:३७:००

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने चेतावनी गराइरहँदा सर्वसाधारणले भने स्वास्थ्य सावधानी अपनाउन बेवास्ता गरेका छन् । सदरमुकाम बेसीसहरसहित बजार क्षेत्र र ग्रामीण भेगका स्थानीयले मास्कसमेत मास्क लगाउँदैनन् । स्वास्थ्य सतर्कता नअपनाउनेमा सर्वसाधारण मात्र नभई व्यवसायी, कर्मचारीसमेत छन् । 

बेसीसहरमा बस्दै आएकी प्रतिमा थापा उपभोक्ताको भिड हुने पसलका व्यापारीले समेत मास्क नलगाने गरेको बताउँछिन् । उनी भन्छिन्, ‘शिक्षित, कर्मचारी, नेताहरूले पनि मास्क लगाउँदैनन्, चियापसल वा रेस्टुरेन्टमा जमघट बढ्दो छ । मास्क लगाउनेजस्तो आधारभूत स्वास्थ्य सावधानी अपनाउनसमेत आनाकानी गर्ने बढेसँगै प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियानसहित कोभिडसम्बन्धी सचेतनामूलक सन्देशसहित सूचना प्रवाह गरिरहेको छ । 

‘स्वास्थ्य जोखिम कायमै रहेकाले मास्क लगाउन र भौतिक दूरी कायम गर्न प्रहरीले माइकिङ गरेर आग्रह गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । उनले भने, ‘प्रहरीले कोभिडसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिरहेकै छ, तर स्वास्थ्यसम्बन्धी सावधानी अपनाउन सर्वसाधारण आफैँ सचेत हुनुपर्छ ।’ 

जिल्ला प्रशासन कार्यालयले औपचारिक रूपमा सबै क्षेत्रको निषेधाज्ञा हटाइसकेको छैन । व्यावहारिक रूपमा भने शैक्षिक संस्थाबाहेक सबै क्षेत्र खुलेका छन् । आर्थिक तथा सामाजिक गतिविधिलाई सक्रिय बनाउन निषेधाज्ञा खुकुलो पारिएको भए पनि कोरोना संक्रमणको जोखिम भने हटिसकेको छैन । निषेधाज्ञा खुकुलो भएसँगै सदरमुकाममा मात्र होइन ग्रामीण क्षेत्रमा पनि संक्रमण फैलिएको छ ।  गाउँगाउँबाट सदरमुकाम आउँदा प्रहरीले ‘गाली गर्छ’ भन्दै मास्क लगाउने, तर प्रहरीले नदेखे मास्क नलगाउनेको संख्या धेरै छ । तरकारी, खाद्यान्न, औषधि, दूध डेरी, मासु पसललगायतमा भिडभाड भए पनि मास्क नलगाउने र भौतिक दूरी कायम नगर्ने बढी छन् ।  

यस्तै, बुधबार  १७ जना र बिहीबार नाैजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रशासनका अनुसार संक्रमितमध्ये बेंसीसहर नगरपालिका र राईनास नगरपालिकामा बढी छन् ।  बुधबार र बिहीबार २६ जना थप भएसँगै लमजुङमा कोरोना संक्रमितको संख्या दुई हजार दुई सय ८६ पुगेको छ । दुई हजार ९२ जना निकाे भइसकेका छन् । हाल एक सय ५९ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म जिल्लाभित्र र बाहिर गरी लमजुङका ३५ जनाको मृत्यु भएको प्रशासनले जनाएको छ ।