१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o८:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:३७:oo

नेपालकी पौडीबाज गौरिका सिंहले टोकियो ओलम्पिक खेलकुद प्रतियोगिताअन्तर्गत सय मिटर फ्रिस्टायल हिट चरणमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । टोकियो अक्वाटिस्क सेन्टरमा बुधबार गौरिकाले १.००.११ सेकेन्डको नयाँ कीर्तिमान राखेकी हुन् ।

उनी आफू सहभागी इभेन्ट्समा तेस्रो स्थानमा रहिन् । उनले एकजना खेलाडीलाई मात्र पछि पारिन् । गौरिकाले हिट १ को चार लेनमा प्रतिस्पर्धा गरेकी थिइन् । यो इभेन्ट्समा सहभागी ५१ मध्ये गौरिका ५०औँ स्थानमा रहिन् । १८ वर्षीया गौरिकाको यो दोस्रो ओलम्पिक सहभागिता हो । 

उनले सन् २०१९ मा दक्षिण कोरियाको ग्वाङ्जुमा सम्पन्न १८औँ फिना विश्व च्याम्पियनसिपमा १ मिनेट ६२ सेकेन्डको रेकर्ड स्थापित गरेकी थिइन् । टोकियोमा उनले आफ्नै रेकर्ड सुधार गर्न सफल भइन् । आफ्नै रेकर्डमा सुधार र नयाँ राष्ट्रिय कीर्तिमान बनाउन पाउँदा उनले खुसी व्यक्त गरेकी छिन् । ‘कीर्तिमान बनाउन सकेकोमा मलाई निकै खुसी लागेको छ,’ गौरिकाले भनिन् । 

नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले गौरिकाले ५० मिटरको लङ कोर्समा कीर्तिमान बनाएको जानकारी दिएका छन् । बज्राचार्यका अनुसार अन्तर्राष्ट्रिय पौडी प्रतियोगितामा ५० मिटरलाई लङ तथा २५ मिटरको स्पर्धालाई सट कोर्स भनिन्छ । ‘गौरिकाले ५० मिटरको लङ कोर्समा रेकर्ड बनाएको हो,’ उनले भने । १३औँ दक्षिण एसियाली खेलकुद तथा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गौरिकाले २५ मिटरको सट कोर्समा रेकर्ड राखेको बज्राचार्यले जनाए । ‘१३औँ साग तथा आठौँ राष्ट्रिय खेलकुदमा गौरिकाले सट कोर्स (२५ मिटर) मा रेकर्ड बनाएको हो,’ उनले भने, ‘ओलम्पिक तथा फिना विश्व च्याम्पियनसिपमा लङ (५० मिटर) कोर्समै प्रतिस्पर्धा हुन्छ ।’ कोरोनाको महामारीबीच पनि पौडीका एलेक्स शाह तथा गौरिकाले टोकियो ओलम्पिकमा राष्ट्रिय रेकर्ड राख्नु गौरवको विषय भएको बज्राचार्यले बताए । ‘दुवै खेलाडीले रेकर्ड राखेका छन्, समग्रमा पौडी संघले गर्वको महसुस गरेको छ,’ उनले भने । 

मंगलबार मात्रै नेपालका एलेक्सले पुरुष सय मिटर फ्रिस्टाइलको हिटमा ५३.४१ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए । एलेक्सले १३औँ सागमा ५४.१३ सेकेन्डको रेकर्ड राखेका थिए । पाँच वर्षअघि सन् २०१६ मा गौरिकाले पहिलोपटक रियो ओलम्पिकमा सहभागिता जनाएकी थिइन् । त्यसवेला उनी ओलम्पिकमा सहभागीमध्ये सबैभन्दा कान्छी खेलाडी थिइन् । 

टोकियोको अक्वाटिस्क सेन्टरमा गौरिकासँगै नाइजेरिया, मोन्टेनेग्रो तथा ग्वामका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । टोकियोमा गौरिका सहभागी इभेन्ट्समा नाइजेरियाकी एबियोला उगुन्वानयोले ५९.७४ सेकेन्डका साथ शीर्ष स्थानमा रहिन् । उत्कृष्ट समय आधारमा सय मिटर हिट चरणबाट १६ जना खेलाडी सेमिफाइनलमा प्रवेश गरेका छन् । टोकियो ओलम्पिकमा गौरिका युनिभसिर्टी कोटाबाट सहभागी भएकी हुन् । ओलम्पिकका लागि गौरिकाले अधिकांश समय बेलायतमै प्रशिक्षण गरेकी थिइन् ।

गत शुक्रबार प्रतियोगिताको उद्घाटनअघि गौरिकाले सामाजिक सञ्जालमार्फत आफूले सक्दो राम्रो नतिजा निकाल्ने बताएकी थिइन् । साथै उनले टोकियो ओलम्पिकका लागि कडा मिहिनेत गरेको जनाएकी थिइन् । ‘कठिन परिस्थितिमा पनि टोकियो ओलम्पिकका लागि निकै मिहिनेत गरेकी छु, नेपालको प्रतिनिधित्व गरी ओलम्पिकमा उत्कृष्ट नतिजा दिलाउने मेरो लक्ष्य हुनेछ,’ गौरिकाले फेसबुकमा लेखेकी थिइन् । 

नेपालको पौडी इतिहासमा गौरिका सर्वाधिक सफल खेलाडी हुन् । सन् २०१९ को १३औँ सागमा गौरिकाले सर्वाधिक चार स्वर्ण जितेकी थिइन् । यसैगरी उनले थप दुई रजत तथा तीन कांस्य हात पारिन् । भारतले सन् २०१६ मा आयोजना गरेको १२औँ सागमा गौरिकाले एक रजत तथा चार कांस्य जितेकी थिइन् ।

ad
ad