१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
अजित अधिकारी काठमाडौं
२o८१ बैशाख २३ आइतबार १२:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पूर्वमा आइओसीको बरौनी  रिफाइनरीबाट तेल ल्याउन बन्द

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:१३:oo

इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट सबैभन्दा धेरै इन्धन आपूर्ति गर्ने टर्मिनलका रूपमा प्रयोग हुँदै आएको बरौनी रिफाइनरीबाट आयल निगमले पूर्वमा इन्धन आयात बन्द गर्ने निर्णय गरेको छ । लामो दूरीका कारण ढुवानी खर्च बढ्दै गएको र तेल चोरी तथा मिसावटका घटना बारम्बार हुन थालेका कारण बरौनी रुटबाट निगमले बिस्तारै स्थानान्तरण हुने रणनीति लिएको हो । आयल निगमको १ नम्बर प्रादेशिक कार्यालय, विराटनगरका प्रमुख नकुल भण्डारीका अनुसार बरौनीबाट इन्धन आयात बन्द गर्ने निर्णय भएको हो । अहिले बरौनीको सट्टा आइओसीको पश्चिम बंगालस्थित सिलगुढीमा रहेको डिपोबाट तेल विराटनगर ओसार्न थालिएको छ । 
विराटनगरका लागि बरौनीबाट दुई वर्षअघिदेखि पेट्रोल मात्र आयात भइरहेको थियो । पेट्रोल लिन दैनिक १५–२० ट्यांकर बरौनी जाने गरेका थिए । अहिले ती ट्यांकरलाई सिलगुढी पठाउन थालिएको भण्डारीले जानकारी दिए । ‘हामीले डिजेल भने पाइपलाइन सञ्चालनमा आएदेखि निगमकै दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्जबाट ल्याइरहेका छौँ,’ उनले भने, ‘अमलेखगन्ज–विराटनगर रुटमा दैनिक करिब ५० ट्यांकरले डिजेल ढुवानी गरिरहेका छन् ।’

यसअघि सिलगुढी डिपोबाट झापाको चारआलीस्थित निगमको शाखा कार्यालयमा मात्रै तेल ओसार्ने गरिएको थियो । चारआलीमा दैनिक ५–७ ट्यांकर तेल सिलगुढीबाट आउने गरेको थियो । ‘अबका दिनमा चारआली र विराटनगरका लागि सिलगुढीले दैनिक औसतमा २५ ट्यांकर तेल लोड गर्नुपर्ने हुन्छ,’ भण्डारीले भने ।
बरौनीको तुलनामा सिलगुढी डिपो धेरै सानो छ । त्यसैले अहिले विराटनगरको ट्यांकर तेल लिन जाँदा सिलगुढीले समयमै लोड दिन सकेको छैन । सिलगुढी डिपोबाहिर आयल निगमका ट्यांकर लामबद्ध भएर बस्ने गरेका छन् । बरौनी रुटका ट्यांकरको सुरक्षा मापदण्ड, क्यालिब्रेसनलगायत चेकजाँच गरेकाले सिलगुढी पुगेका ट्यांकरले समयमै लोड पाउन नसकेर डिपोबाहिर लामबद्ध भई बस्नुपरेको निगमको तर्क छ ।

समयमा तेल लोड हुन नसक्दा पूर्वमा अहिले पेट्रोल आपूर्ति असहज छ । करिब तीन सातादेखि पूर्वका पम्पले मागेजति पेट्रोल पाउन सकेका छैनन् । डिपो प्रमुख भण्डारीले सिलगुढीबाट तेल ल्याउन केही असहजता भएकाले मागअनुसार दिन नसकेको बताए । ‘सिलगुढी पुगेका ट्यांकर सेफ्टी र क्यालिब्रेसन चेकजाँच गर्दा समयमा लोड पाएनन्, त्यसैले भनेजति तेल ल्याउन सकिएन,’ उनले भने, ‘अहिले समस्या समाधान हुने क्रममा छ ।’

सिलगुढीबाट तत्काल मागअनुसार 
पेट्रोल ल्याउन नसकेपछि केही दिनका लागि बरौनीबाट तेल ल्याउन थालेको उनले बताए । बरौनीबाट पेट्रोल ओसार्न थालेकाले पूर्वमा एक–दुई दिनमै पेट्रोल सहज हुने उनको भनाइ छ । पछिल्लो समय अभावका कारण पूर्वका पम्पले दैनिक ५ लाख लिटरभन्दा बढी पेट्रोलको माग गरिरहेका छन् । तर, निगमले बढीमा साढे ३ लाख लिटरसम्म दिन सकेको छ । एक दिन भने करिब साढे ५ लाख लिटर दिएको भण्डारीले बताए ।

बरौनी छाड्नुका दुई कारण

१) बरौनी–विराटनगर रुट साढे ३ सय किलोमिटरभन्दा टाढा छ । यति लामो रुटबाट इन्धन ढुवानी गर्दा प्रतिट्यांकर औसतमा ६० हजार रुपैयाँ ढुवानी भाडा निगमले तिर्दै आएको छ । तर, बरौनी छाडेर सिलगुढीबाट इन्धन ल्याउँदा दूरी करिब डेढ सय किलोमिटरमा झर्छ र ढुवानी भाडा करिब ३० हजार रुपैयाँ मात्रै भुक्तानी गर्नुपर्छ ।

२) नेपालको सीमाबाट सबैभन्दा टाढाको दूरीमा बरौनी पर्ने भएकाले त्यहाँबाट इन्धन ल्याउँदा चोरी तथा मिसावटका घटना बारम्बार दोहोरिने गरेका छन् । आयल निगमको तथ्यांकअनुसार ९० प्रतिशत चोरी तथा मिसावटका घटना बरौनी रुटबाटै ओसारिएको तेलमा हुने गरेको छ । त्यसैले बरौनी रिफाइनरीबाट तेल ओसार्न बिस्तारै बन्द गर्नुपर्ने बाध्यता निगमलाई छ ।

ad
ad