
सूर्य नेपाल प्रालिले तनहुँका शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’मा ५० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले शुक्लागण्डकीलाई ३० लाख रुपैयाँ र म्याग्दे गाउँपालिकालाई २० लाख रुपैयाँ प्रदान गरेको हो ।
कम्पनीको तनहुँ सेराटारमा रहेको कारखानाका प्रबन्धक बाबुराम कार्कीले उक्त रकम हस्तान्तरण गरेको जनाएको छ । कम्पनीले यस क्षेत्रमा गर्दै आएको विभिन्न सहयोगको चर्चा गर्दै कारखाना प्रबन्धक कार्कीले भविष्यमा पनि सहयोग जारी रहने कुरा बताए ।
कम्पनीको मानव संसाधन विभागका अञ्जन दुवाडीले यस क्षेत्रको दीर्घकालीन विकासका लागि स्थानीयसँग सहकार्य गर्दै अघि बढ्न कम्पनी सदैव तयार रहेको बताए ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिका प्रमुख, उपप्रमुख तथा प्रमुख कार्यकारी अधिकृतहरूले कम्पनीले यस क्षेत्रको सामाजिक, आर्थिक विकासमा गरेको योगदानको प्रशंसा गर्दै भविष्यमा पनि यस्तै प्रकारको सहयोगको अपेक्षा व्यक्त गरेको जनाएको छ ।
कम्पनीले अघिल्लो वर्ष पनि शुक्लागण्डकी नगरपालिकाको ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’मा १० लाख रुपैयाँ तथा सातवटै प्रदेशमा कोभिडविरुद्धको लडाइँमा सहयोग पुर्याउन १ करोड रुपैयाँका दरले सहयोग गरेको जनाएको छ ।