१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७८ असार २८ सोमबार ११:४३:००
Read Time : > 3 मिनेट
खेलकुद

३४ खेलमा अपराजित  रहदै इटालीले जित्यो युरोकप  

Read Time : > 3 मिनेट
एजेन्सी
२०७८ असार २८ सोमबार ११:४३:००

५५ वर्षदेखि मुख्य प्रतियोगिताको उपाधिको पर्खाइमा रहेको इंग्ल्याण्डमाथि थप पीडा थप्दै इटालीले युरोकप २०२० को उपाधि जितेको छ । उपाधिका लागि इटालीले आइतबार मध्यराति इंग्ल्याण्डलाई उसकै राष्ट्रिय स्टेडियम वेम्बलीमा टाइब्रेकरमा ३–२ ले पराजित ग¥यो ।

त्यसअघि निर्धारित समयमा १–१ गोलको बराबरी भएको खेलमा अतिरिक्त ३० मिनेटसम्म पनि दुवै टोलीबाट थप गोल हुन नसकेपछि टाइब्रेकर प्रहार गरिएको थियो ।

आशा, तनाव र अन्त्यमा पराजयको ठूलो पीडा दिएको यो रात इंग्लिस समर्थकका लागि साच्चिकै मुस्किल रह्यो । इंग्ल्याण्ड खेलको सुरुवातमा उपाधितर्फ अग्रसर देखिएको थियो । खेल सुरु भएको दोस्रो मिनेटमै रक्षक लुक शाले गोल गरेपछि वेम्बली स्टेडियममा घरेलु दर्शकले खुसी मनाएका थिए ।

तर, फाइनलअघि ३३ खेलमा अपराजित इटालीले विस्तारै लय समात्यो । फलस्वारुप उसले ६७औं मिनेटमा बराबरी गोल फर्कायो । कर्नरमार्फत आएको बललाई मार्काे भेर्राट्टीले हेडिङ गरेका थिए । उक्त बल साइड बारमा लागेर फर्कियो । त्यही बललाई गोलमा परिणत गर्दै लियोनार्दाे बोनुस्सीले गोल गरेका थिए ।

थप प्रतिस्पर्धात्मक भएको अतिरिक्त समयमा पनि दुवै टोलीले विजयी गोल गर्न सकेनन् । त्यसपछि भएको टाइब्रेकर इंग्लिस प्रशिक्षक गारेथ साउथगेट र उनका खेलाडीका लागि खराब अनुभव बन्यो । सन् १९६६ मा विश्वकप उपाधि जितेपछि अर्काे महत्वपूर्ण उपाधिनजिक पुगेको इंग्ल्याण्ड फेरि असफल भयो । 

टाईब्रेकरमा इंग्ल्याण्डका खेलाडीहरूले पाँचमध्ये तीन प्रहारमा गोल गर्न सकेनन् । मार्कस रासफोर्डले साइट बारमा प्रहार गरे । जाडोन सान्चो र बुकायो साकाको प्रहार इटालीका गोलरक्षक जियनलुइजी डोन्नारुम्माले रोकिदिए ।

हारी केन र हारी मागुइरेले मात्रै गोल गरे । गोलरक्षक जोर्डन पिकफोर्डले इटालीको दुई प्रहार रोकेर टोलीलाई जिततर्फ अग्रसर गराउने प्रयास गरेका थिए । यद्यपि, आफ्नै खेलाडी गोल गर्न चुकेपछि उनको प्रयास सफल भएन । 

पिकफोर्डले इटालीका एन्द्रिया बेलोट्टी र जर्जिन्होको प्रहार रोकेका थिए । डोमेनिको बेरार्डी, बोनुस्सी र फेडेरिको बर्नान्डेचीले गोल गर्दै इटालीको उपाधि निश्चित गरे ।

इंग्ल्याण्डको सुधारिएको यो टोलीबाट अझै आशा

इंग्लिस समर्थकहरूका लागि युरोकपको यो फाइनल खेलको सुरुवाती झण्डै ३० मिनेट निकै सहज देखिएको थियो । त्यस बेलासम्म उनीहरूले उपाधिका लागि कुरेको पछिल्लो झण्डै २० हजार दिनको अन्त्य हुने लक्षण देखिएको थियो ।

सेमिफाइनलमा डेनमार्कलाई पराजित गरेको टोलीबाट मात्रै एक जना परिवर्तन गर्दै प्रशिक्षक साउथगेटले इटालीविरुद्ध आफ्नो टोली उतारेका थिए । उनले अघिल्लो खेलबाट साकाको स्थानमा किइरन ट्रिपियरलाई मैदानमा उतारेका थिए । उनको यो परिवर्तनले खेलको सुरुवातमै नतिजा पनि दियो । केनले दिएको बललाई उनै ट्रिपियरले गरेको क्रसमा शाले टोलीका लागि गोल गरेका थिए ।

खेलको अघिल्लो आधा घण्टासम्म इंग्ल्याण्ड मैदानमा सशक्त देखिएको थियो । तर, इटालीले विस्तारै त्यो लय आफ्नो पक्षमा पा¥यो । बलमाथिको नियन्त्रण आफ्नो पक्षमा राख्दै उनीहरुले दवाव बनाए । त्यसपछि इंग्ल्याण्ड संघर्षरत देखियो ।

प्रशिक्षक साउथगेटले आफ्नो खेलाडी परिवर्तन गर्न पनि ढिला गरे । उनले खेलको निर्धारित ९० मिनेटभित्र मात्रै दुई खेलाडी परिवर्तन गरे । अघिल्ला खेलमा राम्रो प्रदर्शन दिएका ज्याक ग्रेलिसलाई उनले अतिरिक्त समयमा मात्रै मैदानमा छिराए ।

सान्चो र रासफोर्ड पनि खेलको अन्तिम क्षणमा मात्रै मैदानमा प्रवेश गरे । यी खेलाडीलाई उनले टाइब्रेकरका लागि मात्रै पठाएको जस्तो देखिएको थियो । यद्यपि, उनको यो रणनीति टाइब्रेकरमा सफल भएन । यी दुवै खेलाडी टाइब्रेकरमा गोल गर्न चुके ।

स्टेडियममा उपस्थित हज्जारौं दर्शकले आफ्ना टोलीको सान्त्वनाका लागि ताली बजाए । आफ्नो टोलीले लामो समयपछि उपाधि जितेको हेर्न स्टेडियममा उपस्थित इंग्लिस समर्थकहरू फेरि पनि निरास भएर फर्किए ।

इंग्ल्याण्ड सन् २०१८ को विश्वकपमा पनि उपाधिको निकै नजिक पुगेर बञ्चित भएको थियो । रुस विश्वकपमा इंग्ल्याण्ड सेमिफाइनलबाटै बाहिरिएको थियो । इंग्ल्याण्ड यसपटक उपाधिको अझ नजिक पुगेको थियो । यद्यपि, उसले उपाधिका लागि अझै अन्तिम अवरोध पन्छाउन सकेन ।

यो असफलता इंग्लिस टोली र तीनका समर्थकका लागि अझ गढेर बस्ने छ । यद्यपि, पछिल्लो लामो समयपछि यो टोलीले इंग्लिस राष्ट्रिय टोलीमा सुधार आएको अनुभव पनि दिलाएको छ । जारी प्रतियोगिताको नकआउट चरणमा उसले जर्मनी, युक्रेन र डेनमार्क जस्तो बलियो टोलीलाई पराजित ग¥यो । इंग्ल्याण्डको यो टोलीबाट अझै आशा गर्न सकिने छ । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपमा इंग्ल्याण्डको यो टोलीले नयाँ इतिहासका लागि फेरि प्रयास गर्ने छ । 

युवा खेलाडीहरूले यो प्रतियोगितामा प्रभावशाली प्रदर्शन दिएका छन् । आगामी एक वर्षमा यी खेलाडी थप अनुभवी र सशक्त बन्ने प्रशिक्षक साउथगेटको अपेक्षा छ । साका, सान्चो, फिल फोडेन, मासन माउन्ट र जुड बेलिङघम जस्ता खेलाडीको प्रदर्शनबाट इंग्ल्याण्डले आगामी प्रतियोगितामा फाइदा लिन सक्ने छ ।

इटाली स्वभाविक विजेता

प्रतियोगितामा उनीहरूले गरेको प्रदर्शनलाई हेर्ने हो भने इटाली यो उपाधिका लागि लायक रह्यो । यो सफलता इटालीको फुटबलको पुनरुत्थानसमेत हो । खेल मिलेमतोको घटनाले घरेलु फुटबल ध्वस्त बनेपछि पछिल्ला धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा असफल भएपछिको सफलता हो इटालीको यो । 

टोलीको यो सफलताको मुख्य नेतृत्वकर्ता प्रशिक्षक रोबर्टाे मान्सिनी हुन् । उनले नेतृत्व सम्हालेपछि टोलीले पछिल्ला खेलमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ । फाइनल खेलसँगै इटाली पछिल्लो ३४ खेलमा अपराजित छ ।

मान्सिनीले युवा र अनुभवी खेलाडीलाई मिलाएर टोली तयार पारेका छन् । मिडफिल्ड र अग्रपक्तीमा नयाँ खेलाडीलाई प्राथमिक्ता दिएका प्रशिक्षक मान्सिनीले रक्षापक्तीमा भने कप्तान जियोर्जियो चिलेनी लगायत पुरानै खेलाडीमाथि विश्वास गरेका छन् ।

तथ्यमा यंग्ल्याण्डविरुद्ध इटालीको खेल
-   इटालीले युरोपियन च्याम्पियनसिपको दोस्रो उपाधि जितेको हो । यो उनीहरुले ५३ वर्षपछि जितेको पहिलो उपाधि हो ।
-  इंग्ल्याण्डले मुख्य प्रतियोगिताको टाइब्रेकरमा २२ प्रतिशतमा (नौंमध्ये दुई खेल) मात्रै जित हात पारेको छ । युरोपियन देशहरुमध्ये यो निक्कै कम प्रतिशत हो ।
- युरोकप २०२० मा इटाली पहिलो पटक पछि परेको हो । फाइनल खेलमा इटाली इंग्ल्याण्डविरुद्ध ६५ मिनेट पछि परेको थियो । 
-  इंग्ल्याण्डले सन् २०१६ को नोभेम्बरमा स्पेनविरुद्धको खेलपछि पहिलो पटक वेम्बली स्टेडियममा सबै भन्दा कम बल पोसेसन (३४.४ प्रतिशत) राख्यो ।
-  इंग्ल्याण्डका प्रशिक्षक गेराथ साउथगेटले आफ्नो पछिल्लो लगातार ३७ खेलमा कम्तिमा एक खेलाडी परिवर्तन गरेका छन् ।
-   ३४ वर्ष ७१ दिनमा इटालीका लियोनार्दाे बोनुस्सी युरोकपको फाइनलमा गोल गर्ने सबैभन्दा बढी उमेरका खेलाडी बनेका छन् । यस्तै, समग्रमा मुख्य प्रतियोगितामा गोल गर्ने भने सबैभन्दा बढी उमेरका दोस्रा खेलाडी बनेका छन् ।