
महाकाली करिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिंकर सडकखण्डमा नेपाली सेनाले दुईतिरबाट ट्रयाक खोल्न सुरु गरेको छ । दुम्लिङ र गागाबाट ट्रयाक खोल्न थालिएको हो ।सेनाले व्यास गाउँपालिका– १, को छाँगरू गागाबाट सडक खन्न थालेको छ। यसअघि व्यास गाउँपालिका– ३, तुसारपानी हुँदै वडा नम्बर २ को दुम्लिङ, कल्जु, आतुङती, तम्बाकुलगायतको ठाउँमा मात्र काम हुँदै आएको थियो।
दार्चुला–टिंकर ७९ किलोमिटर सडकको ट्रयाक खुलाउन सेनाको निर्माण दल जुटेको छ। व्यास गाउँपालिका– ३, तुसारपानीदेखि निर्माणको जिम्मा पाएको सेनाले हालसम्म १५.२ किलोमिटर ट्रयाक खोलेको छ। नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार ०८०/०८१ मा १३.४ किलोमिटर सडकको ट्रयाक खोलिएकामा दुई किलोमिटर स्तरोन्नति भइसकेको छ। चालू आर्थिक वर्षमा १.८ किलोमिटर ट्रयाक खोलिएको तथा १.२ किलोमिटर स्तरोन्नति भएको छ।
बजेट अभावका कारण द्रुत गतिमा काम हुन सकेको छैन। चालू आवमा रु. नौ करोड मात्र प्राप्त भएको थियो। बजेट अभावमा निर्माण बन्द हुने अवस्था आएपछि सरकारले थप रु. पाँच करोड व्यवस्था गरेको उनले जानकारी दिए।पछिल्लोपटक प्राप्त बजेटबाट व्यास गाउँपालिका– १, छाँगरूमा क्याम्प निर्माण, एक्स्काभेटर, कम्प्रेसर मेसिन जिलेटिनलगायत अत्यावश्यक उपकरण र अन्य निर्माण सामग्री ढुवानीमा सेना जुटेको छ।
नेपाली सेनाले कडा चट्टानी भाग रहेको तुसारपानीनजिक फतङगाडमा दुई सय मिटर ट्रयाक खोलेको छ। व्यास गाउँपालिका–२, आतुङ्ती क्षेत्रमा पाँच सय मिटर र तम्बाकु क्षेत्रमा पाँच सय मिटरभन्दा बढी नयाँ ट्रयाक निर्माण गरिएको छ।
व्यास गाउँपालिका– ३, तुसारपानीदेखि वडा नम्बर २ को माल, कोठधार, सगनाडी, दुम्लिङ, कल्जु र तम्बाकु क्षेत्रमा सडक निर्माणकार्य भइरहेको बताइएको छ । सेनाले सडक निर्माणको जिम्मा लिएको सडकखण्डको शून्यविन्दुदेखि पाँच किलोमिटर सडकमा माघ अन्तिम सातादेखि सवारी साधन सञ्चालन भएका छन् । योे सडकअन्तर्गत तुसारपानीदेखि मालगाउँसम्म गाडीमा यात्रा गर्न सकिन्छ ।
आर्थिक वर्ष ०७७/७८ देखि सडक निर्माण थालेको सेनाले हालसम्म १५ किलोमिटर मात्र ट्रयाक खोलेको छ । बजेट अभावकै कारण पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य पूरा नभएको निर्माणमा संलग्न एक इन्जिनियरले बताए ।