
सरकारले सन् २०१० मा नेपाललाई कुष्ठरोग उन्मूलनका रूपमा घोषणा गरेको थियो । तर, १६ वर्ष पुग्दा पनि यो रोग नियन्त्रण हुन सकेको छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार नेपालमा हाल दुई लाख कुष्ठरोगका बिरामी छन् । तर, तीमध्ये कतिपय बिरामी उपचारको पहुँचमा समेत नभएको अनुमान गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले कतिपयले आफूलाई समाजले हेयका दृष्टिले हेर्ने डरले रोग नखुलाएको हुन सक्ने अनुमानसमेत गरेको छ । तथ्यांकअनुसार नेपालमा हरेक वर्ष दुई हजार ८६७ नयाँ बिरामी देखा पर्छन् । अझ कतिपय बिरामी समाजमा बदनाम हुने डरमा खुल्दैनन् । महाशाखाको तथ्यांकअनुसार सन् २०२३ मा मात्र दुई हजार ५२२ जनामा कुष्ठरोग देखिएको थियो । त्यसमध्ये एक हजार ४९ महिला थिए ।
कुष्ठरोग निवारणमा देखिएका समस्याबारे छलफल गर्न राष्ट्रिय कुष्ठरोग सम्मेलन, २०२५ बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले उट्घाटन गरेको सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनमा यस क्षेत्रमा काम गर्दै आइरहेका संघसंस्था र स्थानीय तहहरूको सहभागिता छ । हाल विश्व स्वास्थ्य संगठन, सासाकावा हेल्थ फाउन्डेसनलगायतले नेपालमा कुष्ठरोग निवारणका लागि सहयोग गर्दै आइरहेका छन् ।
स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटाका अनुसार कुष्ठरोगबाट पीडित अधिकांश मानसिक रोगको सिकारसमेत भएका छन् । मानसिक रूपमा हुने डर, त्रास र भयका कारण व्यक्तिलाई समाजमा अस्वीकृत हुने डर तथा अन्य व्यक्तिले आफूलाई नकारात्मक दृष्टिले हेरेका होलान् भन्ने हीन भावनाको त्यस्तो समस्या देखिन थालेको हो । ‘नेपालमा कुष्ठरोग गम्भीर अवस्थामै छ, यसले एउटा शारीरिक समस्या मात्र नभई व्यक्तिको सामाजिक जीवनमा समेत व्यापक असर पार्ने गरेको छ,’ सचिव देवकोटाले भने, ‘सरकारले सन् २०३० सम्म कुष्ठरोगमुक्त गर्ने अभियान लिएको छ ।’
यसअघि सरकारले ०६६ मा विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम कुष्ठरोगलाई जनस्वास्थ्य समस्याका रूपमा नरहेको घोषणा गरेको थियो । तैपनि अझै कतिपयले कुष्ठरोगका बिरामीलाई हेयको दृष्टिले हेर्ने गरेका कारण लुक्नुपर्ने बाध्यता रहेको बताउँदै आएका छन् । समयमै उपचार सुरु गरेर कुष्ठरोगबाट मुक्त भएका शंकर पन्तले अहिले पनि कुष्ठरोगीलाई समाजमा हेलाँ र भयको दृष्टिले हेर्ने गरिएको बताए । ‘हाम्रो समाजमा कुष्ठरोगीलाई निकै नराम्रो तरिकाले हेरिन्छ, समाजको दृष्टिकोणमा समेत परिवर्तन आउन नसक्दा यो रोग थप फैलँदो छ, यो सरुवा रोग हो, तर समाजको डरले बिरामीले नभन्दा फैलिने डर छ,’ उनले भने, ‘यदि लक्षण देखिँदाबित्तिकै उपचार सुरु गर्ने हो भने यो सहजै निको हुन्छ ।’
नेपालले कुष्ठरोग उन्मूलनसम्बन्धी विश्वव्यापी लक्ष्यअनुरूप सन् २०३० भित्र कुष्ठरोग उल्मूलन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । तर, पछिल्लो समय यस रोगका बिरामीको संख्या बढ्दै जाँदा चुनौती थपिएको छ । नेपालमा हाल १८ वटा जिल्लामा मापदण्डभन्दा बढी ( प्रतिदश हजार जनसंख्यामा एकजना) कुष्ठरोग लागेका व्यक्तिहरू छन् । त्यसमध्ये सबैभन्दा बढी मधेश प्रदेशमा आठमध्ये सात जिल्ला र सबैभन्दा कम गण्डकी प्रदेशमा कुष्ठरोगका बिरामी फेला परेका छन् ।
सरकारले राष्ट्रिय कुष्ठरोग रणनीति (०७८–८२) मा कुष्ठरोग उल्मूलन तथा त्यसबाट पर्ने असरको न्यूनीकरणका लागि तीन तहमा अभ्यास गरिरहेको छ, तर त्यो पुग्दो मात्रामा छैन । हाल नेपालमा कुष्ठरोगबाट तीस हजार व्यक्ति अपांगता भएका छन् । सरकारले विश्व स्वास्थ्य संगठनको सहयोगमा कुष्ठरोगका कारण बिरामी परेका व्यक्तिलाई निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । तर, हालसम्म पनि कुष्ठरोगलाई पूर्वजन्मको पापका रूपमा लिने गरेकाले पनि कतिपयले रोग लुकाएको मन्त्रालयको निष्कर्ष छ ।
नेपालले सन् २०१० मा राष्ट्रियस्तरमा जनस्वास्थ्य समस्याका रूपमा कुष्ठरोग निवारण घोषणा गरेको थियो । कुष्ठरोगको विश्वव्यापी रणनीति (२०२१–३०) का आधारमा नेपालले शून्य कुष्ठरोगका लागि राष्ट्रिय मार्गचित्र (२०२१–३०) र राष्ट्रिय कुष्ठरोग रणनीति (२०२१–२५) तयार गरेको छ । यसअघि २०१९ र ०२३/२४ बिचको समयावधिमा वार्षिक कुष्ठरोगका बिरामीको संख्यामा २५ प्रतिशत, नयाँ बालबालिकामा कुष्ठरोग पत्ता लाग्ने दर ४२ प्रतिशत र नयाँ कुष्ठरोगका बिरामीमा १५ वर्षमुनिका बालबालिकाको संख्या ४८ प्रतिशतले घटेको महाशाखाले जनाएको छ । नेपालमा हाल ३५३ पालिकामा कुष्ठरोग शून्य छ । अझै पनि धेरै पालिकामा कुष्ठरोगका बिरामी रहेकाले विभिन्न दाताहरूको सहयोगमा यससम्बन्धी कार्यक्रम पनि सञ्चालन भइरहेको छ ।
यसकारण नियन्त्रण हुन सकेन कुष्ठरोग
नेपालले सन् २०१० मा राष्ट्रियस्तरमा जनस्वास्थ्य समस्याका रूपमा कुष्ठरोग निवारण भएको घोषणा गर्यो । तर, नारामा उन्मूलन गरे पनि व्यवहारमा पर्याप्त कार्य गरिएन । हाल नेपालमा यो रोग नियन्त्रणका लागि दक्ष जनशक्तिको कमी रहेको महाशाखाका प्रमुख डा. चन्द्रभाल झाले बताए । ‘म आफैँ पनि यही रोगको डाक्टर हुँ, तर काम गर्न कठिन भइरहेको छ,’ उनले भने, ‘कुष्ठरोगप्रति सामाजिक विभेद छ, राज्यबाट पनि पर्याप्त काम हुन सकेको छैन ।’
डा. झाका अनुसार कुष्ठरोग ह्यान्सेन रोगको नामले पनि चिनिन्छ । यो एक प्रकारको कम संक्रामक रोग हो, जुन माइकोब्याक्टेरियम लेप्रे नामक कीटाणुका कारण लाग्दछ । उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्न सक्छ । यो रोग बहुऔषधि उपचार विधिद्वारा निको हुन्छ । समयमै उपचार नगरेमा यो रोगले छाला, स्नायु, हातगोडा र आँखामा गम्भीर वा स्थायी क्षति पुर्याउने उनले बताए ।
कुष्ठरोग निवारण अभियानलाई प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी ओलीले कुुष्ठरोग निवारण अभियानलाई प्रभावकारी बनाउनुुपर्नेमा जोड दिएका छन् । ‘नेपाल कुुष्ठरोग सम्मेलन’ उद्घाटन सत्रलाई बिहीबार सम्बोधन गर्दै उनले नेपालमा प्रति १० हजारमा एकभन्दा तलको संख्यामा कुुष्ठरोगी रहनु सुधारात्मक भए पनि रोग पूर्ण उन्मूलन नभएसम्म आफूहरू सन्तुुष्ट नहुने बताए । उनले आहार–बिहार र हेरचाहलाई सही रूपमा गरेर स्वस्थ रहन सकिने र कुुष्ठरोगजस्ता संक्रामक रोग लागिहालेमा नियमित उपचार गर्ने कार्यलाई जागरणकै रूपमै सञ्चालन गर्न आग्रह गरे । ओलीले कुुष्ठरोगीलाई हेलाँहोचो नगर्न कानुनमा संशोधन गर्ने र रोग सर्नबाट पनि बच्ने उपायका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताए । उनले रोग लुुकाउनुुहुँदैन भन्ने सन्देशसहित आमसञ्चार र सूचना प्रविधिका माध्यमबाट कुुष्ठरोग निवारणका लागि जागरण फैलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिए ।