१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २६ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख २६ शुक्रबार o९:४६:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक डम्बर खतिवडालाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २६ शुक्रबार o९:४६:oo

पार्टी र जनसंगठनका अधिवेशनहरूमा किन झडप हुन्छन् ?
जबसम्म कुनै दल क्रान्ति या आन्दोलनमा हुन्छ, त्यतिखेर नेतादेखि कार्यकर्तासम्म सबै एउटै उद्देश्यका लागि लडिरहेका हुन्छन् । त्यतिखेर देश र जनताको हित सोचेरै लडिन्छ । तर, जब पार्टी सत्तामा पुग्छ, तब शक्ति हत्याउन विभिन्न गुट, उपगुट बन्छन् । शक्तिशालीले कमजोरलाई पाखा लगाउन या धपाउन अनेक हर्कत गरिन्छन् । भीम रावलहरूलाई पार्टीबाट फालिएको घटना त हामी सबैले देखेकै छौँ । दलका गुट, उपगुट राजनीतिक संस्कृति, मर्यादा र विवेकमा आधारित हुन्जेल समस्या हुँदैन । जब मर्यादा नाघिन्छ तब झडप हुन थाल्छन् ।

दलहरूमा गुट, उपगुटको राजनीति मौलाउनुको कारण के होला ?
यो हाम्रो मात्र नभई विश्व राजनीतिकै समस्या हो । यो राजनीतिक संस्कृतिको प्रश्न पनि हो । राजनीतिमा शक्ति संघर्ष जायज नै मानिन्छ । तर, त्यो कतिसम्म ? भन्ने प्रश्न भने बाँकी नै रहन्छ । कुनै खास घटनाका कारण कसैको राजनीतिक जीवन समाप्तै पार्ने क्रममा यस्ता गुट, उपगुटको जन्म हुन्छ र शक्तिको आडमा ती मौलाउँदै जान्छन् । 

यस्ता गुट, उपगुट पार्टी नेतृत्वकै कारण जन्मिन्छन् कि आफैँ बन्छन् ? 
मूल नेतृत्वकै कारण गुट, उपगुट सिर्जना हुने हुन् । यद्यपि, त्यसका लागि उसले प्रत्यक्ष निर्देशन नै दिएको भने नहुन पनि सक्छ । हाम्रो राजनीतिमा हेर्दा यहाँका हरेक दलमा गुटविना अडिनै नसक्ने अवस्था देखिन्छ । विगतदेखि वर्तमानसम्मको नेपाली राजनीतिलाई नियाल्दा पनि यहाँका हरेक पार्टीमा गुट, उपगुट थिए, छन् र रहनेछन् भन्दा हुन्छ । हिजोदेखि आजसम्मका कांग्रेस, एमाले, माओवादीलगायत दलमा गुटहरूको बलियो अस्तित्व देखिन्छ । राजावादीदेखि मधेसवादी दलहरूमा पनि त्यही अवस्था देखिन्छ । त्यसैले, दलहरूमा गुट, उपगुट नेताहरूको अस्तित्वरक्षाका लागि खडा गरिन्छन् ।