मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ असार २२ मंगलबार १७:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्रीले सांसदलाई गाली गरेको भिडियो हटाउने सहमतिपछि प्रदेश १ सभाको अवरोध हट्यो

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ असार २२ मंगलबार १७:०६:००

मन्त्रीले सांसदलाई गाली गरेको भिडियो रेकर्डबाट हटाउने सहमति भएपछि प्रदेश १ सभाको अवरोध हटेको छ । विपक्षी दल माओवादी केन्द्रले आफ्ना सांसद मोहनकुमार खड्कालाई मर्यादित रोस्ट्रमबाटै प्रदेश १ सरकारका भौतिक योजनामन्त्री अम्बिरबाबु गुरुङले अमर्यादित शैलीमा गाली गरेको भन्दै प्रदेश सभा अवरुद्ध गर्दै आएको थियो । 

ओखलढुंगाका सांसद मोहनकुमार खड्कालाई गाली गरेको भन्दै १४ असारदेखि प्रदेश सभा बैठक अवरुद्ध हुँदै आएको थियो । मंगलबार बसेको प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको लामो छलफलपछि सरकार पक्ष मन्त्रीको भनाइ रेकर्डबाट हटाउन सहमत भएको थियो । उक्त सहमतिपछि माओवादी केन्द्रले बैठक सञ्चालन हुन दिएको हो । 

दिउँसो १ बजेका लागि बोलाइएको बैठक सहमतिका लागि साढे तीन बजेसम्म सारिएको थियो । मंगलबारको बैठकमा सामाजिक विकास मन्त्रालयसँगको बजेट विनियोजनबारे छलफल भएको छ । 

बैठकको सुरुमै सभामुख प्रदीपकुमार भण्डारीले मन्त्रीले सांसद खड्काविरुद्ध बोलेका सबै भनाइ रेकर्डबाट हटाउन प्रदेश सभा सचिवालयलाई निर्देशन गरे । उनले सांसदहरूलाई संसदमा बोल्दा मर्यादाको ख्याल गर्न पनि निर्देशन गरे । 

सुरुमा संसद्को अवरोध फुकाउन सरकारले चासो दिएको थिएन । तर, निरन्तर संसद् बैठक अवरोध भएपछि सरकारले सांसद र मन्त्री दुवैको भनाइ रेकर्डबाट हटाउनुपर्ने भनेको थियो । तर, माओवादी केन्द्रले सांसदले सरकारलाई सचेत गराउने अधिकार भएकाले रेकर्ड हटाउन नहुने अडान लिएको थियो ।