१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ असार २१ सोमबार ०९:३८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मध्यमर्स्याङ्दीमा विद्युत् उत्पादन बन्द

Read Time : < 1 मिनेट
२०७८ असार २१ सोमबार ०९:३८:००

वर्षासँगै आएको बाढीले लमजुङमा रहेको ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको  विद्युत् उत्पादन बन्द भएको छ । बाढीले १ सय ३२ केभी प्रसारण लाइनको ९ नम्बर टावर बगाएपछि शनिबार रातिदेखि नै विद्युत् उत्पादन बन्द भएको आयोजना प्रमुख शिवकुमार साहले बताए ।

निरन्तरको वर्षापछि आएको पहिरोले ढालेको प्रसारण लाइनको टावर बाढीमा बगेको छ । क्षतिग्रस्त टावरको पुनर्निर्माण गरी प्रसारण लाइन सुचारु गराउन केन्द्रीय कार्यालय र पोखरा ग्रिड शाखाको टोली जिल्ला आएको प्राधिकरणले जनाएको छ । यस्तै, भुलभुलेमा रहेको ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् केन्द्रको उत्पादन पनि बन्द छ । गत असार १ गतेको बाढीले संरचनामा क्षति भएपछि बन्द भएको उत्पादन अझै सुचारु हुन सकेको छैन ।  

बाढीपहिरोले बिजुलीका पोलमा क्षति पुर्‍याउँदा लमजुङ विद्युत् उपभोक्ता संस्थामार्फत विद्युत् वितरण गरिएको ३१ हजार घरधुरी शुक्रबार रातिदेखि अन्धकार छ । नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रकी प्रमुख यमकुमारी गुरुङले डुम्रेबाट गोरखा हुँदै लमजुङ आउने विद्युत् प्रणाली ३३ केभी लाइनको चारवटा पोल ढल्दा विद्युत् आपूर्ति बन्द भएको बताइन् ।

उनका अनुसार गोरखाको पालुङटार र तनहुँको चाम्बास क्षेत्रका चारवटा पोल ढलेका थिए । लमजुङ विद्युत् उपभोक्ता संस्थाका अध्यक्ष श्रीकान्त घिमिरेका अनुसार संस्थामातहतको ११ केभी लाइनको २१ वटा विद्युत्का पोल ढलेका छन् ।