मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दिपेश शाही काठमाडाैं
२०७८ असार १० बिहीबार ०५:४१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

खनाल–नेपालनिकट युवाहरूको दल नेकपा (एकीकृत)ले पायो प्रमाणपत्र

Read Time : > 2 मिनेट
दिपेश शाही, काठमाडाैं
२०७८ असार १० बिहीबार ०५:४१:००

अध्यक्ष जीवन राई, चुनाव चिह्न कलम

विभाजनउन्मुख सत्तारुढ एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका युवाहरूले नयाँ दल दर्ताका लागि दिएको निवेदनलाई निर्वाचन आयोगले सदर गरेको छ । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) रहेको उक्त दलले चुनाव चिह्न कलम प्राप्त गरेको छ । पार्टीको अध्यक्षमा खनाल–नेपाल समूहका युवा जीवन राई रहेका छन् ।

प्रमाणपत्र पाएका छौँ, के गर्ने उहाँहरू (खनाल–नेपाल)ले निर्णय गर्नुहुन्छ होला : जीवन राई, अध्यक्ष, नेकपा एकीकृत

पार्टी दर्ता गरेको विषय सञ्चारमाध्यममा हल्ला भएपछि माधव नेपालले चासो व्यक्त गर्नुभएको थियो । कोसँग सल्लाह गरेर दर्ता गराउनुभएको हो, के उद्देश्य हो ? सोध्नुभएको थियो । प्रमाणपत्र पाएका छौँ, के गर्ने भन्नेबारे उहाँहरूले निर्णय गर्नुहुन्छ होला ।

निवेदन दिएको दुई महिनापछि बुधबार आयोगले छलफलका लागि बोलाएको र दल दर्ता स्वीकृत गरेर प्रमाणपत्र दिएको नयाँ दर्ता भएको पार्टीका अध्यक्ष राईले नयाँ पत्रिकासँग बताए । ‘हामीले ७ वैशाखमा दिएको निवेदनमा आयोगले गत ३० जेठमा नै निर्णय गरिसकेको रहेछ । बुधबार छलफलका लागि बोलाइएको थियो । आयोगका पदाधिकारीसँग छलफल भएपछि दल दर्ताको निर्णय भइसकेको र प्रमाणपत्र लिएर जानुहोस् भन्नुभयो,’ अध्यक्ष राईले भने ।

आयोगका अनुसार दलको दर्ता नम्बर १६३ रहेको छ भने पार्टीको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा रहेको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम दललाई आयोगमा दर्ता गर्ने निर्णय भएको आयोगको भनाइ छ ।

एमालेभित्र विवाद बढ्दै गएपछि गत ७ वैशाखमा राईको नेतृत्वमा खनाल–नेपाल समूहका युवाले पाँच पदाधिकारीसहित २५ सदस्यीय केन्द्रीय कमिटी प्रस्ताव गर्दै आयोगमा निवेदन दर्ता गराएका थिए । पार्टीको उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल छन् । 

यद्यपि, राईले दल दर्ताका लागि एमालेका शीर्ष नेताहरूसँग सल्लाह नभएको बताए । ‘पार्टीका शीर्ष नेताहरूसँग यस विषयमा कुनै सल्लाह भएको होइन । हामीले पार्टी दर्ता गरेको विषय सञ्चारमाध्यममा हल्ला भएपछि माधव नेपालले चासो व्यक्त गर्नुभएको थियो । कोसँग सल्लाह गरेर दर्ता गराउनुभएको हो, के उद्देश्य हो भनेर सोध्नुभएको थियो,’ राईले भने, ‘त्यसअघि उहाँहरूसँग कुनै सल्लाह भएको होइन । प्रमाणपत्र पाएका छौँ, के गर्ने भन्नेबारे त उहाँहरूले निर्णय गर्नुहुन्छ होला ।’ उनले नितान्त केही युवाहरूको पहलमा मात्रै पार्टी दर्ता भएकाले यसलाई एमालेको एकता वा विभाजनसँग जोडिरहन आवश्यक नरहेको बताए ।

पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार जोकोही नयाँ पार्टीमा जान सक्छ : रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त 

जुन पार्टीमा बस्न चाहेको हो, सो पार्टीमा प्रवेश गरेर सोही पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार त्यहाँ बस्न सकिन्छ । अर्को भनेको दुईवटा पार्टीको रूपमा एकता प्रक्रियामार्फत गएर पनि एकै ठाउँमा हुन सकिन्छ । 
 

अध्यक्ष राई करिब दुई दशक एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको राजनीतिमा संलग्न थिए भने अघिल्लोपटक वरिष्ठ नेता नेपाल समूहबाट उपाध्यक्षमा उठेर पराजित भएपछि जिम्मेवारीविहीन भएका थिए । उनले आफू अहिले पनि पार्टीको कुनै जिम्मेवारीमा नरहेको र नेपालको जानकारीविनै पार्टी दर्ता गरेको दाबी गरे । 

उनीहरूले सुरुमा नेकपा एकीकृत एमाले र चुनाव चिह्न सूर्यभित्र तारा प्रस्ताव गरेका थिए । तर, आयोगले अस्वीकार गरेपछि मैनबत्ती, दियो, मोबाइल चुनाव चिह्न लिन खोजेका थिए । ती सबै चिह्न अरूसँग जुधेपछि अन्तिममा कलम चिह्न रोजिएको राईले बताए । गत ६ जेठमा सम्पन्न राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाल समूहका तर्फबाट स्वतन्त्र उम्मेदवारका रूपमा विपक्षी गठबन्धनका उम्मेदवार डा. खिमलाल देवकोटा पनि कलम चिह्नबाटै चुनाव लडेर विजयी भएका थिए । 

स्रोतका अनुसार प्रधानमन्त्री ओलीसँगको अन्तर्संघर्षमा कुनै पनि वेला नेपाल समूह अलग्गिनुपर्ने स्थिति आउन सक्ने भएकाले पूर्वयोजनाअनुरूप नै नेपालनिकट युवाहरूले आयोगमा पार्टी दर्ता गराएका हुन् । ‘कार्यदलका नाममा अलमल्याउँदै जाने र चुनाव आउन थालेपछि दल दर्ता गर्नै नमिल्ने अवस्थामा ओलीका तर्फबाट दलविहीन बनाउने षड्यन्त्र पनि हुन सक्छ भनेरै पार्टी दर्ता गरिएको हो,’ दर्ता प्रक्रियामा संलग्न अर्का एक पदाधिकारीले भने ।

तर, निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार एमालेको खनाल–नेपाल समूह यदि उक्त पार्टीमा बस्न चाहेमा अध्यक्ष राईले उनीहरूलाई पार्टी प्रवेश वा पार्टी एकता प्रक्रियामार्फत जानुपर्ने हुन्छ । ‘जुन पार्टीमा बस्न चाहेको उक्त पार्टीमा प्रवेश गरेर उक्त पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार बस्न पनि सकिन्छ । अर्को भनेको दुईवटा पार्टीको रूपमा एकता एकीकरण प्रक्रियामार्फत गएर पनि एकै ठाउँमा हुन सकिन्छ,’ आयुक्त भण्डारीले भने ।

यसअघि नेकपामा विवाद हुँदा ओलीनिकट युवाहरूले एमाले दर्ता गरेका थिए । नेकपा एकता भंग भएपछि एमाले पुनः ब्युँतिएपछि दर्ता भएको एमाले स्वतः खारेज भएको थियो । अहिले उनको दललाई आयोगले अर्कै नाम दिएको छ ।