मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार ८ मंगलबार
  • Tuesday, 14 January, 2025
गणेश लम्साल विराटनगर
२o७८ असार ८ मंगलबार o९:४९:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

दलित समुदायमाथि अत्याचार गर्नेलाई कारबाहीको माग

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७८ असार ८ मंगलबार o९:४९:oo

भोजपुर, झापा र मोरङमा दलित समुदायमाथि भएको अमानवीय घटनाको विरोध गर्दै दोषीलाई कारबाही गर्न प्रदेश १ का डेढ सय दलित अगुवाहरूले सरकारसँग माग गरेका छन् । संघीय सांसद, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थामा आबद्ध डेढ सय दलित अगुवाहरूले पछिल्लो समय भोजपुर, झापा र मोरङमा गत जेठ महिनादेखि दलित समुदायमाथि भएको अमानवीय अत्याचारको विरोध गर्दै दोषीलाई कानुनअनुसार कारबाहीको माग गरेका हुन् । 

राष्ट्रिय सभाका पूर्वसांसद खेम नेपाली, संविधानसभा सदस्य अनिता परियार, पूर्वराज्यमन्त्री जसमाया गजमेर, सांसद उमिता बराइलीसहित झापा, मोरङ, सुनसरी, उदयपुर, पाँचथर, इलाम, तेह्रथुम, धनकुटालगायतका जिल्लाका अधिकारकर्मी, जनप्रतिनिधि गरी डेढ सय अगुवाले सोमबार संयुक्त विज्ञप्ति निकाल्दै दोषीलाई कारबाहीको माग गरेका हुन् । 

दलित अगुवाहरूले छुवाछुतमुक्त राष्ट्र नेपालमा कानुनी रूपमा समाज विभेदमुक्त भए पनि व्यावहारिक रूपमा अझै दलित समुदायमाथि अमानवीय व्यवहार भइरहनु विधिको शासनको उल्लंघन र चरम दण्डहीनता भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूका अनुसार संविधान र कानुनले दण्डनीय जघन्य अपराध घोषणा गरिसक्दा पनि अझै दलितहरूले अन्तरजातीय विवाहका नाममा विस्थापित हुनुपर्ने, ज्यान गुमाउनुपर्नेलगायतका कहालीलाग्दा घटना बेहोर्ने क्रम बढ्दो रहेको जनाएका छन् । शारीरिक र मानसिक रूपमा अमानवीय व्यवहार भोगेका पीडित दलितहरूले न्याय माग्न जाँदा कानुन कार्यान्वयन गर्ने निकायले कडा सजाय दिलाउनको साटो मेलमिलाप गराउने, जाहेरी दर्ता नगर्ने, गरे पनि आरोपीलाई पक्राउ नगर्ने र फितलो अनुसन्धान गर्ने गरेको अगुवाहरूले आरोप लगाएका छन् । 

गत १ जेठमा मोरङको कानेपोखरी गाउँपालिका–५ चिसाङ बस्तीमा छिमेकीहरूले जातीय गालीगलौज गर्दै कुटपिट गर्दा तीन महिनाकी गर्भवतीसमेत रहेकी शोभा दर्जीले मानसिक सन्तुलन गुमाएकी छन् । तर, प्रहरीले किटानी जाहेरी दर्ता गरेर पनि अझै आरोपीलाई पक्राउ गरेको छैन । उल्टै डरत्रास देखाउँदै प्रलोभनमा पारेर जनप्रतिनिधिहरूको सहयोगमा जघन्य अपराधको घटना मिलापत्र गराउने प्रयास भइरहेको छ ।

झापाको अर्जुनधारा नगरपालिका–११ सालबारीमा २१ वर्षीया तुलसा विश्वकर्माले हल्दिबारी–२ का बलराम कट्टेलसँग अन्तरजातीय विवाह गरेपछि अलपत्र हुनुपरेको छ । विवाह भएको एक वर्षपछि बच्चा जन्मिएर डेढ महिनाको भइसकेपछि केटा पक्षका आफन्तले तल्लो जातको भनेर उनलाई सामाजिक बहिष्कार गरेका छन् । श्रीमान्ले समेत उनलाई छाडेर भागेका छन् । पीडितले प्रहरीसमक्ष ‘श्रीमान् खोजी पाऊँ’ भनी प्रहरीमा निवेदन दिए पनि कुनै पहल भएको छैन ।

उमेर नपुगेको बहानामा शारीरिक र मानसिक यातना दिएर प्रेमिकाबाट अलग गराएपछि भोजपुरको षडानन्द नगरपालिका–१४ का संगम ठटाल गत वर्ष १४ जेठमा मृत फेला परेका थिए । वडाध्यक्ष झम्कबहादुर रोक्काले विवाह कायम हुन नदिन उनकै निर्देशनमा केही स्थानीयहरू परिचालन गरेर संगमलाई कुटपिट तथा ज्यान मार्ने धम्की दिँदै जातीय गालीगलौज गर्दै केटीलाई जबरजस्ती छुटाएर लगेका थिए । केटीलाई छुटाएर लगेको चार दिनपछि रूखमा झुन्डिएको अवस्थामा फेला परेका थिए । आफन्तले जातीय विभेदकै कारण संगमको ज्यान गएको भन्दै वडाध्यक्षसमेतलाई आत्महत्या दुरुत्साहन र जातीय भेदभाव छुवाछुत कसुरअनुसार कानुनी कारबाही गर्न किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गर्न मानेको छैन ।