१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार ११:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङका दुई सय स्वास्थ्यकर्मीले अघिल्लो वर्षकै कोरोना जोखिम भत्ता पाएनन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:४३:oo

कोरोना महामारीमा जोखिम मोलेर फ्रन्टलाइनमा काम गर्ने लमजुङका दुई सयजना स्वास्थ्यकर्मीले अघिल्लो वर्षको कोरोना जोखिम भत्ता पाएका छैनन् । कोरोनाको जोखिम मोलेर नागरिकहरूको उद्धारमा खटिएका लमजुङका स्वास्थ्यकर्मीले जोखिम भत्ताको रकम नपाएका हुन् । 

जिल्लाको सुन्दरबजार नगरपालिकाका एक सयजना स्वास्थ्यकर्मीले पहिलो चरणको कोरोना उपचारमा संलग्न हुँदाको जोखिम भत्ताको रकम पाएका छैनन् । नगरपालिकाले स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने निर्णय गरे पनि हालसम्म जोखिम भत्ता नपाएको सुन्दरबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमेश्वर पियाले बताए । 

यस्तै, राइनास नगरपालिकामा कार्यरत ५२ जना स्वास्थ्यकर्मीले पनि अघिल्लो वर्षकै जोखिम भत्ता पाएका छैनन् । राइनास नगरपालिका अन्तर्गत धमिलीकुवा स्वास्थ्यचौकीका प्रमुख कल्पना भण्डारीले अघिल्लोपटक आफ्नै ज्यानको बाजी राखेर रातदिन नभनी काम गरे पनि जोखिम भत्ता नपाएको बताइन् । उनले भनिन्, ‘सरकारले जोखिम भत्ता दिने भने पनि स्थानीय तहले दिएन ।’ 

काम गरेको अवधिको रकम दिनुस् भनेर धेरै पटक नगरपालिकामा धायौ तर कोरोनाको नाममा एक रुपैयाँ पनि रकम नपाएको भण्डारीको गुनासो छ । जिल्लाको दोर्दी गाउँपालिकामा काम गर्ने ४८ जना स्वास्थ्यकर्मीले पनि अघिल्लो वर्षकै जोखिम भत्ता पाएका छैनन् । 

कार्यसम्पादनका आधारमा रकम दिने भनेर निर्णय गरे पनि कार्यान्वयन नगरेकाले हालसम्म स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको दोर्दी गाउँपालिकाका हेल्थ असिस्टेन्ट सुजन सुनारले बताए । कोरोना महामारीको समयमा नागरिकको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई प्रदान गर्ने भनिएको जोखिम भत्ताको रकम विभिन्न बहानाबाजी गर्दै स्थानीय तहले नदिएको स्वास्थ्यकर्मीको गुनासो छ । 

यस्तै, जिल्लाको सदरमुकाम बेँसीसहरमा रहेको बेँसीसहर नगरपालिकाले पनि नगरपालिकामा कार्यरत ५९ जना स्वास्थ्यकर्मीलाई एक महिना (०७७ वैशाख)को मात्र २५ प्रतिशत जोखिम भत्ता दिएको छ भने मर्स्याङ्दी गाउँपालिकामा  कार्यरत ५७ जना स्वास्थ्यकर्मीलाई वैशाख महिनाको मात्रै २५ प्रतिशत जोखिम भत्ता दिएको छ । यता जिल्लाको मध्यनेपाल नगरपालिका, क्व्होलासोंथर गाउँपालिका र दूधपोखरी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले भने वैशाखदेखि साउनसम्मको ५० प्रतिशत कोरोना जोखम भत्ता पाएका छन् । 

क्व्होलासोंथर गाउँपालिकाका ४५ जना स्वास्थ्यकर्मीलाई ७ महिनाको कोरोना जोखिम भत्ता दिइएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताए । उनका अनुसार स्वास्थ्यकर्मीले कोरोना जोखिम भत्ताबापत तलबको ५० प्रतिशत रकम पाएका हुन् । मध्यनेपाल नगरपालिका ६४ जना स्वास्थ्यकर्मीले चैतदेखि असारसम्मको रकम पाएका छन् । यस्तै, दूधपोखरी गाउँपालिकाका ३२ जना स्वास्थ्यकर्मीले पनि ०७७ वैशाख  र जेठ महिनाको ५० प्रतिशत कोरोना जोखिम भत्ता पाएको दूधपोखरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर गुरुङले बताए ।

जिल्लाको सुन्दरबजार नगरपालिकामा एक सयजना स्वास्थ्यकर्मीले अघिल्लो वर्षकै १५ लाख रुपैयाँ जोखिम भत्ता बापतको रकम पाएका छैनन् । यस्तै राइनास नगरपालिकाले ५४ जना स्वास्थ्यकर्मीले करिब २२ लाख  रुपैयाँ  कोरोना जोखिम भत्ताबापतको रकम नपाएको स्वास्थ्यकर्मीले बताएका छन् । 
 
    

ad
ad