मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ जेठ २३ आइतबार २२:१८:००
Read Time : > 4 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोना र नेतृत्वको सत्ता चासोले कांग्रेसको १४औँ महाधिवेशन अन्योलमा

वडा तहको अधिवेशन आउन दुई साता बाँकी छ, तर मतदाताको टुंगो छैन 

Read Time : > 4 मिनेट
२०७८ जेठ २३ आइतबार २२:१८:००

 

बाहिर हुन्छ–हुन्छ भन्ने, तर सकेसम्म अड्काएर राख्ने नियत देखियो : रामचन्द्र पौडेल, वरिष्ठ नेता

पार्टीमा जनमत अहिलेको नेतृत्वको विपक्षमा छ । अहिले चुनाव हुने हो भने मैले ठूलो परिवर्तन आउने देखेको छु । त्यसैको असर महाधिवेशनमा परेको छ । परिवर्तनको लहरलाई कसरी रोक्ने भनेर सारा कोसिस भइरहेको छ । आफैँले जित्ने भए मात्रै अधिवेशन गर्ने, नभए नगर्ने भन्ने मानसिकता देखिएको छ । बाहिर हुन्छ–हुन्छ भन्ने, तर सकेसम्म अड्काएर राख्ने नियत देखाइएको छ । 

कार्यतालिका सच्याउनुपर्छ, भदौमा महाधिवेशन हुन्छ, गर्नुपर्छ : विमलेन्द्र निधि, उपसभापति

६७४३ वडामा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम गरेर जिल्ला हुँदै केन्द्रमा संकलन हुने प्रक्रियामा छ । अब सदस्यताको टुंगो लागिसकेपछि महाधिवेशनको प्रक्रिया अघि बढ्छ । तर, केन्द्रीय महाधिवेशनको मिति फेरबदल नहुने गरी अरू कार्यतालिका सच्याउनुपर्छ । संक्रमण र निषेधाज्ञाका कारण छलफलले गति पाएको छैन । तर, भदौमा महाधिवेशन हुन्छ, गर्नुपर्छ । 

महाधिवेशनका लागि कोरोना महामारी मुख्य बाधक बनेको छ : कृष्णप्रसाद सिटौला

महाधिवेशनका लागि कोरोना महामारी मुख्य बाधक बनेको छ । तैपनि पार्टीको महाधिवेशन कुनै पनि तवरले भदौभित्र गर्नैपर्ने अवस्था छ । अहिले क्रियाशील सदस्यताको विषय ठूलो समस्या हो जस्तो लाग्दैन । त्यो त छानबिन समितिले टुंग्याउँछ भन्ने लाग्छ । अर्को खास अवरोध भनेको चाहिँ अहिलेको महामारी नै हो । त्यसलाई चिरेर जाने मुख्य चुनौती हो ।

महाधिवेशनलाई बेवास्ता गर्ने सुविधा छैन, त्यो क्षम्य हुँदैन : डा. शेखर कोइराला

पार्टीको विधान र संविधानले दिएको सबै समयावधि उपभोग भइसकेको छ । भदौमा पनि महाधिवेशन भएन भने पार्टीको वैधानिकता रहँदैन । अब कोरोनाको बहाना बनाएर महाधिवेशनलाई रोक्न छुट छैन । बहाना बनाउनुभयो भने महाधिवेशन गर्ने इच्छाशक्ति नभएको पुष्टि हुन्छ । अहिले सत्ताभन्दा महाधिवेशन टड्कारो हो । महाधिवेशन बेवास्ता गर्ने सुविधा छैन, क्षम्य हुँदैन ।

......

कोरोना महामारीसँगै सत्ताको खेलमा अल्झिँदा कांग्रेसको १४औँ महाधिवेशन फेरि अन्योलमा परेको छ । बढ्दो कोरोना संक्रमण र तरल राजनीतिक घटनाक्रमकोे प्रभाव कांग्रेसको महाधिवेशन तयारीमा देखिएको छ । 

नियमित कार्यकाल सकिएर थप गरेको डेढ वर्षको समयावधिसमेत गुज्रिन थालेपछि फेरि पनि महाधिवेशन हुँदैन कि भन्ने प्रश्न कांग्रेसभित्र उठ्न थालेको छ । शीर्ष नेता पूर्ववत् तालिकाअनुसार नै सैद्धान्तिक रूपमा भदौभित्रै महाधिवेशन गर्न सहमत देखिन्छन् । तर, सुस्त तयारी र महामारी संकटले महाधिवेशन अनिश्चित बनाइराखेको छ । 

कांग्रेसभित्र महाधिवेशनलाई लिएर नेताहरूबीच आरोप–प्रत्यारोप र आंशका छन् । संस्थापन पक्षले कोरोनाका कारण पूर्वतयारीका लागि अनुकूल वातावरण नबनेको बताएको छ । संस्थापनइतर पक्षका नेताहरूले पार्टी नेतृत्वले महाधिवेशन गर्न नचाहेको आरोप लगाउँदै आएका छन् । 

पूर्वनिर्धारित महाधिवेशनको कार्यतालिकाअनुसार वडा तहको अधिवेशनका लागि अब दुई साताको मात्रै समय बाँकी छ । तर, अहिलेसम्म वडाको अधिवेशनका मतदाता अर्थात् क्रियाशील सदस्यताको विवरण नै संकलन भइसकेको छैन । त्यसमाथि उजुरी र छानबिनको प्रक्रिया बाँकी छ । जब कि १३औँ महाधिवेशनमा क्रियाशील सदस्यता छानबिनका लागि मात्रै ६ महिना लागेको थियो ।

सभापति शेरबहादुर देउवाले आफूले समयमै महाधिवेशन गर्न चाहे पनि महामारी र संगठनभित्रको विवादका कारण पूर्वतयारीका काम प्रभावित भएको बताउँदै आएका छन् । तर, वरिष्ठ नेता रामचन्द्र पौडेलले भने महाधिवेशन टार्नका लागि सभापति र उपसभापतिले आफ्नो प्रभाव भएका ठाउँमा जबर्जस्ती विवाद झिक्ने र क्रियाशील सदस्यतादेखि नै कब्जा गर्ने नियत राखेको आरोप लगाएका छन् । पौडेलले बुधबार मात्रै संस्थापनइतरको भेला राखेर भदौमै पार्टीको चुनाव गर्ने गरी प्रक्रिया अघि बढाउन र तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका थिए । 

सभापति देउवाले भदौमै महाधिवेशन गर्नुको अर्को विकल्प नभएको सार्वजनिक अभिव्यक्ति दिए पनि आफैँले पुनः सभापति जित्ने अवस्था नभएसम्म महाधिवेशन नगराउने चाहना रहेको पौडेल पक्षको आरोप छ । ५ पुसमा प्रतिनिधिसभा विघटनपछि दुई धारमा विभाजित देउवा र पौडेल २३ फागुनको नेकपाको एकता भंग गर्ने सर्वोच्चको फैसलापछि एकमुख भएका छन् । त्यसयता प्रधानमन्त्री केपी ओलीको बहिर्गमनका विषयमा दुवै नेता एक ठाउँमा छन् । तर, जब–जब महाधिवेशनको विषय उठ्छ, त्यसवेला देउवा र पौडेलबीच चर्को आरोप–प्रत्यारोप हुन्छ । 

उपसभापति विमलेन्द्र निधिले कोरोना महामारीका कारण तयारीमा केही ढिलाइ भए पनि भदौमै महाधिवेशन गर्नुपर्ने बताए । ‘६७४३ वडामा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम गरेर जिल्ला हुँदै केन्द्रमा संकलन हुने प्रक्रियामा छ । अब सदस्यताको टुंगो लागिसकेपछि महाधिवेशनको प्रक्रिया अघि बढ्छ,’ उनले भने, ‘तर, केन्द्रीय महाधिवेशनको भदौ ७ देखि १० को जुन मिति छ, त्यसमा फेरबदल नहुने गरी अरू कार्यतालिका सच्याउनुपर्छ । मिति फेरबदल नहुने गरी छलफल भइरहेको छ । संक्रमण र निषेधाज्ञाका कारण छलफलले गति पाएको छैन । तर, भदौमा महाधिवेशन हुन्छ, गर्नुपर्छ ।’ उनले वडादेखि स्थानीय तह, प्रदेश र संसदीय निर्वाचन क्षेत्र भएर केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिनुपर्ने भएकाले महामारीबीच त्यो प्रक्रिया कसरी पूरा गर्ने भनेर छलफल भइरहेको बताए ।

तर, वरिष्ठ नेता पौडेल भने पार्टीभित्र नेतृत्व परिवर्तनका लहर चलेकाले त्यसको असर महाधिवेशनमा परेको बताउँछन् । पौडेलले संवैधानिक संटकबाट बचाउनका लागि पनि भदौमा पार्टीको चुनाव हुनैपर्ने बताए । ‘पार्टीमा जनमत अहिलेको नेतृत्वको विपक्षमा छ । अहिले चुनाव हुने हो भने ठूलो परिवर्तन आउने देखेको छु । अहिलेको जसरी पार्टी चल्दैन भनेर कार्यकर्ता परिवर्तनको पक्षमा उभिएका छन् । त्यसैको असर महाधिवेशनमा परेको छ,’ पौडेलले भने, ‘परिवर्तनको लहरलाई कसरी रोक्ने भनेर सारा कोसिस भइरहेको छ । आफैँले जित्ने भए मात्रै अधिवेशन गर्ने, नभए नगर्ने भन्ने मानसिकता देखिएको छ । बाहिर हुन्छ–हुन्छ भन्ने, तर सकेसम्म अड्काएर राख्ने नियत देखाइएको छ ।’ 

नेता सिटौलाले अहिले महाधिवेशनका लागि कोरोना महामारी मुख्य बाधक बनेको बताए । ‘महाधिवेशनका लागि कोरोना महामारी मुख्य बाधक बनेको छ । तैपनि पार्टीको महाधिवेशन कुनै पनि तवरले भदौभित्र गर्नैपर्ने अवस्था छ । अहिले क्रियाशील सदस्यताको विषय ठूलो समस्या हो जस्तो लाग्दैन,’ सिटौलाको भनाइ छ, ‘त्यो त छानबिन समितिले टुंग्याउँछ भन्ने लाग्छ । अर्को खास अवरोध भनेको चाहिँ अहिलेको महामारी नै हो । त्यसलाई कसरी चिरेर जाने भन्ने मुख्य चुनौती हो ।’

केन्द्रीय सदस्य डा. शेखर कोइरालाले भने कोरोनाकै बहानामा महाधिवेशन रोक्न नमिल्ने बताए । ‘पार्टीको विधान र संविधानले दिएको सबै समयावधि उपभोग भइसकेको छ । भदौमा पनि महाधिवेशन भएन भने पार्टीको वैधानिकता रहँदैन । त्यसैले अब कोरोनाको बहाना बनाएर महाधिवेशन रोक्न छुट छैन,’ डा. कोइरालाले भने, ‘सभापतिले बहाना बनाउनुभयो भने महाधिवेशन गर्ने इच्छाशक्ति नभएको पुष्टि हुन्छ । अहिले सत्ताभन्दा पार्टीको महाधिवेशन सबैभन्दा टड्कारो विषय हो । महाधिवेशनलाई बेवास्ता गर्ने सुविधा छैन, त्यो क्षम्य हुँदैन ।’ उनले महामारी रहिरह्यो भने जिल्लाबाटै मतदान गर्ने व्यवस्था गर्नुपर्ने बताए । ‘यस्तो अभ्यास कांग्रेसले ०१४ सालसम्म गरेकै थियो । त्यसैले विगतका अभ्यास र नजिरबाट सिकेर महाधिवेशन गर्नुपर्छ,’ उनले भने । 

महाधिवेशनमाथि छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाउने विषयमा समेत कांग्रेसमा विवाद छ । पार्टीभित्र विपक्षीले केन्द्रीय समितिको माग गरे पनि सभापति देउवाले भने सर्वोच्च अदालतमा सरकारबारेको विषय टुंगिएपछि मात्रै महाधिवेशनबारे छलफल गर्ने भन्दै आएका छन् । 

क्रियाशील सदस्यता छानबिन समितिको संयोजकसमेत रहेका नेता रमेश लेखक अहिले सर्वोच्च अदालतको मुद्दामा केन्द्रित छन् । जसका कारण छानबिनले पनि गति लिएको छैन । केन्द्रीय सदस्य कोइरालाले अहिले पार्टीका लागि महाधिवेशन प्राथमिकताको विषय बन्नुपर्ने बताए । 

यसअघि निर्धारित कार्यतालिकाअनुसार क्रियाशील सदस्यहरूको अन्तिम नामावली तयार भएर त्यसमाथिको छानबिनसमेत भइसक्नुपर्ने हो । तर, अहिलेसम्म ७६ जिल्लाबाट करिब आठ लाख क्रियाशीलको विवरण इन्ट्री मात्रै भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । त्यसमध्ये छानबिन समितिले ६१ जिल्लाका एक सय एक स्थानको सदस्यताको विवरण सार्वजनिक गरेको छ । सिन्धुपाल्चोकमा भने समायोजनको विवादले क्रियाशीलको फारम नै वितरण भएको छैन ।

कांग्रेसले विधानको व्यवस्थाबमोजिम पाँच वर्षमा महाधिवेशन गर्न नसकेपछि संवैधानिक व्यवस्थालाई टेकेर ६ महिना म्याद थप गरी ५ असारमा वडा, ७ असारमा गाउँ–नगर, १ साउनमा प्रदेश सभा क्षेत्रीय, ३ साउनमा प्रतिनिधिसभा क्षेत्रीय र एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला र ६ साउनमा एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो । यस्तै, १० र ११ साउनमा प्रदेश अधिवेशन र ७, ८, ९ र १० भदौमा काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।