१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
अजित अधिकारी काठमाडौं
२०७८ जेठ १५ शनिबार ०९:०४:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

गोदाममा मल, ढुवानी नगर्दा किसानलाई हाहाकार

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७८ जेठ १५ शनिबार ०९:०४:००

यतिवेला कृषि सामग्री कम्पनी लिमिटेडका गोदामहरूमा यथेष्ट मल भण्डारण छ । तर, ढुवानीमा देखिएको समस्याका कारण किसानले सजिलै मल पाउन सकिरहेका छैनन् । कम्पनीमातहतका ४० कार्यालय र त्यहाँबाट मल बिक्री गर्ने स्वीकृति लिएका ४ हजार ७ सय कृषि सहकारीमा मल ढुवानी हुन नसक्दा किसानले मल पाउन नसकेका हुन् ।  

अहिले पहाडी क्षेत्रमा मकै गोडमेल गर्न युरियाको ठूलो माग छ भने तराईमा धानको ब्याड लगाउन युरिया र डिएपी चाहिएको छ । कृषि सामग्रीको ठूलो गोदामबाट तराईका कार्यालयमा मल पुगे पनि पहाडी जिल्लामा मल पुर्‍याउन समस्या देखिएको कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलले बताए । ‘यो वर्ष पर्याप्त मल छ, तर देशभर जारी निषेधाज्ञाले ढुवानी गर्न केही समस्या उत्पन्न भएको छ,’ उनले भने, ‘शाखा कार्यालयहरू हुँदै सहकारीसम्म मल पुग्न समय लागिरहेको छ । सहकारीसम्म आएर मल लैजान किसानहरूले समस्या भोग्नुपरेको छ ।’

गत वर्ष किसानहरूले धान लगाउने वेला युरियाको चर्को अभाव खेपेका थिए । यसपटक भने युरिया, डिएपी र पोटासको आयात र मौज्दात परिमाण मागअनुसार धान्ने गरी व्यवस्था मिलाएको प्रवक्ता पोखरेलले बताए । ‘यसपटक असारमा धान रोप्न किसानले रासायनिक मलको अभाव खेप्नुपर्दैन । चाहिएजति वितरण गर्न सकिन्छ,’ उनले भने ।

कम्पनीका अनुसार अहिले देशभरका गोदाममा १८ हजार मेट्रिकटन युरिया, ४४ हजार ६ सय मेट्रिकटन डिएपी र ४ हजार ४ सय मेट्रिकटन पोटास मौज्दात छ । ग्लोबल टेन्डरमार्फत चीनबाट आयात भएको ३० हजार टनमध्ये १२ हजार टन युरिया भारतको कोलकाता बन्दरगाहबाट आउने क्रममा छ । त्यहाँबाट प्रत्येक २–३ दिनमा दुई र्‍याक (५ हजार टन) युरिया रेलमार्फत नेपाल भित्रिरहेको छ ।

त्यस्तै, बंगलादेशबाट जिटुजी प्रक्रियामार्फत आयात भइरहेको युरियामध्ये अन्तिम खेप १९ हजार ५ सय टन बंगलादेशको चटगाउँ पोर्टबाट हिँडेको छ । सो मल बंगलापोर्टमा दुई दिनमा पुग्ने र त्यहाँ बोरामा प्याक भई नेपालतर्फ आउने प्रवक्ता पोखरेलले जानकारी दिए । बंगलादेशबाट ५० हजार टन युरिया आयातको सम्झौता भए पनि ५२ हजार टन आएको उनले बताए ।

गत वर्ष धान रोप्ने वेलामा चरम अभाव भएपछि आयातको प्रक्रिया थालिएको मल हो यो । गत वर्ष असोज–कात्तिकमा ल्याउने भनिएको बंगलादेशी मल माघ–फागनुदेखि मात्र आयात सुरु भएको थियो । अन्तिम खेपबापतको १९ हजार ५ सय टन अबको दुई हप्तापछि नेपाल भित्रिन सुरु हुने कृषि सामग्रीले जनाएको छ ।

ग्लोबल टेन्डरबाटै ३० हजार टन युरिया चीनबाट पनि आयात हुन लागेको छ । ‘चीनबाट एक–दुई दिनमै मल जहाजमा राखी हिँड्ने प्रक्रियामा छ । त्यो मल कोलकाता बन्दरगाहमा आएर प्याकिङ भई रेलमार्फत आउनेछ,’ पोखरेलले भने । अहिले मौज्दात रहेको १८ हजार र आयात प्रक्रियामा रहेको गरी धान रोपाइँका लागि ८० हजार टन युरिया वितरण हुने पोखरेलले बताए । यो परिमाण धान रोप्न पुग्ने उनको भनाइ छ ।

कृषि सामग्रीले आगामी गहुँ सिजनका लागि लक्षित गरी केही दिनपछि ५५ हजार टन युरियाको टेन्डर खोल्न लागेको छ । ‘१७ जेठमा २५ हजार टन र २८ जेठमा ३० हजार टन युरिया आयातका लागि टेन्डर खोल्न लागिएको छ,’ उनले भने । दुवै टेन्डर दोस्रोपटक खोल्न लागिएको हो । यसअघि खोलिएका दुवै टेन्डरमा एउटा पनि निवेदन परेको थिएन । अहिले अन्तर्राष्ट्रिय बजारमा युरिया मल बढ्दै गएकाले टेन्डर प्रक्रियामा कोही पनि सहभागी नभएका हुन् । 

कृषि सामग्रीले टेन्डर खोलेको करिब सात–आठ महिनापछि मात्र मल प्राप्त गर्ने गरेको छ । लामो प्रक्रियाका कारण आपूर्तिकर्ताले बढ्दो मूल्यबीच टेन्डर हालेर जोखिम लिन नचाहँदा यसअघिको बोलपत्र रद्द गर्नुपरेको हो ।

त्यस्तै, कृषि सामग्रीले डिएपीसमेत २५ हजार टन आयात गर्न लागेको छ । ‘डिएपीको मौज्दात नै पर्याप्त छ । ग्लोबल टेन्डरमार्फत थप २५ हजार टन आयातका लागि आपूर्तिकर्ता छनोट भइसकेको छ । चाँडै सम्झौता गर्नेछौँ,’ उनले भने । सम्झौता गरेको १ सय २० दिनभित्र मल आयात गरिसक्नुपर्ने सर्त हुने गरेको छ ।

सरकारी कोटामा मल आयातको जिम्मेवारी पाएको अर्को निकाय साल्ट ट्रेडिङ कर्पोरेसनले भने सबै मल ल्याएर बिक्रीसमेत गरिसकेको छ । त्यसैले धान रोप्नका लागि साल्ट ट्रेडिङसँग मल उपलब्ध छैन । कम्पनीका सहायक महाप्रबन्धक पंकज जोशीका अनुसार चालू आवमा १ लाख ४९ हजार टन रासायनिक मल आयात र वितरण भइसकेको छ । त्यसमध्ये ८४ हजार टन युरिया, ६० हजार टन डिएपी र ५ हजार टन पोटास आयात भएको छ । अहिले साल्ट टे«डिङको गोदाममा करिब ९ हजार टन युरिया र १५ हजार टन डिएपी मात्रै रहेको जोशीले जानकारी दिए ।