मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ बैशाख २८ मंगलबार १८:१२:००
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

दोलखामा कोरोनाका बिरामी बोक्न चार एम्बुलेन्सको व्यवस्था 

Read Time : > 1 मिनेट
२०७८ बैशाख २८ मंगलबार १८:१२:००

पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र रूपमा वृद्धि भएसँगै जिल्ला संकट व्यवस्थापन समितिले कोरोनाका बिरामी बोक्न चार एम्बुलेन्सको व्यवस्था गरेको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सोमबार बसेको जिल्ला संकट व्यवस्थापन समितिले जिल्लाभर कोरोनाका बिरामीहरूको संख्या बढेको र समयमा अस्पताल लैजान कठिन भएको भन्दै चार एम्बुलेन्सलाई कोभिड डेडिकेटेड बनाउने निर्णय गरेको हो । 

संकट व्यवस्थापन समितिका सदस्य एवं दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले जिल्लाभर सञ्चालनमा आएका एम्बुलेन्समध्ये चारवटालाई कोरोनाका मात्रै बिरामी बोक्ने गरी सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए । उनका अनुसार चरिकोटको च्छोरोल्पा अस्पताल र सामुदायिक अस्पतालका एक–एकवटा एम्बुलेन्स, बिगु गाउँपालिकाको एक र बाबरेस्थित गजेन्द्र स्मृति फाउन्डेसनले सञ्चालन गरेको एम्बुलेन्सलाई जिल्ला संकट व्यवस्थापन समिति मातहत ल्याएर सञ्चालन गर्न लागिएको हो । 

समितिले यसरी सञ्चालन गर्दै छ एम्बुलेन्स 
समितिले चार एम्बुलेन्सहरूलाई दोलखा प्रहरीको सञ्चारसँग कनेक्सन गराएर आवश्यक सूचनाका आधारमा बिरामी ओसारपसारका लागि खटाउनेछ । प्रहरी प्रमुख रिजालका अनुसार सबै एम्बुलेन्सको चालक कक्षलाई बार लगाएर कोभिडका मात्रै बिरामीलाई जिल्लाभित्र र राजधानीका अस्पतालसम्म लैजाने व्यवस्था गर्न लागिएको हो । 
एम्बुलेन्सका चालकहरूलाई खान, बस्न र अन्य आवश्यक सुविधासहित स्वास्थ्य बिमासमेत समितिले नै गर्ने जनाइएको छ । चालकलाई जिल्लाभित्र बिरामी बोकेबापत प्रतिटिप पाँच सय र राजधानी जानुपरे एक हजार अतिरिक्त सुविधासमेत उपलब्ध गराउने निर्णय भएको समितिले जनाएको छ । जसका लागि बिरामीहरूले एम्बुलेन्स प्रयोग गरेबापत सरकारी दररेटका आधारमा रकम बुझाउनुपर्ने रिजालले जानकारी दिए । 

उनका अनुसार कोभिडका बिरामीलाई सहज ढंगले उपचार सेवा प्रदान गर्न यो अभियान सुरु गरिएको हो । अब कोभिडका बिरामीले सवारी साधन नपाए बुधबारबाट सीधै प्रहरीलाई खबर गर्न सकिने डिएसपी रिजालले बताए । 

दोलखामा मंगलबारसम्म सक्रिय संक्रमितको संख्या २०७८ मा मात्रै २ सय २३ पुगेको छ भने मृत्यु हुनेको संख्या दुईजना रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाकी पब्लिक हेल्थ अफिसर सपना केसीले जानकारी दिएकी छन् । उनका अनुसार मंगलबार मात्रै जिल्लाको मेलुङ गाउँपालिकाकी एक महिलाको कोभिडकै कारण निधन भएको छ । सोमबार कालिञ्चोक गाउँपालिकाका एक पुरुषको निधन भएको थियो ।