१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २६ आइतबार ०७:४१:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

२६ सांसद कोरोना संक्रमित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २६ आइतबार ०७:४१:००

कार्य–व्यवस्था समिति बैठकले प्रधानमन्त्रीले लिने विश्वासको मतको मतदानमा प्रतिनिधिसभाका २६ कोरोना संक्रमित सांसदलाई सहभागी गराउने विधि तय गर्ने

संघीय संसद्का २९ जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये प्रतिनिधिसभाका २६ र राष्ट्रिय सभाका तीन सांसदमा कोरोना पजिटिभ देखिएको संसद् सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि २७ वैशाख (सोमबार)मा प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरिएको छ । राष्ट्रपतिबाट सोमबारका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान भएपछि स्वाब परीक्षण गरिएको थियो । 

सांसदहरूले व्यक्तिगत रूपमा गरेको परीक्षण र सचिवालयले गराएको परीक्षणसमेत जोड्दा दुई दर्जनभन्दा बढी सांसदमा पजिटिभ देखिएको हो । सचिवालयले गराएको परीक्षणमा प्रतिनिधिसभाका १८ सांसद संक्रमित भएका छन् भने पहिला नै संक्रमित भएका सांसद आठजना छन् । अझै पनि प्रतिनिधिसभाका ५४ जना सांसदको रिपोर्ट सचिवालयसँग छैन । उनीहरू धेरैजसो काठमाडौंबाहिर छन् । 

प्रतिनिधिसभाको मात्रै बैठक बोलाइएकाले राष्ट्रिय सभाका सांसदको परीक्षण गरिएको छैन । संसद् सचिवालयका अनुसार दुवै सदनका सांसदलाई परीक्षण गर्ने भनिए पनि अधिवेशन नभएको भन्दै राष्ट्रिय सभाका सांसद परीक्षणमा सहभागी भएनन् । सचिवालयबाहिर परीक्षण गरेका राष्ट्रिय सभामा तीन सांसद संक्रमित छन् । दुवै सदनका जोडेर अझै सयभन्दा बढी सांसदको रिपोर्ट नआएकाले संक्रमित सांसदको संख्या बढ्न सक्ने सचिवालयको अनुमान छ ।

बैठक बस्नुअघि गत बुधबार, बिहीबार र शुक्रबार प्रतिनिधिसभाका सांसद, संसद् सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार, आइसिसीका कर्मचारीको स्वाब परीक्षण गरिएको थियो । एक हजार दुई सय ३५ जनाको स्वाब परीक्षण गरिएकोमा एक सय ६० जनाको पजिटिभ आएको थियो । केही सांसद तथा मन्त्रीले भने पहिले नै परीक्षण गरेका थिए । 

ठूलो संख्यामा सांसदलाई कोरोना पजिटिभ देखिएपछि उनीहरू कसरी बैठकमा संलग्न हुन्छन् भन्ने चिन्ता थपिएको छ । तर, संसद् सचिवालयले अझै ठोस तयारी गरेको छैन । आइतबार कार्य–व्यवस्था समितिको बैठक बस्ने भएकाले त्यहीँबाट टुंगो लाग्ने संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए । ‘धेरै सांसदमा पजिटिभ देखिएको छ । बैठक पनि बोलाएको स्थिति छ । अब उहाँहरू मतदानमा कसरी सहभागी हुनुहुन्छ भन्नेबारे कार्य–व्यवस्थाले निर्णय गर्छ,’ उनले भने, ‘उहाँहरूलाई मतदानमा कसरी सहभागी बनाउने वा कसरी सुविधा उपलब्ध गराउने भन्नेबारे कार्य–व्यवस्थाले निर्णय गर्छ ।’

यसअघिका अधिवेशनमा कोरोना संक्रमित सांसदलाई बैठकमा जान रोकिएको थियो । तर, यसपटक मतदानमै सहभागी हुनुपर्ने भएकाले संक्रमित सांसदको पनि व्यवस्थापन गर्न जरुरी भएको छ ।