१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १६:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सावित्री र मानसिंको टोलीलाई ठाडोभाकाको उपाधि 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:२२:oo

लमजुङमा आयोजना गरिएको दोस्रो खुला ठाडोभाका गीत प्रतियोगिताको उपाधि क्व्होलासोथरकी २७ वर्षीया सावित्री शाही र मानसिं दुराको टोलीले जितेको छ । जिल्लाको दोर्दी गाउँपालिकामा ठाडोभाका गीत प्रतियोगिता आयोजना गरिएको हो । 

ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङको आयोजनमा दोर्दी गाउँपालिका– ६ को कीर्तिपुरबेंसीमा आयोजना गरिएको प्रतियोगितामा १५ समूहले भाग लिएका थिए । प्रतियोगितामा क्व्होलासोथर गाउँपालिकाकी शाही र दुराको टोली पहिलो भएको आयोजक समितिका सदस्य संजोग लामिछानेले बताए । 

उनका अनुसार मध्यनेपाल नगरपालिका– ७ का सुवे सन्तबहादुर गुरुङ र सुकमाया विकको समूह दोस्रो, सुन्दरबजार नगरपालिका– ९ भोटेओडारका धनबहादुर गुरुङ र बुद्धिमाया गुरुङ तेस्रो, दोर्दी गाउँपालिका– ७ का गजबहादुर गुरुङ र सोही गाउँपालिकाकी काली पाख्रिनको टोलीले सान्त्वना पुरस्कार जितेको छ । 

प्रतियोगितामा पहिलो हुनेलाई नगद २५ हजार र प्रमाणपत्र, दोस्रोलाई १५ हजार र प्रमाणपत्र, तेस्रो हुने टोलीलाई १० हजार नगद र प्रमाणपत्र तथा सान्त्वना स्थान हासिल गर्ने टोलीलाई तीन हजार रुपैयाँ दिइएको हो । 

प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीका अनुसार ठाडोभाका लमजुङको पहिचान बोकेको फरक शैलीमा गाइने, नाचिने र वाद्यवादनसमेत फरक शैलीको भएको गीत हो । 

ठाडोभाकाको जगेर्ना र प्रचारप्रसार गर्ने उद्देश्यले ०७६ देखि प्रतियोगिता आयोजना गरीएको संस्थाले जनाएको छ । प्रतियोगिता दोर्दी गाउँपालिकाको प्रवद्र्धनमा गरिएको हो ।

दश सामाजिक अभियन्ता सम्मानित
लमजुङमा आयोजना गरिएको ठाडोभाकाको दोस्रो खुला प्रतियोगिताको अवसरमा १० जना सामाजिक अभियन्तालाई सम्मान गरिएको छ । ठाडोभाका लोककला प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’लाई ठाडोभाका महानायकको उपाधिका साथ सम्मान गरिएको हो । 

त्यस्तै, इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेललाई ठाडोभाका– कृष्णकुमारी ढुंगाना स्मृति पुरस्कार प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि नगद १० हजार पाँच रुपैयाँ छ । 

यसैगरी, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ र सोही गाउँपालिका– ५ को खानीगाउँस्थित होमस्टेसहितको रक गार्डेनका परिकल्पनाकार कामसार्की गुरुङलाई ‘लोकसंस्कृति प्रवद्र्धक राष्ट्रिय सम्मान’बाट सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष पहाडीले बताए । 

कार्यक्रमकै अवसरमा ७० वर्ष पुगेका ६ जना अग्रज गायक–गायिकालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा जितसुब्बा दुरा, उनकी श्रीमती हस्तमाया दुरा, लक्ष्मी गुरुङ, मीनबहादुर गुरुङ, धर्मसिंह गुरुङ र गणेश गुरुङलाई अग्रज स्रष्टाबाट सम्मान गरिएको हो । प्रतिष्ठानले ठाडोभाकाकी अग्रज गायिका नन्दमाया दुरालाई ‘ठाडोभाका सम्राज्ञी’को उपाधिसहित सम्मान गरेको छ ।
 

ad
ad