मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख ५ आइतबार ०८:४१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

साताभरमा  नेप्सेले जोड्यो ६१ अंक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख ५ आइतबार ०८:४१:००

गत साता तीन दिन कारोबार भएको सेयर बजारमा लगातार नेप्से बढ्न सफल भएको छ । नेप्से हालसम्मकै उच्च बिन्दुमा आइपुग्दा लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा देखिएका छन् । गत साताभरमा नेप्से ६१ अंकले बढेर २ हजार ७ सय ३५ बिन्दुमा आएको छ । 

बैंकहरूले १ वैशाखदेखि कार्यान्वयनमा ल्याएको निक्षेपको ब्याजदर सीमान्तदरमा वृद्धि गरेका छन् । आर्थिक वर्षको अन्तिम त्रैमास भएकाले सरकारी खर्च बढ्ने र यसले तरलता सहजता बढाउने अनुमानमा बैंकरहरू छन् । बैंकिङ क्षेत्रमा रहने तरलताको प्रभाव सेयर बजारमा पनि पर्ने भएकाले अहिले लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा रहने सम्भावना बलियो छ । 

विगत १४ दिनको कारोबारमा नेप्से तीन कारोबारमा मात्रै घटेको र हालसम्मकै उच्च बिन्दुनजिक आएकाले केही समय लगानीकर्ता प्रफिट बुकिङमा लाग्न सक्ने देखिन्छ । यसले तत्काललाई बजारमा सानोतिनो करेक्सनको सम्भावना देखिएको छ । कम्पनीहरूको नाफामा उच्च वृद्धिको सम्भावना कमै देखिए पनि तेस्रो त्रैमासको वित्तीय विवरणको प्रतीक्षामा पनि मूल्य तत्कालै धेरै घट्ने सम्भावना कम छ । 

साताभरमा बजारमा करिब ३७ प्रतिशतले कमी आएर २९ अर्ब ३९ करोड रुपैयाँबराबरको कारोबार भएको हो । अघिल्लो साता चार दिन बजार खुला भएकोमा गत साता तीन दिन कारोबार खुला भएकाले पनि कारोबार रकम घटेको छ । तर, यससँगै दैनिक औसत कारोबार रकम पनि १७ प्रतिशतले घटेर ७ अर्ब ७९ करोड रुपैयाँबराबर भएको छ । यसअघि दैनिक औसत कारोबार रकम ९ अर्ब ४० करोड थियो । 

गत साता होटेल तथा पर्यटन, जलविद्युत्, ‘अन्य’ र व्यापारमूलक समूह घटेका छन् । होटेल समूह सबैभन्दा धेरै ३ प्रतिशतले घटेको भए पनि अन्यमा सीमान्तदरले कटौती भएको छ । साताभरमा नेपाल पूर्वाधार बैंक कारोबार संख्या, सेयर संख्या र रकम सबैका आधारमा अग्रस्थानमा छ । बैंकको १८ हजारपटक भएको १५ लाख ७४ हजार कित्ता सेयर कारोबारमा ९३ करोड रुपैयाँको सेयर किनबेच भएको हो । 

नेप्सेले गत साता अन्तरदिनको कारोबारमा २ हजार ७ सय ५५ बिन्दु भेटेर फर्किएको छ । नेप्सेको मैनबत्ती चित्रले पहिलो दुई दिन बजार बढेर हरियो मैनबत्ती आकृति बनाएकोमा अन्तिम दिन शरीरविनाको डोजी आकृति बनाएको छ । यसले बजार बढ्ने प्रवृत्तिमा विश्राम लागेको र केही समय करेक्सन देखिने संकेत गर्छ । यद्यपि, यो दरिलो संकेत होइन ।