मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ३ शुक्रबार १९:१८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद्लाई बिजनेस नदिएर निष्क्रिय पार्ने काम भइरहेको छ : सिंह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ३ शुक्रबार १९:१८:००

कांग्रेसका पूर्वमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले संसद्ले बिजनेस नपाउँदा मुलुकमा संसदीय व्यवस्था नै छ कि छैन भन्ने अन्योलको अवस्था आएको बताएका छन् । ‘सरकारले बिजनेस दिएको छैन, संसद् बिजनेसविहीन भएको छ,’ नेता सिंहले अघि भने, ‘संसद् विघटनमा असफल भएको ओली सरकारले संसद्लाई बिजनेस नदिएर निष्क्रिय पार्ने प्रयत्न गरिरहेको छ ।’ 

शुक्रबार स्याङ्जाको वालिङमा आयोजित स्वतन्त्रता सेनानी सूर्यप्रसाद रेग्मीको प्रथम स्मृति सभामा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् । ‘सरकार भएर पनि छ कि छैन जस्तो लाग्छ । संसद्लाई बिजनेस नदिँदा संसदीय व्यवस्था नै छ कि छैन भन्ने अवस्था सिर्जना भइसक्यो,’ उनले भने । 

उनले कांग्रेसले अस्थिर राजनीतिक अवस्थाबाट निकास दिन पहलकदमी थालेको बताए । ‘ओलीले राजीनामा दिनुपर्छ र कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्छ भनेर हामीले निर्णय नै गरेका छौँ,’ उनले भने । उनले ओलीलाई प्रधानमन्त्री भइरहने वैधानिकता बाँकी नरहेको बताए । ‘आफ्नै पार्टीको अन्तरझगडाको कारणले गर्दा संसद् भंग गरेर ओलीले आफ्नो नैतिकताको स्तर देखाइसकेका छन्, अब उनलाई प्रधानमन्त्री भइरहने वैधानिक आधार पनि बाँकी छैन,’ नेता सिंहले भने । 

नेता सिहंले ओलीका कारण प्रजातन्त्र, बहुदलीय व्यवस्था र लोकतन्त्र संकटमा परेकोसमेत बताए । लोकतन्त्र जोगाउन आफूहरूले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेरै  देशलाई संकट परेको वेला चुप लागेर नबसी सरकारको नेतृत्व गर्न आग्रह गरेको बताए । ‘देशमा कम्युनिस्टहरू असफल भइसके, यिनीहरूले न संविधान नै जारी गर्न सके न त संविधानको कार्यान्वयन नै गर्न सके, यिनीहरूले देशलाई कमजोर मात्रै बनाइरहेका छन्,’ उनले भने । 

नेता सिंहले कांग्रेसमा अहिले सक्षम नेतृत्वको खाँचो भएको बताए । ‘नेतृत्वका कारण कांग्रेस इतिहासमै कमजोर अवस्थामा पुगेको छ, सिद्धान्त, देशको आवश्यकता र परिस्थिति बुझेर कार्य गर्न सक्ने नेतृत्व अबको महाधिवेशनले दिनुपर्छ,’ सिंहले भने । उनले आगामी महाधिवेशनमा आफूले पनि पार्टीको सभापति पदमा उम्मेदवारी दिने तयारी गरिरहेको बताए ।