मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका नयाँदिल्ली
२०७८ बैशाख १ बुधबार १०:४६:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

ब्राजिल र भारतमा कोरोना संक्रमित र मृत्युदर बढ्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, नयाँदिल्ली
२०७८ बैशाख १ बुधबार १०:४६:००

 विश्वभरि नै कोरोना भाइरसको तेस्रो तथा चौथो लहर बढिरहेको छ । एकातिर संक्रमित संख्या बढिरहेको छ भने अर्कोतिर मृत्युदर पनि अकासिइरहेको छ । पछिल्लो दुई दिनमा ब्राजिल र भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढिरहेको डब्लुएचओले जनाएको छ ।

सोमबार मात्र ब्राजिलमा एक हजार चार सय ८० जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले बताएको छ । ब्राजिलमा केही दिनदेखि कोरोनाबाट ज्यान गुमाउनेको संख्या कम्तीमा पनि एक हजारबाट घटेको छैन । सोमबार पनि यहाँ ठूलो संख्यामा संक्रमित भएका छन् । 

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या तीन लाख ५४ हजार ६ सय १७ पुगेको छ । ब्राजिलको साओ पाओलो सहर सबैभन्दा धेरै प्रभावित क्षेत्रमा पर्छ । यो सहरका मात्र ८० हजारजनाभन्दा बढी नागरिकले महामारीबाट ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घन्टामा कोभिडका कारण आठ सय ७९ जनाको मृत्यु भएको छ ।

संक्रमणबाट भारतमा अहिलेसम्म एक लाख ७१ हजारजनाको निधन भएको भारतीय समाचार एजेन्सीहरूले जनाएका छन् । यसैबीच, भारतमा सोमबार एकै दिन एक लाख ६१ हजार नौ सय १२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । आइतबार भारतमा एक लाख ६८ हजार संक्रमित भएका थिए ।

आइतबार नौ सय चारजना संक्रमितको मृत्यु भएको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । १६ जनवरीबाट भारतमा खोप अभियान सुरु भएको थियो । हालसम्म १० करोड ४५ लाख २८ हजार ६६५ व्यक्तिले खोप लगाइसकेका छन् । 

यसैबीच, भारतीय सरकारले स्पुतनिक भी खोप प्रयोगको अनुमति दिएको छ । भारतमा डा. रेडडिज ल्याबले स्पुतनिक भी खोप निर्माण गरिरहेको छ । अहिले भारतमै कोभिसिल्ड भ्याक्सिन दैनिक २५ लाख डोज उत्पादन भइरहेको छ । स्पुतनिक भीले अनुमति पाएसँगै भारतमा खोपको विकास तीव्र हुने अनुमान गरिएको छ ।