कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपिल गरेको छ । सिसिएमसीको शनिबार बसेको बैठकले पछिल्लो समय कोभिड संक्रमणको ग्राफ बढेको र नयाँ भेरियन्टसमेत देखापरेको भन्दै सतर्कता अपनाउन राष्ट्रिय रूपमा अपिल गर्ने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालले बैठकमा अहिलेको संक्रमणको स्थिति र तयारीको विषयमा छलफल भई आमरूपमा सतर्कता अपनाउन अपिल गर्ने निर्णय भएको बताए । यसबाहेक जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डि सिसिएमसी)लाई अझ बढी सक्रिय बनाउने निर्णय पनि गरेको छ ।
सीमानाकाहरूमा सञ्चालनमा आएका हेल्थ डेस्कहरूलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेस्टलाई बढाउने, कोभिड संक्रमण भई लक्षण देखापरेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टिनमा राख्ने काम गर्ने निर्णय पनि बैठकले गरेको छ । यसबाहेक कुनै पनि क्षेत्रबाट स्वास्थ्य मापदण्ड पालना नभई अटेरी रूपमा सञ्चालनमा आएको पाइए कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने पनि सचिव बरालले बताए ।