१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नियुक्तिपत्र पाएपछि दमक नगरपालिकाअगाडि सफाइ मजदुर । तस्बिर : नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:४९:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

काममा फर्किए सफाइ मजदुर, तीन दशकपछि नियुक्तिपत्र

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:४९:oo

आन्दोलनकै क्रममा बिरामी परे मजदुर, उपचार गर्न पैसा अभाव

विनाजानकारी कामबाट हटाइएका सफाइ मजदुर काममा फर्किएका छन् । दमक नगरपालिकाले दश दिनअघि कामबाट निकालिएका मजदुरलाई नगरपालिकाले बिहीबारबाट काममा फर्काएको हो । निरन्तर संघर्षपछि नगरपालिका सफाइ मजदुरलाई काममा फर्काउन सहमत भएको हो । 

दमक नगरपालिकाबाट उत्पादन हुने फोहोर संकलनको जिम्मा निजी कम्पनीले लिएपछि तीन दशकदेखि सफाइमा खटिएका मजदुरलाई खाली हात घर फर्काएका मजदुर बिहीबारदेखि काममा फर्किएका हुन् । यद्यपि उनीहरूले अब दमक सहरको फोहोर संकलन गर्ने छैनन् । उनीहरूले दमकका सरकारी विद्यालय र वडा कार्यालयमा सफाइको काम गर्नेछन् । मजदुरले दिएको ज्ञापनपत्रमा नगरपालिकाले पटक–पटक बेवास्ता गरेपछि उनीहरूले तीन दिनसम्म धर्ना दिएका थिए । ‘हामीले उठाएका सबै माग त पूरा भएनन् । तर, केही पूरा भए,’ मजदुर सिकेन्द्र मल्लिक भन्छन्, ‘हामीलाई नगरपालिकाले काममा फर्काएको छ । तर, अब यस्तो नगरोस् ।’

मजदुर काममा मात्र फर्किएनन्, तीन दशकपछि नियुक्तिपत्रसमेत पाए । तीन दशकसम्म दैनिक ज्यालादारीमा विनानियुक्तिपत्र काम गरिरहेका ३० जना विपन्न दलित सफाइ मजदुरलाई बिहीबार नियुक्तपत्र दिएको हो । यद्यपि उनीहरूको ज्याला भने बढेको छैन । नियुक्तिपत्रमा उनीहरूले काम गर्ने समय घटाइएको छ ।
 
नगरपालिकामा दुई प्रकारका सफाइ मजदुर 
दमक नगरपालिकामा फोहोर सफाइ गर्ने दुई प्रकारका मजदुर छन् । केही मजदुरले बजारमा कुचो लगाउँछन् । उनीहरूले बिहान करिब पाँच घन्टा काम गर्ने गरेका थिए । उनीहरूले यसअघि दैनिक ज्यालादारीमा दुई सय रुपैयाँ पाउने गरेका थिए । त्यस्तै, फोहोर उठाएर गाडीमा लगाएर व्यवस्थापन केन्द्रसम्म पु¥याउने मजदुर छन् । उनीहरू १२ घन्टासम्म खट्ने गरेका थिए । 

श्रम ऐनअनुसार चियाबगानका बाहेक अन्य श्रमिकलाई प्रतिघन्टा ६९ रुपैयाँ ज्याला दिनुपर्छ । यस्तै, आठ घन्टा काम गर्ने श्रमिकले ऐनअनुसार १३ हजार चार सय ५० रुपैयाँ मासिक पाउनुपर्छ । तर, दमक नगरपालिकाले सफाइमा खटिएका दलित मजदुरलाई ऐनअनुसारको तलब पनि दिएको थिएन । तर, नियुक्ति सम्झौताअनुसार अब सफाइ मजदुरले मासिक ६ हजारका लागि दैनिक साढे तीन घन्टा काम गर्नुपर्नेछ भने १३ हजारका लागि सात घन्टा काम गर्नेछन् । ‘सफाइ मजदुरका कुरा सुन्ने कोही हुँदैन । उनीहरूको मुद्दालाई नगरपालिकाले पनि बेवास्ता गर्छ,’ मजदुर नेता कैलाश पौडेल भन्छन्, ‘तर, यो आन्दोलन एक हदसम्म पूरा भएको छ । नगरपालिका मजदुरलाई पुनर्बहाली गर्न तयार भएको छ । यो सफाइ मजदुर एक भएका कारण सम्भव भएको हो ।’

नगरपालिकाले उनीहरूलाई आउने साउन मसान्तबाट पूर्णकालीन काममा लगाउने नगरप्रमुख रोमनाथ ओलीले बताए । ‘मजदुरलाई काममा फर्काएका छौँ । अहिले पुरानै ज्यालामा काम गर्छन्,’ उनले भने, ‘आउने साउनबाट फुल टाइमर बनाएर न्यूनतम ज्याला दिई अस्थायी नियुक्ति गर्नेछौँ ।’ 

नगरपालिकाले यसअघि मजदुरको स्वास्थ्य बिमा गरिदिएको थिएन । उनीहरूले चाडपर्व खर्चसमेत पाउँदैनथे । तर, अब मजदुरको स्वास्थ्य बिमा नगरपालिकाले नै गर्ने सहमति भएको मजदुर बबिन मल्लिकले बताए । नगरपालिकाले अब चाडपर्वमा एक महिनाको ज्याला दिने सहमति गरेको उनको भनाइ छ ।

कैलाश मल्लिकले दमकमा तीन दशकदेखि सडक सफाइ गर्दै आएका छन् । उनले यसपटक मजदुरलाई रोजगारविहीन बनाउँदा नेतृत्व लिँदै नगरपालिकालाई दबाब दिए । वृद्ध अवस्थामा पुगेका उनी शारीरिक रूपमा कमजोर छन् । तर, अहिले पनि सफाइको काम गरिरहेका छन् । घाममा दैनिक धर्नामा बस्दा घाम र धपेडीले उनी बिरामी परे । बिहीबार एड्भान्स अस्पताल भर्ना भएका मल्लिकको निरन्तर रक्तचाप घटिरहेको छ । उनको मुटुमा पनि समस्या रहेको अस्पतालले जनाएको छ ।

उनलाई अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान भनेको श्रीमती आरती बताउँछिन् । ‘धेरै बिरामी हुनुहुन्छ । प्रेसर घटेको छ रे ! विराटनगरको नोबेल लानु भनेका छन्,’ उनी भन्छिन् । तर, आर्थिक अवस्था कमजोर भएका उनीहरूले एड्भान्स अस्पतालको फार्मेसीमा उठेको आठ सय रुपैयाँ बिल पनि तिर्न सकेका छैनन् । ‘पैसा छैन । स्वास्थ्य बिमा त छ । तर, औषधि त किन्नुपर्ने रहेछ,’ उनी भन्छिन्, ‘अरू अस्पताल लान पैसा छैन । अब के गर्ने ?’ ३० जना मजदुरहरूले उठाएर १० हजार रुपैयाँ दिने तयारी गरिरहेका छन् । ‘हाम्रो अगुवा उहाँ नै हो । उहाँ नै बिरामी पर्नुभयो । नगरपालिकाले भोलि हामीले गरेको कामको पैसा दिन्छ रे,’ मजदुर सिकेन्द्र मल्लिक भन्छन्, ‘हामीले १० हजार दिने निर्णय गरेका छौँ । यहीँबाट उपचार गर्छौँ ।’

दलित मजदुर आन्दोलनमा हुँदा नेता देखा परेनन्
विभेदले पिल्सिएका तराईका दलित मजदुरहरूले रोजगार खोसिएपछि अधिकारको लडाइँमा दश दिन बिताए । आर्थिक हिसाबले पछि परेका तराईका दलितहरूलाई साथ दिन दलित नेता देखासमेत परेनन् । दलित नेताले न त उनीहरूका बारे आवाज उठाए, न त उनीहरूको आन्दोलनमा ऐक्यबद्धता नै जनाउन आए । 

‘हामीलाई त दलित नेताले पनि साथ दिएनन् । दलित नेताहरू केही आन्दोलन हुँदा हामीलाई लाग्नुपर्छ, गर्नुपर्छ भन्दै नारा जुलुसमा लग्ने गर्थे । हामीलाई पर्दा त कोही आएनन् । हाम्रा लागि त दलित नेता होलान् भन्ने सोच्थ्यौँ । हाम्रो सोचाइ गलत रहेछ,’ सिकेन्द्र भन्छन्, ‘दलित नेता त सुकिलामुकिला हुन्छन् । हामी त फोहोर समाउने, फोहोरी भएर होला । त्यही भएर उहाँहरूले सहयोग गर्नुभएन ।’

ad
ad