मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत २४ मंगलबार ०६:४९:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

दक्षिण एसियाका चार देशमा कोरोना संक्रमण तीव्र, भारतमा नयाँ रेकर्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत २४ मंगलबार ०६:४९:००

दक्षिण एसियाली देशहरूमा कोरोना संक्रमण फेरि तीव्र गतिमा फैलन थालेको छ । भारत, बंगलादेश र पाकिस्तानमा संक्रमणको दोस्रो लहर देखिएको छ भने नेपालमा पनि दोस्रो लहरको संकेत देखिएको छ । भुटान र अफगानिस्तानमा भने संक्रमण नियन्त्रणकै अवस्थामा छ । माल्दिभ्समा विगतमा भन्दा थोरै बढेको छ । 

भारतमा कोरोनाको दोस्रो लहर पहिलोभन्दा द्रुत रूपमा फैलिएको छ । महामारी सुरु भएयता भारतमा पहिलोपटक एकै दिन एक लाखभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । आइतबार एक लाख तीन हजार पाँच सय ५८ जनामा संक्रमण भएको पुष्टि भएको छ । कोरोना महामारी सुरु भएयता पहिलोपटक एकै दिन एक लाखभन्दा धेरैलाई संक्रमण पुष्टि भएको हो । सोमबार ९६ हजार पाँच सय ५७ संक्रमित देखिएका छन् । 

पहिलो लहरको क्रममा गत सेप्टेम्बरमा भारतमा एकै दिन सबैभन्दा धेरै ९८ हजार जनासम्ममा संक्रमण देखिएको थियो । त्यसपछि निरन्तर घटेर दैनिक करिब नौ हजारमा झरेको थियो । एक महिनायता भारतमा संक्रमण तीव्र भएको छ । सबैभन्दा धेरै प्रभावित महाराष्ट्र बनेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो दुई सातामा संक्रमण पुष्टि भएका केसमध्ये ६० प्रतिशत महाराष्ट्रमा छन् । आइतबार मात्र महाराष्ट्रमा ५७ हजारमा संक्रमण देखिएको थियो । महाराष्ट्रपछि छत्तिसगढ, कर्णाटक, उत्तर प्रदेश र दिल्लीमा संक्रमण बढेको छ । 

संक्रमण उच्च दरमा बढेपछि महाराष्ट्रमा साँझमा कफ्र्युसमेत लगाइएको छ । धेरै संक्रमण देखिएका अन्य प्रदेशमा पनि कडाइ सुरु भएको छ । भारतमा कुल संक्रमितको संख्या एक करोड २५ लाख ८९ हजार ६७ पुगेको छ । करिब एक लाख ६५ हजारले ज्यान गुमाइसकेका छन् । करिब सात करोड ६० लाखले भ्याक्सिन लगाइसकेका छन् । 

बंगलादेश र पाकिस्तानमा फेरि लकडाउन 
संक्रमण बढ्न थालेपछि बंगलादेशमा पनि सोमबारदेखि लकडाउन गरिएको छ । आइतबार एकै दिन सात हजार ८७ जनामा संक्रमण पुष्टि भएको थियो । बंगलादेशमा हालसम्म ६ लाख ४० हजारमा संक्रमण भएको छ भने नौ हजार दुई सय २२ जनाले ज्यान गुमाएका छन् । 

पाकिस्तानमा संक्रमण बढेको छ । आइतबार पाकिस्तानमा चार हजार तीन सय २३ जनामा संक्रमण पुष्टि भएको थियो । शनिबार पाँच हजारभन्दा धेरैमा संक्रमण देखिएको थियो । संक्रमण बढेपछि भएपछि १० अप्रिलदेखि पाकिस्तानमा अन्तरप्रदेश यातायात सेवामा रोक लगाइएको छ । पाकिस्तानमा हालसम्म करिब सात लाखमा संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेको संख्या १४ हजार नाघेको छ । अझै संक्रमण बढे कडा लकडाउन लागू गरिने पाकिस्तानको तयारी छ । 

श्रीलंकामा घट्दो, माल्दिभ्समा उस्तै गति 
दक्षिण एसियाली देशमध्ये श्रीलंकामा भने संक्रमण घटिरहेको छ । आइतबार श्रीलंकामा एक सय ४१ जनामा संक्रमण पुष्टि भएको छ । श्रीलंकामा हालसम्म करिब ९३ हजारमा संक्रमण पुष्टि भएकोमा आइतबारसम्म पाँच सय ८१ जनाले ज्यान गुमाएका छन् । 

माल्दिभ्समा दुई महिनायता संक्रमणदर उस्तै छ । जहाँ फेब्रुअरीदेखि हालसम्म दैनिक संक्रमण एक सयदेखि दुई सयको बीचमा छ । एक हप्तामा औसतमा दैनिक एक सय ८० जनामा संक्रमण भएको छ । माल्दिभ्समा हालसम्म २४ हजार आठ सयमा संक्रमण भएकोमा ६७ जनाले ज्यान गुमाएका छन् ।

भुटानमा नियन्त्रणमै, अफगानिस्तानमा न्यून 
अफगानिस्तानमा पनि संक्रमण नियन्त्रणमै छ । जहाँ ८१ जनामा संक्रमण देखिएको थियो । जनवरीदेखि नै अफगानिस्तानमा संक्रमण घटिरहेको छ । अफगानिस्तानमा हालसम्म ५६ हजार ६ सयमा संक्रमण पुष्टि भएकोमा दुई हजार चार सय ९७ जनाले ज्यान गुमाएका छन् । 

कोरोना संक्रमणबाट सबैभन्दा कम प्रभावित सार्क राष्ट्रमा भुटान पर्दछ जहाँ आइतबार नयाँ संक्रमण शून्य छ । पछिल्लो एक सातामा औसत तीनजनामा संक्रमण देखिएको छ । भुटानमा आठ सय ९१ जनामा संक्रमण भएकोमा एकजनाले ज्यान गुमाएका छन् ।