डेडिकेटेड फिडरको १० अर्ब १४ करोड बक्यौता, ३० दिनभित्र ब्याजसहित असुल गर्न प्राधिकरणलाई लेखा समितिको निर्देशन

सोमबार, २३ चैत, २०७७
डिजिटल संस्करण

विद्युत् प्राधिकरण भन्छ– साउनदेखि बक्यौता रकम किस्तामा उठाउने तयारी गर्दैे छौँ

संघीय संसद्को सार्वजनिक लेखा समितिले डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता रकम महिना दिनभित्र ब्याजसहित असुल्न सरकारलाई निर्देशन दिएको छ । नेपाल विद्युत् प्राधिकरण र व्यावसायिक घरानाबीच पछिल्लो २ वर्षदेखि डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता रकम उठाउनेबारे विवाद चलिरहेको छ । ब्याजसहित करिब १४ अर्ब (१० अर्ब १४ करोड ब्याजबाहेक) बक्यौता उठाउन मन्त्रिपरिषद्देखि विद्युत् नियमन आयोग र सार्वजनिक लेखा समितिसमेतले चासो देखाएको हो । समितिले गठन गरेको उपसमितिको अध्ययन प्रतिवेदनमा आधारित भएर यस्तो निर्देशन दिएको हो । 

तर, प्राधिकरणले साउनदेखि किस्तामा बक्यौता उठाउने निर्णय कार्यान्वयन गर्ने तयारी गरिरहेको जानकारी दिएको छ । सार्वजनिक लेखा समितिले निर्णय दिनुपूर्व नै ११ माघमा बसेको प्राधिकरण सञ्चालक समितिले डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता रकम उठाउने निर्णय गरिसकेको छ । त्यही निर्णयमा आधारित भएर साउनदेखि उद्योगीसँग किस्तामा बक्यौता महसुल असुल्ने तयारी भइरहेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । सार्वजनिक लेखा समितिले गरेको निर्णयबारे उनले अनभिज्ञता जनाए । ‘त्यस्तो निर्णय गरेको भए मन्त्रालय हुँदै, बोर्डमा आउला, माथिल्ला निकायले गरेको निर्णयअनुसार कार्यान्वयनमा जानेछाैँ,’ उनले भने ।    

विद्युत् प्राधिकरणको सञ्चालक समिति र प्राधिकरणका अधिकारीहरूले महिना दिनभित्र बक्यौता उठाउन सक्ने सम्भावना नभएको बताएका छन् । प्राधिकरणका प्रवक्ता तिम्सिनाले कोभिड–१९ का कारण व्यवसायीको समस्यालाई हेरेर असारसम्मको समयावधि दिएको जानकारी दिए । साउन २०७८ देखि भने जुन महिनाको जति बक्यौता छ, त्यहीअनुसार महसुल तिर्ने गरी किस्ताबन्दीको सुविधा उपलब्ध गराएको हो । ‘तर, माथिल्लो निकायबाट फरक निर्णय भएमा त्यसअनुसार अघि बढ्नेछाैँ,’ उनले भने । 

सार्वजनिक लेखा समितिले प्रतिवेदनमा विद्युत् नियमावलीमा उल्लेख भएका बिलबिजक, छुट बिल जारी गर्ने, बक्यौता रकम असुल गर्नेलगायतका काम गरी समितिलाई महिना दिनभित्र जानकारी दिन निर्देशन दिएको छ । त्यस्तै, डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता रकम नतिर्ने ग्राहकलाई नियमावलीअनुरूप आवश्यक कारबाही गर्न निर्देशन दिएको छ । डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता असुली सम्बन्धमा प्राधिकरणलाई आर्थिक क्षति हुने र आर्थिक दायित्व बढ्ने गरी कुनै निर्देशन नगर्न नेपाल सरकारलाई निर्देशन गरेको छ । 

छुट बिल जारी भएको ३५ दिनभित्र ग्राहकले महसुल नबुझाएमा विद्युत् लाइन काट्न सक्ने व्यवस्था भएकाले त्यसअनुसार गर्न र विद्युत् लाइन नजोड्न सञ्चालक समिति तथा व्यवस्थापकलाई निर्देशन दिएको छ । 

बक्यौता महसुल विवादबारे प्राधिकरण र व्यवसायीबीच विवाद भएपछि पहिलोपटक मन्त्रिपरिषद्ले २१ पुस ०७६ मा ऊर्जासविच दिनेशकुमार घिमिरेको संयोजकत्वमा समाधानको सिफारिस गर्ने गरी ५ सदस्यीय समिति गठन गरेको थियो । त्यस समितिले दिएको प्रतिवेदनलाई मन्त्रिपरिषद्ले मन्त्रालयलाई नै कार्यान्वयनका लागि अघि बढाउने ऊर्जा मन्त्रालय पठाएको थियो । त्यसपछि महसुल निर्धारण गर्ने काम विद्युत् नियमन आयोगको हुने भन्दै विद्युत् आयोगमा पठाइएको थियो । तर, आयोगबाट निर्णय आउनुअघि नै मन्त्रालय र विद्युत् प्राधिकरणले साउनदेखि उठाउने गरी बोर्डमार्फत निर्णय गरेका हुन् ।  

बक्यौताबारे सार्वजनिक लेखा समितिका सदस्यको भनाइ 

मोहमद इस्तियाक राई
अर्बौँ रुपैयाँ राज्यबाट विशेष सुविधा लिएर पैसा तिरेको छैन । व्यवसायीहरूले कमाएर ट्याक्स तिर्नुपर्छ । अवैधानिक तरिकाले विशेष सुविधा लिएर बक्यौता रकम नबुझाएका व्यापारीहरूलाई ब्याजसहित जरिवाना असुलउपर गरिनुपर्छ । समितिले सम्बन्धित मन्त्रालय र निकायहरूलाई निर्देशन दिनुपर्छ ।

पार्वती विशुंखे
डेडिकेटेड र ट्रंक लाइनको अध्ययन गर्नलाई ५ सदस्यीय समिति गठन भयो । हाम्रो टिमले घनीभूत रूपमा शब्द–शब्द, अक्षर–अक्षर अध्ययन गरेर प्रतिवेदन तयार गरेको हो । यो विषयमा र यो क्षेत्रमा देखिएका जति पनि विसंगति छन्, त्यसका बारेमा हामीले विस्तृतमा राख्ने प्रयास गरेका छौँ । राज्यका स्रोतहरू संकलन गर्नमा जुन ढिलाइ भएको छ, राज्यको ढुकुटीमा त्यो बक्यौता ल्याउनुपर्छ । त्यसले गर्दा राज्यको ढुकुटीलाई सहयोग पुग्छ ।

प्रदीप यादव
१० अर्ब रुपैयाँ ब्याजसहित असुलउपर गर्नुपर्छ । जसले पैसा तिर्दैन, त्यसलाई कानुनको दायरामा ल्याएर हत्कडी लाउनुपर्छ । पैसा असुल गर्नुपर्छ ।

धर्मशिला चापागाईं
के यो देश बिचौलियाले चलाउने हो ? मेरो प्रश्न हो । राम्रोसँग कमाई खाने हो भने कमाएर राज्यलाई ट्याक्स तिर्न ठूलो आपत्ति होइन । प्रतिवेदनमा पनि उल्लेख छ कि सर्वाेच्चले समेत यसलाई खारेज गरेर ‘बक्यौता तिर्नु’ भन्ने खालको निर्देशन गरिसक्दा पनि नमान्ने, ती व्यापारी होइनन्, बिचौलिया हुन् । यो बक्यौता तुरुन्त उठाउन सरकारलाई निर्देशन दिनुपर्छ । हामीले तल–माथि, दायाँ–बायाँ गर्दै जाने हो भने हामीले कसका लागि काम गरेको ? १० अर्ब भनिएको छ, यसको साँवा–ब्याज सबै असुल गर्नुपर्छ । 

राजेन्द्र केसी
यो मुलुकका लागि १० अर्ब रुपैयाँ भनेको धेरै ठूलो रकम हो । तत्काल असुलउपर हुने खालेको निर्णय हुनुप¥यो ।

 चन्दा चौधरी
राष्ट्रको ढुकुटीमा आउने पैसा उद्योगी–व्यापारीहरूले तिरेका छैनन् । यो त ट्रेन्ड नै बसिसकेजस्तो छ । एउटा सामान्य परिवारले मिटर राखेको अवस्थामा पैसा तिरेन भने लाइन काटिदिन्छ । आमजनताको लाइन काटिन्छ, ‘फाइन’ लिन्छ । अर्बौँ पैसा कसरी अहिलेसम्म तिर्न बाँकी छ ? त्यसमा सोच्नुपर्ने कुरा हो । 

सुझावित समाचार