मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत २१ शनिबार ०६:५९:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

भारतमा बिहीबार ८१,४४१ र शुक्रबार ७४,८५५ जनामा देखियो काेराेना संक्रमण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत २१ शनिबार ०६:५९:००

भारतमा कोरोना संक्रमणको दोस्रो लहर भयावह रूपमा बढ्दै छ । शुक्रबार मात्रै ७४ हजार आठ सय ५५ संक्रमित देखिएका छन् भने संक्रमणबाट पाँच सय ८१ जनाको मृत्यु भएको छ । बिहीबार ८१ हजार चार सय ४१ जनामा संक्रमण देखिएको थियो । यो संख्या पछिल्लो ६ महिनायताकै बढी भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि गत वर्षको १ अक्टोबरमा ८१ हजार संक्रमित देखिएका थिए । 

संक्रमणबाट बिहीबार चार सय ६८ को मृत्यु भएको थियो । यो संख्या पनि पछिल्लो चार महिनायताकै धेरै हो । भारत दैनिक धेरै संक्रमित थपिने दोस्रो मुलुक बनेको छ । बिहीबार ब्राजिलमा ९१ हजार संक्रमित थपिएका थिए । त्यस्तै, अमेरिकामा दैनिक औसत ६५ हजार संक्रमित फेला परिरहेका छन् । 

शुक्रबारसम्म भारतमा कुल संक्रमितको संख्या एक करोड २३ लाख ७६ हजार नौ सय ६५ पुगेको छ । त्यस्तै, हालसम्म एक लाख ६४ हजार नौ संक्रमितको मृत्यु भएको छ । शुक्रबार रातिसम्मको तथ्यांकअनुसार भारतमा अहिले पनि ६ लाख ५९ हजार ९२८ सक्रिय संक्रमित छन् । पछिल्लो हप्ता मात्र चार लाख ६७ हजार ६ सय ९२ जनामा संक्रमण देखिएको छ । त्यस्तै, एक हप्तामा दुई हजार सात सय ३४ जनाको मृत्यु भएको छ । 

भारतमा कोरोनाको दोस्रो लहर गत वर्षको भन्दा तीव्र रूपमा फैलिँदै छ । गत २२ फेब्रुअरीमा १० हजारलाई कोरोना पुष्टि भएकोमा त्यसको ४० दिनमा त्यो संख्या दैनिक ८० हजारमा पुगेको छ । जब कि गत वर्ष दैनिक १० हजार केसबाट ८० हजार पुग्न ८३ दिन लागेको थियो । गत वर्षको ११ जुनमा १० हजार संक्रमित भेटिएकोमा २ सेप्टेम्बरमा मात्रै त्यो संख्या ८० हजार कटेको थियो । संक्रमणबाट सबैभन्दा धेरै महाराष्ट्र राज्य प्रभावित बनेको छ । त्यस्तै, छत्तिसगढ, उत्तरप्रदेश, बिहार, पश्चिम बंगाल र उत्तराखण्डमा पनि संक्रमण बढ्दै छ ।