१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o८:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रपति भण्डारी  बंगलादेश जाँदै, ९ र १०  चैतमा राजकीय भ्रमण तय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:३८:oo

कोभिड– १९ को महामारी सरु भएको एक वर्षपछि नेपालको उच्चस्तरीय भ्रमण बंगलादेशबाट सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ९ र १० चैतमा बंगलादेशको राजकीय भ्रमण गर्ने तय भएको छ । 

परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशका राष्ट्रपिता शेख मुजिबर रहमानको १००औँ जन्मजयन्ती तथा बंगलादेश स्वतन्त्रताको ५०औँ वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी जान लागेकी हुन् । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा उनको भ्रमण तय भएको हो । 
बंगलादेशले सार्क सदस्य मुलुकका अन्य शीर्ष नेताहरूलाई पनि समारोहमा सहभागी हुन औपचारिक निमन्त्रणा गरेको छ । यो अवसरमा ढाकामा ४ देखि १४ चैतसम्मका लागि विभिन्न कार्यक्रम तय भएको छ । बंगलादेश पाकिस्तानबाट सन् १९७१ मा स्वतन्त्र भएको यसपालि ५० वर्ष पुगेको छ । 

समारोहमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १३ चैतमा ढाका जाँदै छन् । बंगलादेशको परराष्ट्र मन्त्रालयका अनुसार भुटानका प्रधानमन्त्री डा. लोटे छिरिङ, माल्दिभ्सका राष्ट्रपति इब्र्राहिम मोहम्मद सोलिह, श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षे पनि ढाका जाने तय भएको छ । चीनका राष्ट्रपति सी जिनपिङ र परराष्ट्रमन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले भने बंगलादेशलाई भिडियो सन्देश पठाउने कार्यक्रम छ । निम्तालु सार्कका शीर्ष नेताहरूमध्ये भारतीय प्रधानमन्त्री मोदी ढाकाभन्दा बाहिर जाने कार्यक्रम रहेको छ । 

राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्रसचिव भरतराज पौड्यालसहितका अधिकारी एवं राष्ट्रपति कार्यालयका अधिकारी पनि सहभागी हुनेछन् । राष्ट्रपति भण्डारीले नेपाल–बंगलादेश सम्बन्ध तथा बंलाबन्धुको जन्मशताब्दीबारे सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । 

राष्ट्रपति भण्डारीले समकक्षीद्वारा आयोजित राजकीय भोजमा सहभागी हुने तथा राष्ट्रिय संग्रहालयको भ्रमण गर्ने पनि कार्यक्रम छ । बंगलादेशमा रहेका नेपालीसँग पनि राष्ट्रपति भण्डारीले नेपाली राजदूतावासद्वारा आयोजित कार्यक्रममा भेटघाट गर्ने कार्यक्रम छ । 

 

ad
ad