१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत ३ मंगलबार ०६:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अढाई महिनापछि ओली–प्रचण्ड फोनवार्ता, भेटेरै संवाद गर्ने ओलीको प्रस्ताव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत ३ मंगलबार ०६:५३:००

प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार टेलिफोन संवाद भएको छ । सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि आफ्नै पार्टीमा दबाबमा आएका प्रधानमन्त्री ओलीले अढाई महिनापछि प्रचण्डलाई फोन गरेका हुन् । 

यसअघि गत १५ पुसमा प्रधानमन्त्री ओलीले प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न प्रचण्डसँग फोनमा कुराकानी गरेका थिए । प्रधानमन्त्री ओलीले ५ पुसमा संसद् विघटन गरेपछि तत्कालीन नेकपाका अध्यक्षसमेत रहेका ओली र प्रचण्डबीच भेट रोकिएको छ । उनीहरूबीच संसद् विघटन भएको दिन बिहान बालुवाटारमा भेटवार्ता भएको थियो । 

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएको एक सातापछि प्रधानमन्त्री ओलीले केही विषयवस्तुमा संवाद गर्न चाहेको भन्दै प्रचण्डसँग फोनमा कुराकानी गरेका थिए । माओवादी केन्द्रका एक नेताका अनुसार सोमबार बिहान ओलीले दाहाललाई फोन गरेर भेटको प्रस्ताव गरेका थिए ।

‘सोमबार बिहान प्रधानमन्त्रीज्यूको फोन आएको रहेछ । उहाँले भेटेरै केही विषयमा छलफल गर्न चाहेको र उपयुक्त समय (साँझ–बिहान)मा बालुवाटार बोलाउनुभएको रहेछ,’ प्रचण्डनिकट एक नेताले भने ।  फोन संवादमा प्रचण्डले अहिले पार्टी बैठक चलेको र छलफलका लागि महत्वपूर्ण विषयवस्तुसमेत नरहेको बताएको उनीनिकट नेताको दाबी छ ।