मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ फाल्गुण २१ शुक्रबार ०९:५३:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

समाजमा खुल्न थाले एचआइभी संक्रमित

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण २१ शुक्रबार ०९:५३:००

लमजुङमा दुई सय २३ संक्रमित, एक सय १५ ले लिन्छन् एआरटी सेवा

समाजको डरले रोग लुकाएर बस्दै आएका लमजुङका एचआइभी संक्रमित पछिल्लो समय केही खुल्न थालेका छन् । तर, यस्तो संख्या अझै न्यून छ । जिल्लामा सरकारी तथा गैरसरकारी निकायले एचआइभीसम्बन्धी जनचेतनामूलक कार्यक्रम चलाइरहेका छन् । त्यसले संक्रमितलाई अस्पतालसम्म पुगेर औषधि सेवन गर्न केही मनोबल बनाएको छ । तर, विज्ञहरूका अनुसार यो दर अझै बढाउनुपर्नेछ । 

जिल्ला अस्पताल लमजुङका अनुसार हाल जिल्लामा दुई सय २३ एचआइभी छन् । तीमध्ये ४५ प्रतिशत महिला र ५५ प्रतिशत पुरुष छन् । चालू आर्थिक वर्ष साउनदेखि माघमसान्तसम्म १७ सय ७९ जनाले स्वास्थ्य परीक्षण गरेकोमा पाँचजना एचआइभी संक्रमित भेटिएका छन् । ०७६/७७ मा ६ जना संक्रमित थपिएका थिए । उनीहरूका लागि सरकारले नि:शुल्क औषधि सेवनको व्यवस्था गरेको छ । जिल्ला अस्पतालबाट त्यस्ता संक्रमितका लागि निःशुल्क एआरटी सेवा दिने गरिएको छ, तर सबैजनाले यो सेवा लिइरहेका छैनन् । 

एआरटी सेवालाई थप प्रभावकारी बनाउने योजनाका साथ विभिन्न जिल्लामा अनुगमन गर्दै आएको पुगेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटा यहीबीच जिल्ला अस्पताल लमजुङमा अनुगमनमा पुगेकी थिइन् । उनले अझै पनि एआरटी सेवा लिन मानिसहरूले धक मानेको आफूले पाएको बताइन् । सबै संक्रमितले नियमित रूपमा अस्पताल पुगेर सेवा लिने गरेको नपाएको पनि उनले बताइन् । 

एक सय १५ संक्रमित नियमित औषधि लिन्छन्
लमजुङमा दुई सय २३ संक्रमित भए पनि जिल्ला अस्पतालबाट एक सय १५ जनाले मात्र एआरटी सेवा लिइरहेका छन् । अस्पतालका एआरटी काउन्सिलर गणेश गुरुङले एक सय १५ एचआइभी संक्रमितले नियमित रूपमा औषधि सेवन गरिरहेको जानकारी दिए । गुरुङका अनुसार औषधि लिनेमा ५१ महिला, ५२ पुरुष, सात बालिका र पाँच बालक छन् । 

‘उनीहरूलाई अस्पतालमा रहेको एआरटी सेवा सेन्टरबाट एक–एक महिनामा नि:शुल्क औषधि वितरण गर्ने गरेका छौँ,’ गुरुङले नयाँ पत्रिकासँग भने, ‘एआरटी सेवा सेन्टर लमजुङबाट औषधि सेवन गर्नेको संख्यामा प्रत्येक वर्ष वृद्धि भइरहेको छ ।’ एचआइभी संक्रमित अझै पनि समाजमा डराएरै बसिरहेको जिल्ला अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए । ‘रोग लुकाएर बस्ने र अन्तिममा एकदमै ग्रस्त भइसकेपछि मात्र रगत परीक्षण गर्न आउने गरेको पाइन्छ,’ श्रेष्ठले भने, ‘पहिचान भएपछि अस्पतालबाट निःशुल्क एआरटी सेवा निरन्तर दिने गरेका छौँ ।’ जिल्लामा हालसम्म १३ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा पाँच महिला र आठ पुरुष छन् । 

एआरटी सेवा थप प्रभावकारी बनाउँछौँ : डा. देवकोटा
एआरटी सेवालाई थप प्रभावकारी बनाउने योजनाका साथ आफूहरू विभिन्न जिल्लामा अनुगमनमा पुगेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सुधा देवकोटाले बताइन् । जिल्ला अस्पताल लमजुङमा अनुगमनमा आएकी डा. देवकोटाले भनिन्, ‘अझै पनि एआरटी सेवा लिन मानिसहरू धक मानेको देखियो । उनीहरू नियमित रूपमा अस्पताल नआउने भएकाले पनि उनीहरूमा अझै संकोच छ भन्ने बुझ्न सकिन्छ ।’ 

डा. देवकोटाका उनका नेपालका ८० वटा एआरटी सेन्टरबाट एचआइभी संक्रमितलाई औषधि वितरण हुने गरेको छ । ‘समाजमा अझै पनि एचआइभी संक्रमितलाई हेर्ने दृष्टिकोण नकारात्मक भएकाले एचआइभी संक्रमित खुल्न सकिरहेका छैनन्,’ डा. देवकोटाले भनिन्, ‘यो अवस्था अन्त्य गर्न स्थानीय तहले एचआइभीसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ । त्यसपछि मात्र यो प्रभावकारी हुनेछ ।’