मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ फाल्गुण २० बिहीबार ०७:४०:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

१९ दिनदेखि बेपत्ता सम्झना मृत भेटिइन्

Read Time : > 3 मिनेट
२०७७ फाल्गुण २० बिहीबार ०७:४०:००

२९ माघदेखि बेपत्ता रेसुंगा नगरपालिका–३ भाडगाउँकी सम्झना बोहरा १९ दिनपछि मृत अवस्था फेला परेकी छन् । सोमबार बोहराको शव स्थानीयले घरनजिकै देखेपछि प्रहरीलाई खबर गरेका थिए । घरबाट करिब डेढ सय मिटर तल बारीको कुनामा स्याउला र बोराले मुख छोपेको अवस्थामा शव फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेयले शरीर सबै गलेको, टाउको तथा शरीर छुट्टिएको अवस्थामा शव फेला परेको जानकारी दिए । सुरुमा सम्झनाको माइती पक्ष उपस्थित नभएकाले प्रहरीले शव घटनास्थलबाट उठाएको थिएन । अपराधी पत्ता नलागेसम्म शव नबुझ्ने अडानमा रहेको माइती पक्ष घटनाको मुचुल्का उठाउन र पोस्टमार्टम गर्न सहमत भएपछि मंगलबार शव उठाएर गुल्मी अस्पताल तम्घासमा राखिएको छ । घटनाको विषयमा अनुसन्धान गर्न प्रहरीले सम्झनाका ससुरा पर्ने लाल बहादुर खत्रीलाई  नियन्त्रणमा लिएको छ । 

घटना निकै शंकास्पद देखिएको छ । सम्झनालाई घरैबाट अपहरण गरेको देखेकी ५२ वर्षीया सासू टोमकला खत्री केही दिनपछि झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । त्यसअघि उनले प्रहरीलाई बयान दिँदै २९ माघको राति घरमा तीनजना अपरिचित व्यक्ति आएको, आफू र १४ महिनाको नातिलाई छुट्टै कोठामा थुनेको, ती व्यक्तिहरूले त्यहाँ बसेर मादक पदार्थ सेवन गरी बुहारी सम्झना बोहरालाई लिएर गएको बताएकी थिइन् । कसैलाई भने ज्यान मार्ने धम्की दिएकाले सुरुमा कसैलाई नभनेको, तर भोलिपल्ट माइती पक्ष घरमा आउँदा सम्झनालाई नदेखेपछि खोजी गर्दै प्रहरीमा उजुरी दिएको उनले बताएकी थिइन् । 

त्यही क्रममा प्रहरीले १ फागुनमा सासू टोमकलालाई सोधपुछ गरेर घर पठाएको थियो भने सम्झनाका पति नेत्रबहादुर खत्रीलाई पक्राउ गरेर हिरासतमा राखेको थियो । त्यसको भोलिपल्ट २ फागुनको बिहानै टोमकला घरनजिकै झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । 

रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालको नेतृत्वमा ६ फागुनमा स्थानीयले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए । नगर प्रमुख, वडाध्यक्षहरूलगायत आन्दोलनकारीले प्रशासनको तीनवटा सुरक्षा घेरा तोडेर प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगेर सिडिओलाई दुव्र्यवहार गरेका थिए ।

तर, अहिले घटनाले तिनै नगरप्रमुख, वडाध्यक्ष र स्थानीयमाथि केही स्थानीयले प्रश्न गरिरहेको स्थानीय श्रीराम महतले बताए । उनका अनुसार विनाप्रमाण आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेर दुःख दिने ज्वाइँ, वडाध्यक्ष र आन्दोलनको नेतृत्व गर्ने नगर प्रमुखविरुद्ध मुद्दा दर्ताको तयारीसमेत भएको छ । ‘घटना तोडमोड गर्न आन्दोलनको नाटक र माइती पक्षलाई मुद्दा लगाएर दुःख दिइयो,’ महतले भने, ‘झुटा मुद्दा दर्ता गर्नेविरुद्ध परिवारले पनि कानुनी उपचार खोज्छ ।’

रहस्यमय हत्याका शृंखला बढ्दै
गुल्मीमा पछिल्लो समय परिवारभित्रै हत्याका घटनाको शृंखला बढ्दै गएका छन् । ८ फागुनमा रुरु क्षेत्र गाउँपालिका–३ थानपतिकी ४२ वर्षीया मनकला ज्ञवालीले ८७ वर्षीया ससुरा नन्दलाल ज्ञवालीको हत्या गरिन् । १० फागुनमा जिल्ला प्रहरी कार्यालय गुल्मीले हत्यामा संलग्न ज्ञवालीलाई सार्वजनिक ग¥यो । ज्ञवालीले मादक पदार्थ सेवन गरेर ससुरालाई भित्तामा ठोक्काएर हत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ । 

गत ३ माघमा गुल्मीको रेसुंगा नगरपालिका–१४ पराल्मीका ४५ वर्षीय तुलबहादुर विक छातीमा बन्दुकका चारवटा छर्रा लागेको अवस्था मृत भेटिए । सँगै घाँस काट्न गएकी उनकी पत्नी केही टाढा थिइन् । ४५ वर्षीया गीताले बन्दुक हान्नेहरूको पत्तो पाइनन् । दिउँसै बन्दुकले हानेर विकको हत्या भएपछि स्थानीय त्रासमा छन् । तर, हत्यामा संलग्न फेला परेका छैनन् । 

अपराधको रेड जोनमा इस्मा 
इस्मा गाउँपालिका–४ दोहली बाँझका २५ बर्षीय अनिल बस्नेतले आफ्नै ६० वर्षीय बुबा दिलबहादुर बस्नेतको १८ असोज ०७७ मा बीभत्स हत्या गरे । हत्या गरेर फरार बस्नेत पछि पक्राउ परे । उनी हाल पुर्पक्षका लागि जिल्ला कारागार गुल्मीमा छन् । त्यस्तै, २७ चैत ०७६ मा इस्मा गाउँपालिका–२ पालुखाका २९ वर्षीय अर्जुन कुमालले ४६ वर्षीय बाबु टेकबहादुर कुमालको हत्या गरे । उनले घरायसी विवादमै बुबाको हत्या गरेका थिए । हाल उनी जिल्ला अदालत गुल्मीले दिएको १० वर्षको जेल सजाय काटिरहेका छन् । 

इस्मा गाउँपालिका–३ दर्लामचौर तल्लो सिम्पानीकी ७६ वर्षीया कौशिला विकलाई गहनाको लोभमा दुई बुहारी मिलेर हत्या गरे । १७ पुस ०७६ मा भएको सो हत्या लुकाउन उनीहरूले सासूलाई गोरुले हानेको भनेर गाउँले गुहारेका थिए । प्रहरीको अनुसन्धानको क्रममा रहस्य खुल्दै गएपछि २८ वर्षीया लक्ष्मी विक र २३ वर्षीया देवी विक पक्राउ परे । अहिले दुवैजना जेल चलान भएका छन् । इस्मा गाउँपालिका–१ का मोतीबहादुर कुँवरको २१ भदौ ०७७ मा हत्या भयो । होटेल व्यवसायी रहेका कुँवर आफ्नै पसलमा रगताम्य अवस्थामा मृत भेटिएका थिए । तर, अहिलेसम्म हत्यामा संलग्न पक्राउ परेका छैनन् । 

एक वर्षमा आफन्तबाटै हत्याको चौथो घटना
रुरु क्षेत्र गाउँपालिका–३ को पछिल्लो हत्या घटना जिल्लामा एक वर्षको अवधिमा परिवारकै सदस्यबाट भएको चौथो हत्या हो । अझ, तीनवटा घटना त इस्मा गाउँपालिकाभित्रैकै छन् । जिल्लामा १२ स्थानीय तहमध्ये इस्मा गाउँपालिकामा अपराधका घटना बढिरहेको देखिएको छ । एक वर्षको अवधिमा इस्मामा चारवटा हत्याका घटना भएका छन् । त्यसबाहेक घरेलु हिंसाका घटना पनि इस्मामा धेरै हुने गरेका छन् । गत वर्षसम्म बलात्कारका मुद्दा पनि अत्यधिक थिए । सबै घटनाको प्रमुख कारण घरेलु मदिरा भएको पाइएको छ । यसलाई नियन्त्रण गर्ने कोसिस भए पनि सोचेअनुसार सफल हुन नसकेको इस्मा गाउँपालिकाकी उपाध्यक्ष विमला खत्रीको भनाइ छ ।

प्रहरी भन्छ– अपराधका घटना न्यूनीकरणमा समुदायकै सहयोग आवश्यक छ । अपराध जन्मने र अपराधी लुकाउने दुवै ठाउँ समाज नै भएकाले समुदायको सहयोगविना प्रहरीले केही गर्न नसक्ने जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेयको भनाइ छ । हुन पनि गुल्मीमा पछिल्लो समय बढिरहेको अपराध हेर्दा समाज नै अग्रसर नहुने हो भने आगामी दिनमा थप भयावह अवस्था आउन सक्ने देखिन्छ ।