मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
हेमन्त केसी जाजरकोट
२०७७ फाल्गुण १९ बुधबार ०९:०६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण लागत ३ अर्ब घट्यो

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण १९ बुधबार ०९:०६:००

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण लागत घट्ने भएको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार आयोजना निर्माणको कुल लागत १९ अर्ब ९० करोड लाग्ने अनुमान गरिएको हो । तर, यस अघि २२ अर्बबाट लागत अनुमान गरिएको आयोजना प्रमुख सञ्जय सापकोटाले जानकारी दिए । कम्पनीले इलमा ७१ रोपनी जग्गाको प्रतिरोपनी ५ लाख ५० हजार र काइ गाउँमा १ सय ८७ रोपनी जग्गा प्रतिरोपनी ५ लाख १५ हजार रुपैयाँका दरले मुआब्जा वितरण गरिसकेको छ ।  

आयोजनाको विद्युत् उत्पादन गृह मुड्केचुला गाउँपालिका–४, इलमा बन्नेछ भने जगदुल्ला गाउँपालिका वडा नं १ र २ मा ड्याम निर्माण गरिनेछ । पहिलो चरणमा २ सय ५८ रोपनी जग्गा अधिग्रहण भएको छ । अर्धजलाशयका रूपमा निर्माण कार्य थालिएको आयोजना ६ वर्षभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ ।

करिब ७ दशमलव १ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित ३ सय मिटरभित्र रहेको विद्युत् उत्पादन गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । कुल ३ सय ७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि भौगोलिक विकटताका कारण १ सय ६ मेगावाट मात्र विद्युत् उत्पादन गर्न सकिने आयोजनाले जानकारी दिएको छ ।

जगदुल्ला गाउँपालिका–१, हुरिकोटमा २३ मिटर उचाइको जलाशययुक्त ड्याम निर्माण हुनेछ भने उक्त ड्यामको १ सय मिटर चौडाइ हुनेछ । ६ घन्टा पानी थुनेर आयोजना सञ्चालन गरिनेछ । विस्तृत परियोजनाको जिम्मा एनइए इन्जिनियरिङले २७ करोड रुपैयाँमा लिएको छ । आयोजना निर्माणका लागि १० प्रतिशत सेयर स्थानीयवासीले  पाउनेछन् ।  

विद्युत् उत्पादन गृहको माटो परिक्षणका लागि ३ सय मिटरभित्र सुरुङ निर्माण गर्नुपर्ने छ । त्यस्तै, इलमा समेत पुल निर्माण गरिने भएको छ । कर्णाली प्रदेश सरकारले त्रिवेणीदेखि इलसम्मको सडक ट्र्याक खुलेमा  आयोजनाको कामसमेत छिटो हुने जनाइएको छ । आयोजना निर्माणका लागि आवश्यक विद्युत्का निम्ति इलस्थित फेदी खोलाबाट २ मेगावाट र काइगाउँस्थित स्थानीय खोलाबाट २ मेगावाट विद्युत् उत्पादन गर्न सम्भाव्यता अध्ययनको काम सुरु भएको छ । आयोजना निर्माणस्थलमा घर नभएका कारण आयोजना निर्माणका लागि समस्या नभएको प्रमुख सञ्जय सापकोटाले जानकारी दिए । 

त्यस्तै, ३ करोड लागतमा जगदुल्लाबाट मुड्केचुलाको सर्मीसम्म सडकको काम सुरु भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण तोकिएको समयमा सम्पन्न हुन मुस्किल देखिएको छ । काइगाउँबाट मुड्केचुलासम्म जोड्ने सडकको काम ५ करोड रुपैयाँमा सुरु गरिएको प्रदेश सभा सदस्य वीरबहादुर शाहीले जानकारी दिए ।

त्रिवेणी, मनमङ र नीलदहमा पक्की पुल जगदुल्ला जलविद्युत् आयोजनाले बनाउनेछ । आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन गर्न ०७७ पुसमा सार्वजानिक सूचना प्रकाशित गरी प्रभावित क्षेत्रको विवरण दिन आग्रह गरिएको थियो । त्यस्तै, त्रिवेणीमा पुल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । भौतिक पूर्वाधार कार्यालयले सो ठेक्का खोलेको हो । 

जगदुल्लाकै ८२ मेगावाटको अर्को आयोजना 
१ सय ६ मेगावाट क्षमतामा निर्माणको तयारी भइरहेको जगदुल्ला जलविद्युत् आयोजनाले ८२ मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत् आयोजना पनि निर्माणको तयारी गरेको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सार्वजनिक गरेर सरोकारवालाको राय संकलन पनि गरिसकिएको जगदुल्लाका आयोजना प्रमुख सापकोटाले बताए ।

क्यासकेड आयोजनाका रूपमा जगदुल्ला ‘ए’ पनि निर्माण गर्दा अर्धजलाशयको लागत पनि घट्ने र दुवै आयोजनालाई आकर्षक आयोजना बनाउन सकिने बताइएको छ । विद्युत् उत्पादन कम्पनीअन्तर्गत बनेको जगदुल्ला जलविद्युत् कम्पनीमा अति विपन्न परिवारलाई २ प्रतिशत सेयर सुरक्षित गरिएको छ । आयोजनामा सर्वसाधारणका लागि १७ प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १० प्रतिशत सेयर दिने बताइएको छ ।