मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ९ आइतबार २१:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

घुससहित पक्राउ परेका उपसचिवलाई एक वर्ष कैद, घुस दिने पनि दोषी ठहर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ९ आइतबार २१:५३:००

चार लाख रुपैयाँ घुससहित पक्राउ परेका डिभिजन वन कार्यालय, कर्णाली प्रदेश सुर्खेत कार्यालयका तत्कालीन प्रमुख उपसचिव भक्तबहादुर लामा र उनलाई घुस दिने कमलबहादुर शाहीलाई विशेष अदालतले दोषी ठहर गरी एक वर्ष कैद सजाय सुनाएको छ ।  दुवैलाई दुई–दुई लाख रुपैयाँ जरिवाना भएको छ । 

विशेष अदालतका न्यायाधीशहरू प्रेमराज कार्की, बालेन्द्र रूपाखेती र चन्द्रबहादुर सारूको इजलासले उनीहरूलाई दोषी ठहर गरी कैद र जरिवानाको सजाय सुनाएको हो । 
 
काठ–दाउराको छुट पुर्जी म्याद थप गर्न शाहीसँग लामाले चार लाख घुस लिएका थिए । शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सूचना दिई घुस दिएका थिए ।  घुस लिएलगत्तै आयोगले उनलाई पक्राउ गरेको थियो ।  

सुरुमा शाहीले आयोगमा लामाविरुद्ध लिखित उजुरी निवेदन दिएका थिए । अनुसन्धानमा सहयोग गरेकोले सजायको मागदाबीमा पूर्ण छुट दिई आयोगले उनलाई साक्षीका रूपमा पेस गरेको थियो । तर, पछि अदालतमा गएर उपसचिवलाई फाइदा हुने गरी बयान गरेपछि आयोगले उनलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।  

दुवैजनालाई एक–एक वर्ष कैद र दुई–दुई लाख जरिवानाको फैसला भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बताए ।