१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
कमल मादेन
२o८१ बैशाख २४ सोमबार o८:o१:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

जीवाष्मको अध्ययनमा नेपालका विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालयअन्तर्गत वनस्पति तथा जन्तु संकायको पाठ्यक्रम जीवाष्मका सन्दर्भमा अत्यन्तै कमजोर अवस्थामा छ

Read Time : > 4 मिनेट
कमल मादेन
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:o१:oo

त्रिभुवन विश्वविद्यालय केन्द्रीय भूगर्भ विभागले प्रकाशन गरेको ‘भेजिटेसन हिस्ट्री अफ नेपाल हिमालय’ शीर्षक पुस्तकमा मोरङको केराबारी गाउँपालिकास्थित टाकुरे खोला (२६ डिग्री ४७’२८”एन ८७ डिग्री २४’३०”ई) मा ३०–२५ करोड वर्ष पहिले वनेको वनस्पतिको जीवाष्म (फोसिल्स) फेला परेको जानकारी छ । पुस्तक केन्द्रीय भूगर्भ विभाग प्रमुख प्रा.डा. खुमनारायण पौडेलले लेखेका हुन् । उल्लिखित पुस्तकमा देशका विभिन्न २५ ठाउँमा गरिएका अध्ययनमा पाइएका जीवाष्मबारे जानकारी छ । 

मोरङमा भेटिएको जीवाष्म सल्लो वर्ग (जिम्नोस्पर्म)को वनस्पति हो । यसको वैज्ञानिक नाम सिजोनेउरा गोन्ड्वानेसिस बताइएको छ । यो सन् १८७६ मा पत्ता लगाइएको जीवाष्म वनस्पति हो । पुस्तकअनुसार अहिलेसम्म नेपालमा फेला परेको लेउबाहेक यो नै सबैभन्दा पुरानो जीवाष्म हो । यो जीवाष्मको संरचना उन्यु वर्गको इक्विजेटम भनिने जातिका वनस्पतिसँग मिल्दोजुल्दो देखिन्छ । यो प्रजातिको जीवाष्म अहिलेसम्म नेपालसहित भारत, अस्ट्रेलिया, अन्टार्कटिका, दक्षिण अफ्रिका तथा दक्षिण अमेरिकामा फेला परेको छ । 

मोरङमा भेटिएको जीवाष्म ३०–२५ करोड वर्ष पहिलेको भएकाले नेपालको भौगर्भिक इतिहास त्यति पुरानो हो कि भन्ने संशय आमपाठक वर्गमा उत्पन्न हुन सक्छ । तर, पृथ्वीको भौगर्भिक तालिकाअनुसार वास्तविकता त्यस्तो होइन । हाम्रो हिमालय शृंखला नै करिब पाँच करोड वर्षअघिको सेरोफेरोमा उद्भव भएको हो । पूरै चुरे क्षेत्रको आयु डेढ–दुई करोड वर्ष मात्र पुरानो हो । यसो भए मोरङमा यति पुरानो जीवाष्म कसरी भेटियो ? यसलाई स्पष्ट गर्न पृथ्वीको पछिल्लो ३०–२५ करोड वर्षको भौगर्भिक इतिहास थाहा पाउनुपर्ने हुन्छ । 

हिमालय उद्विकास : जर्मनीका अल्फ्रेड वेगेनर (१८८०–१९३०)ले सन् १९१२ मा महादेश तथा महासागर उत्पतिबारे ‘कन्टिनेन्टल ड्रिफ्ट हाइपोथेसिस’ अघि सारेका थिए । उनले त्यो हाइपोथेसिस दक्षिण अमेरिका, अफ्रिका, अस्ट्रेलिया महादेशमा पाइएका जीवाष्मका आधारमा लेखेका थिए । हाइपोथेसिसले भन्छ– करोडौँ वर्ष पहिले ती महादेश एक–आपसमा जोडिएका थिए । किनभने, ती महादेशमा पाइएका जीवाष्म उस्तै र एकै समयताका बनेका थिए ।

वेगेनरले जमिनमा रहने एकै प्रजातिको जीवाष्म भिन्न महादेशमा फेला पारेपछि यस्तो विचार अघि सारेका थिए । उनले भनेका थिए कि ‘दक्षिण अमेरिका र अफ्रिकालाई नजिक ल्याइँदा तिनको संरचना एकआपसमा ठ्याक्क जोडिन सक्ने स्थिति छ ।’ जुन कुरा हामी नक्सामा हेर्न सक्छौँ । तर, उनले महादेशहरू के कारणले छुट्टिए भन्ने तर्क दिन नसकेकाले यो हाइपोथेसिसमै सीमित भयो । 

सन् १९५० ताका ‘थ्यौरी अफ प्लेटस् टेक्टोनिक्स’ प्रतिपादन भयो । यसले महादेश र महासागर उत्पतिबारे कारण प्रस्ट्याएको छ । यसअनुसार पृथ्वीको सबैभन्दा बाहिरको कडा भाग लिथोस्फेयर पृथ्वीको भित्री मध्यभागमा भएका असीम तापका कारण ठुल्ठूला तथा स–साना अनेकन खण्डमा टुक्रिएका छन् । ती भित्री खण्डहरू कुनै महादेशसहित समुद्री खण्ड जोडिएको र कुनै दक्षिण एसिया जत्रा वा त्यसभन्दा साना छन् ।

ती खण्डलाई टेक्टोनिक प्लेटस् भनिन्छ । तिनीहरू १००–५० किमिसम्म मोटाइका छन् । लिथोस्फेयरभन्दा मुनिको भाग ज्यादै तातो अर्धतरल अवस्थामा छ । जुन ताप र चापका कारण विभिन्न दिशामा चलायमान छ । तिनीहरू निश्चित दिशातर्फ वहँदा यसमाथिको हिस्सा पनि ज्यादै मन्द गतिमा चलिरहन्छ । यसकारण लिथोस्फेयरका खण्डहरू करोडौँ वर्षको अन्तरालमा कहिले कता जान्छन्, कहिले कता । यसैले महादेशहरू कहिले जोडिन्छन् त कहिले छुट्टिएर अन्तै पुग्छन् । समुद्र पनि कहिले विलय हुन्छ त कहिले उदय हुन्छ । 

‘थ्यौरी अफ प्लेटस् टेक्टोनिक्स’ अनुसार ३०–२५ करोड वर्षअघि दक्षिण एसिया, अस्ट्रेलिया, अफ्रिका, अमेरिका, अन्टार्कटिका एकआपसमा जोडिएको अवस्थामा थिए । करिब १७ करोड वर्ष पहिले उत्तर अमेरिका दक्षिण अमेरिकासँग छुट्टिएर उत्तरतर्फ गयो । यसरी नै १२ करोड वर्ष पहिले दक्षिण अमेरिका र अफ्रिका अलग हुन सुरु गरे । त्यतिवेला नै अन्टार्कटिका दक्षिणतर्फ बग्न थाल्यो भने अस्ट्रेलिया पूर्वतर्फ ।

७–८ करोड वर्ष पहिले दक्षिण अफ्रिका र मादागास्करनजिक रहेको भारतीय उपमहाद्वीप उत्तर–पूर्वतिर दु्रत गतिमा अघि बढ्यो । करिब साढे ५ करोड वर्ष पहिले भारतीय उपमहाद्वीप तिब्बती प्लेटसँग ठोक्किन पुग्यो । ती दुई प्लेटस्हरूको घुचेडाघुचेडका क्रममा मुनिको भाग मुनि नै धसिएर जाने र माथिको भाग माथि जाने क्रममा हिमालय, पहाडी तथा चुरे क्षेत्र उद्भव भएका हुन् । यही क्रममा ३०–२५ करोड वर्षअघि बनेको जीवाष्म टेक्टोनिक प्लेटस्सँगै बग्दै यता आइपुगेको हो । 

चतरा–बराहक्षेत्र खण्ड : धरानबाट करिब १२ किमि पश्चिमतर्फ सप्तकोसी किनारमा रहेको छ, चतरा । चतराबाट केही किमि उत्तरतर्फ धार्मिक महत्वको बराहक्षेत्र छ । ‘भेजिटेसन हिस्ट्री अफ नेपाल हिमालय’ पुस्तकमा चतरा– बराहक्षेत्रबीचको भौगर्भिक अध्ययन सिलसिलामा वनस्पति परिवारका ८ प्रजातिका पातको जीवाष्म फेला परेको जनाइएको छ । तीमध्ये उन्यु, एकदलीय र दुईदलीयका क्रमशः एक, एक र ६ प्रजाति छन् । ती सबै प्रजाति हिजोआज अस्तित्वमा छैनन् । 

वनस्पति विज्ञानमा हर्रो, बर्रो जातिलाई टर्मेनेलिया भनिन्छ । चतरा–बराहक्षेत्र खण्डमा टर्मेनेलिया जातिअन्तर्गत तर प्रजाति पहिचान हुन नसकेको पातको जीवाष्म फेला परेको छ । यो ५३ लाख वर्ष पहिले बनेको हो । यसको गज्जबको एक अर्को नमुना बोटानिकल सर्भे अफ इन्डिया, कोलकाता, पश्चिम बंगालमा संग्रहित छ ।

अहिले विकास निर्माणका काममा जमिन खन्ने, चट्टान फोड्ने, सुरुङ निर्माण गर्नेजस्ता काम अत्यधिक भइरहेका छन् । काम भइरहेका स्थानमा वनस्पति तथा जन्तु वा तिनका अंगका आकृति फेला परे कसरी जोगाउने भन्नेबारे सचेतना कार्यक्रम अघि सार्नु अति आवश्यक छ । 
 

यसको हर्बेरियम संख्या ५,५४,९२८ लेखिएको छ । यस्तै, त्यही खण्डमा साल अर्थात् सखुवाको लोप भएको प्रजाति सोरिया मिओसेनिकाको पात पनि भेटिएको छ । यस्तै, बाँस, वर÷पीपलको लोप भएका प्रजातिका जीवाष्म पनि त्यहीँ फेला परेका छन् । 

देशका विभिन्न भागमा ठुल्ठूला विकास निर्माण परियोजना चलिरहेका छन् । अहिले विकास निर्माणका काममा जमिन खन्ने, चट्टान फोड्ने, सुरुङ निर्माण गर्नेजस्ता काम अत्यधिक भइरहेको छ । काम भइरहेको स्थानमा वनस्पति तथा जन्तु वा तिनका अंगका आकृति फेला परे कसरी जोगाउने भन्नेबारे सचेतना कार्यक्रम अघि सार्नु अति अवश्यक छ । यसबाट विकास निर्माणका क्रममा फेला पर्ने जीवाष्महरू केही मात्रामा भए पनि नष्ट हुनबाट जोगिन्छन् । तर, दुःखलाग्दो स्थितिचाहिँ के छ भने हामीकहाँ अहिले यस्ता जीवाष्म व्यवस्थापन गर्ने संरचना के कस्तो बनाउन आवश्यक छ भन्ने सोचसमेत छैन । 

रोयटर्सले जनवरी २६, २०२१ मा प्रकाशित ‘साइन्टिस्ट इन ग्रिस फाइन्ड २० मिलियन इयर्स–ओल्ड पेट्रिफाइड ट्री’ शीर्षक समाचारमा उल्लेख गरेअनुसार सडक निर्माण कार्यमा दुई करोड वर्ष पुरानो १९ मिटर लामो रुख, हाँगा र जरा जोडिएको जीवाष्म फेला परेको छ ।

जुन संसारभर चर्चाको विषय पनि बन्यो । यस्तै एक रूखको जीवाष्म दुई वर्षअघि म्याग्दीस्थित अन्नपूर्ण गाउँपालिकामा एक विद्युत् उत्पादनका निम्ति टनेल खन्दा फेला परेको थियो । तर, त्यो जानकारी निर्माणकर्ताहरूमाझ टनेलमा रूखका जीवाष्मका कारण पानी चुहिई अवरोध भएको भन्ने मात्र बाहिर आयो । यसरी नेपालमा ग्रिसमा जस्तै बडेमानको रूखको जीवाष्म भेटिनुचाहिँ विद्युत् उत्पादनकर्ताका निम्ति समस्यामा मात्र सीमित भयो ।

जीवाष्म अध्ययन : स्नातकोत्तर क्याम्पस विराटनगरका प्राध्यापक डा. शिवकुमार राईले १३ फेब्रुअरी २०१९ मा जिम्नोस्पर्मको जीवाष्म पोस्ट गरेका थिए । बुझ्दै जाँदा राईले त्यो ढुंगामा बनेको जीवाष्म भारतस्थित लखनउमा विद्यावारिधि गर्ने क्रममा उतैबाट ल्याएका रहेछन् । तर, त्यो कुन जीवाष्म प्रजाति हो भन्ने जानकारी छैन । यसले विश्वविद्यालयमा जीवाष्म अध्ययन अनुसन्धान के कस्तो अवस्थामा छ भन्ने प्रस्टिन्छ । 

वनस्पति विज्ञानअन्तर्गत बिएस्सी र एमएस्सी तहमा जीवाष्म सन्दर्भका पाठ्यक्रम छ । तर, पाठ्यसामग्रीको स्थिति कस्तो छ भने वनस्पति विज्ञान संकायमा त नेपालमा अहिलेसम्म वनस्पतिको जीवाष्म भेटिएकै छैन भन्ने अवस्था छ । पढाइएका सामग्री अध्ययन गर्दा पढाउनेले अहिलेसम्म नेपालमा फेला परेको जीवाष्म वनस्पति चर्चा गर्ने गरेको पाइन्न । पाठ्यक्रम पनि हजुरबा, हजुरआमाकै पालाका छन् । पढाइने नोट्सहरू पनि त्यस्तै पुराना छन् । यस्ता पाठ्यसामग्री पढेर बिएस्सी र एमएस्सी डिग्री पास गर्नेहरूले जीवाष्मबारे के कति जानकारी राख्छन्, सजिलै अनुमान लगाउन सकिन्छ । 

उता, केन्द्रीय भूगर्भ विभाग कीर्तिपुरले भने वनस्पति तथा जन्तुको जीवाष्म उल्लेख्य मात्रामा संग्रह तथा तिनीहरू उपर अध्ययन अनुसन्धान गरी अनुसन्धानात्मक रचना प्रकाशन गर्दै आएको छ । अचम्मचाहिँ के भने उक्त विभागसँगै जन्तु र वनस्पतिको केन्द्रीय विभाग छन्, तर उक्त विभागका गुरुहरूले केन्द्रीय भूगर्भ विभागका अध्ययन अनुसन्धानलाई नजरअन्दाज गरिरहेको अवस्था छ ।

वनस्पति तथा जन्तु विज्ञानको अध्ययन जीवाष्म अध्ययनविना अपूरो मानिन्छ । अहिलेका वनस्पति तथा जन्तुका पूर्वज कस्ता थिए, समयक्रममा तिनीहरू के कति फरक भए भन्ने तुलना गर्न जीवाष्म अध्ययन हुनैपर्छ । यसले तिनीहरू कहिले लोप भए भन्ने थाहा पाइन्छ । के कारणले लोप भए, त्यो अध्ययनको अर्को पाटो हो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत वनस्पति तथा जन्तु संकायको पाठ्यक्रम जीवाष्मका सन्दर्भमा अत्यन्तै कमजोर अवस्थामा छ ।

वनविज्ञानलगायत अन्य विश्वविद्यालयका पाठ्यक्रम पनि उस्तै छन् । केन्द्रीय भूगर्भ विभागले जीवाष्म अध्ययन अनुसन्धानमा उल्लेखनीय काम गरेको छ । सम्बद्ध विभाग तथा अध्ययन अनुसन्धानकर्ताले उक्त विभागसँग समन्यव गरी पहिले त पाठ्यक्रम परिमार्जन गर्नुपर्छ । त्यसपछि संयुक्त रूपमा अध्ययन अनुसन्धान कार्यक्रम अघि बढाउन आवश्यक छ । 

ad
ad