मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ माघ ९ शुक्रबार
  • Friday, 22 January, 2021
ad
कमल मादेन
२०७७ मङ्सिर ८ सोमबार ०८:२८:००
दृष्टिकोण प्रिन्ट संस्करण

नारायणहिटीबाट खोजिएका वनस्पति

राज्यले नारायणहिटीमा राजपरिवारको इतिहास मात्र संरक्षण गर्ने होइन, दुई सय वर्षअघिको बोटानिकल गार्डेन पनि ब्युँताउनुपर्छ

कमल मादेन
२०७७ मङ्सिर ८ सोमबार ०८:२८:००

काठमाडौं लैनचौरनजिक रहेको विष्णुको मन्दिर र पानीको स्रोत भएको एक ठाउँलाई केही सय वर्षअघिदेखि नारायणहिटी भन्ने गरिन्थ्यो । सनातन धर्मअनुसार नारायण भनेका विष्णु भगवान् हुन् । नारायण नामपदसँग अर्को एक नामपद हिटी संयोजन भएर नारायणहिटी शब्द बनेको हो । बाबुलाल प्रधान सम्पादित ‘रत्न नेपाली शब्दकोश’ (वि.सं. २०६७) मा हिटीको अर्थ पानीको धारो, पानीको धारो खसाल्ने नली, पाइप आदि भन्ने जनाइएको छ ।

यसबाट नारायणको मन्दिर र पानीको मूल एकै ठाउँ भएर त्यस ठाउँको नामकरण नारायणहिटी भएको बुझ्न गाह्रो भएन । उसवेला नारायणहिटीमा एक भव्य भवन पनि थियो । शाह वंशले काठमाडौं उपत्यका विजय गरेपछि नारायणहिटीको त्यो भवनमा श्रीपाली बस्न्यात खलक (अभिमानसिं बस्न्यात) बसेको जानकारी पाइन्छ । बस्न्यात खलकपछि पृथ्वीनारायण शाहकै सन्तति नारायणहिटीमा बसे । 

कोतपर्वमा तत्कालीन प्रधानमन्त्री फत्तेजंग शाह मारिन्छन् । उसवेला फत्तेजंग शाहको निवास नारायणहिटीमै हुन्छ । त्यसपछि जंगबहादुर राणाले नारायणहिटीको भवनलाई केही मर्मत गरी भाइ रणोदीप कुँवरको निवास बनाउँछन् । रणोदीप प्रधानमन्त्री भएपछि नारायणहिटी भवनको पुनर्निर्माण हुन्छ । कालान्तरमा रणोदीपको हत्या सोही भवनमा हुन्छ ।

रणोदीपपछि प्रधानमन्त्री बनेका वीर शमशेरले त्यो भवन भत्काई दरबार बनाउँछन् । वीर शमशेरका दुई छोरीका दुलाहा तत्कालीन महाराजा पृथ्वीवीरविक्रम शाह वसन्तपुर दरबारबाट नारायणहिटी दरबारमा सर्छन् । पृथ्वी शाहका नाति राजा महेन्द्रले त्यो दरबार भत्काई अहिलेको दरबार बनाएका हुन् । जुन पूर्वराजा ज्ञानेन्द्र शाह बहिर्गमनपश्चात् हिजोआज संग्रहालयमा परिणत भएको छ । यो लेखमा आमपाठकलाई कमै जानकारी भएको नारायणहिटीसँग जोडिएको वैज्ञानिक खोज अनुसन्धानबारे चर्चा गरिँदै छ । 

ह्यामिल्टन
फ्रान्सिस बुखानन ह्यामिल्टन नेपालमा वनस्पति वैज्ञानिकका रूपमा अध्ययन अनुसन्धान गर्ने पहिलो अध्येता हुन् । उनी सन् १८०२–१८०३ मा काठमाडौं उपत्यकामा करिब एक वर्ष बसेका थिए । उनको नेपाल आउनुको मूल उद्देश्य नेपालको भौगोलिक, राजनीतिक, सामरिक अवस्था अध्ययन गरी ब्रिटिस इस्ट इन्डिया कम्पनीलाई प्रतिवेदन बुझाउनु थियो । तत्कालीन नेपाल सरकारले उनलाई काठमाडौं उपत्यकाबाहिर जान बन्देज गरेको थियो । उनी उपत्यकाभित्र पनि निगरानीमा रहन्थे । कलकत्ताबाट साथै आएका रामजई भट्टचर्जी उनका मुख्य सहयोगी थिए । भट्टचर्जीले उनको कामकाज गर्ने तारतम्य मिलाउँथे । नेपाल बसाइका क्रममा मूल उद्देश्यबाहेक निजी सोखका कामकाजमा पनि मनग्यै समय खर्चे ।

ह्यामिल्टनको सोख नेपालको वनस्पति अध्ययन अनुसन्धान गर्नु थियो । उनले काठमाडौं उपत्यकामा विशेषतः नारायणहिटीबाट प्रशस्त वनस्पतिका नमुना संकलन गरे । उनी सन् १८०५ मा लन्डन पुगी ती नमुनासहित फिल्डनोट र केही ड्रइङ प्रकाशन गरिदिन लन्डनमा उनका मित्र सर जेस इड्वार्ड स्मिथलाई उपलब्ध गराई भारत फर्के । स्मिथ लन्डनबाट प्रकाशित हुने ‘इक्जोटिक बोटनी’ शीर्षक जर्नलका सम्पादक थिए । स्मिथले नगन्य मात्रामा ह्यामिल्टनका सामग्री ‘इक्जोटिक बोटनी’ र ‘साइक्लोपेडिया’ मा प्रकाशन गरे । त्यसपछि स्मिथले न त ह्यामिल्टनका नमुनामा काम गरे, न अरूलाई नै ती नमुनालगायत सामग्री अध्ययन गर्न दिए । 

ह्यामिल्टनले नेपालमा संकलन गरेका वनस्पतिका नमुनाको एक सेट ऐल्मर बोर्क ल्यामबर्ट नामक एक व्यक्तिको निजी संग्रहालयमा पनि बुझाएका थिए । तर, फिल्डनोट र ड्रइङ थिएन । यसकारण ती नमुनाबारे अभिलेख तयार गर्न कठिन थियो । ह्यामिल्टनपछि नेपालमा वनस्पति संकलन इडवार्ड गार्डनर (बेलायतको इस्ट इन्डिया कम्पनीको पहिलो आवासीय प्रतिनिधि) र नाथानियल वालिच (रोयल बोटानिकल गार्डेनका सुपरिटेन्डेन्ट)ले क्रमशः सन् १८१६–१९ र १८२०–२१ मा गरे । नमुनाहरू बेलायत नै पठाइन्थ्यो ।

ह्यामिल्टनको सोख नेपालको वनस्पति अध्ययन अनुसन्धान गर्नु थियो । उनले काठमाडौं उपत्यकामा विशेषतः नारायणहिटीबाट प्रशस्त वनस्पतिका नमुना संकलन गरे । उनी सन् १८०५ मा लन्डन पुगी ती नमुनासहित फिल्डनोट र केही ड्रइङ प्रकाशन गरिदिन लन्डनमा उनका मित्र सर जेस इड्वार्ड स्मिथलाई उपलब्ध गराई भारत फर्के ।
 

उता, बेलायतमा वनस्पतिविज्ञ डेभिड डन ल्यामबर्टको संग्रहालयमा लाइब्रेरियन थिए । सन् १८२५ मा ह्यामिल्टन, गार्डनर र वालिच संकलित नमुनाका आधारमा डन लिखित ‘प्रोडोमस फ्लोरा नेपालेन्सिस’ शीर्षक पुस्तक प्रकाशित भयो । त्यो नेपालको वनस्पतिसम्बन्धी लेखिएको पहिलो पुस्तक हो । ल्याटिन भाषामा लेखिएको उक्त पुस्तकमा ७६६ प्रजातिका वनस्पति समावेश छ । 

‘प्रोडोमस फ्लोरा नेपालेन्सिस’ प्रकाशन भएको १९४ वर्षपछि नेपाल सरकारको वनस्पति विभागले ‘फ्लावरिङ प्लान्टस् डिस्कभर्ड फ्रम नेपाल’ (सन् २०१९) शीर्षक पुस्तक प्रकाशन गरेको छ । पुस्तक केशवराज राजभण्डारी, सञ्जीवकुमार राई, मोहनदेव जोशी, सुभास खत्री, गंगादत्त भट्ट र रिताले लेखेका हुन् । पुस्तकमा बुचनन ह्यामिल्टनले संकलन गरेका जम्मा दुई सय ३० प्रजाति समावेश छन् ।

यसअनुसार ह्यामिल्टनले नेपालमा संकलन गरेका २३० प्रजाति विश्वका निम्ति नयाँ प्रजाति पत्ता लगाएको (डिस्कभर्ड) भन्ने बुझिन्छ । तीमध्ये एक सय १४ प्रजाति नारायणहिटीबाट संकलन गरिएको जानकारी पाइन्छ । तर, नारायणहिटीबाट डिस्कभर्ड भएका वनस्पति प्रजातिको संख्या ११४ भन्दा बढी हुनुपर्छ । किनकि, ह्यामिल्टन संकलित २३० प्रजातिमध्ये कैयौँको संकलन स्थान मात्र सेन्ट्रल नेपाल लेखिएको छ । सेन्ट्रल नेपाल लेखिएकामध्ये केही नारायणहिटीबाटै संकलन गरिएको हुनुपर्छ । 

बोटानिकल गार्डेन 
ह्यामिल्टनले सतुवा भनिने वनस्पति नारायणहिटीबाट १३ मार्च १८०३ मा संकलन गरेका थिए । करिब एक मिटरसम्म उचाइ हुने यो वनस्पतिको वैज्ञानिक नामकरण ‘पेरिस पोलिफाइला’ सर जेस इड्वार्ड स्मिथले गरे । यो जानकारी बेलायतबाट प्रकाशित हुने ‘द साइक्लोपेडिया’मा सन् १८१३ मा प्रकाशित भएको थियो । सतुवाको जरा (गानो) अनेकौँ औषधि उपचारमा प्रयोग हुन्छ । नेपाल, भारत, श्रीलंका, चीन भुटान, कोरिया, जापान, लाओस, म्यानमार, भियतनाम, मंगोलिया, रसिया तथा युरोपमा पाइने यो वनस्पति नेपालमा सदियौँदेखि औषधिका रूपमा प्रयोग हुँदै आएको छ ।

केही दशकयता यसको माग चीनमा अत्यधिक छ । यो विशेषतः समुद्री सतहबाट दुई हजारदेखि ३३ सय मिटर उचाइमा प्राकृतिक रूपमा हुन्छ । सतुवाको महŒव यति धेरै छ कि वनस्पति समाज नेपालको लोगोमा यसैको स्केच राखिएको छ । वनस्पति विभागले ०७५ सालमा सतुवा खेती प्रविधि शीर्षकमा एक पुस्तिका नै प्रकाशित गरेको छ । प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले तयार पारेको प्रतिवेदन ‘आयुर्वेद चिकित्सा एवं औषधि प्रशोधन तथा उत्पादन केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन’ (२०७६) अनुसार सतुवा प्रदेश १ को मुख्य औषधिजन्य वनस्पति हो ।

तेह्रथुम जिल्ला वन कार्यालयले ‘तेह्रथुम जिल्लाका दुर्लभ एवं बहुमूल्य तीन जडीबुटीहरू’ शीर्षक पुस्तिकामा सतुवा पनि समावेश गरेको छ । पंक्तिकारले तेह्रथुमस्थित मेन्छायाम गाउँपालिकामा यसको खेती केही वर्षअघि सुरु भएको जानकारी तेह्रथुम जिल्लाबाट संघीय संसद् प्रतिनिधि भुवानी खापुङबाट पाएको छ । यसको जरा–गानो गाउँघरमा जुका, चुर्ना मार्न, खोकी, घाँटी दुखेको, पेट दुखेको, आउँ लाग्दा र काटेको वा घाउ लागेको ठाउँमा टिन्चर आयोडिनको रूपमा प्रयोग गरिन्छ । तर, अन्तर्राष्ट्रिय जर्नलमा यो वनस्पतिको सारतत्व क्यान्सरलगायतका रोग उपचारमा उपयोगी हुने जनाइएको पढ्न पाइन्छ ।

यसअनुसार ह्यामिल्टनले नेपालमा संकलन गरेका २३० प्रजाति विश्वका निम्ति नयाँ प्रजाति पत्ता लगाएको (डिस्कभर्ड) भन्ने बुझिन्छ । तीमध्ये एक सय १४ प्रजाति नारायणहिटीबाट संकलन गरिएको जानकारी पाइन्छ । तर, नारायणहिटीबाट डिस्कभर्ड भएका वनस्पति प्रजातिको संख्या ११४ भन्दा बढी हुनुपर्छ । 

ह्यामिल्टनले नेपालबाट संकलन गरेको सतुवालगायतका वनस्पतिका नमुना हिजोआज ‘द लिन्नियस सोसाइटी लन्डन’मा संग्रहित छ । सतुवाको टाइप स्पेसिमेन हिजोआज त्यहीँ छ । विश्वका निम्ति नयाँ डिस्कभर्ड भएका वनस्पति प्रजातिको वैज्ञानिक नामकरण गर्दा प्रयोग गरिएको नमुनालाई टाइप स्पेसिमेन भनिन्छ । वनस्पति अध्ययन अनुसन्धान क्षेत्रमा टाइप स्पेसिमेन अत्यन्त महत्वपूर्ण मानिन्छ । संग्रहालयको मुख्य सम्पत्ति टाइप स्पेसिमेन मानिने भएकाले यिनलाई अत्यन्त सुरक्षित तवरमा संग्रह गरिन्छ ।

वनस्पति विभागअन्तर्गत गोदावरीमा रहेको ‘नेसनल हर्वारियम एन्ड प्लान्ट ल्याबोरेटरिज’ नामक संग्रहालयमा एक सय १३ प्रजातिका टाइप स्पेसिमेन संग्रहित छन् । यीमध्ये सुनाखरीविज्ञ डा. भक्तबहादुर रास्कोटीले डिस्कभर्ड गरेका ११ प्रजाति सुनाखरीका टाइप स्पेसिमेन छन् । नारायणहिटीमा सतुवा दुई सय १७ वर्षअघि कसरी बाँचेको थियो होला ? नारायणहिटीको भू–सतह उचाइ १३ सय मिटरजति मात्र छ । यसको अर्थ आजभन्दा दुई सय वर्षअघि नारायणहिटीको जलवायु हिजोआजको करिब दुई हजारदेखि तीन हजार मिटर उचाइमा हुनेजस्तो थियो होला । ह्यामिल्टनले नारायणहिटीबाट संकलन गरेका वनस्पति सतुवाजस्तै महत्वपूर्ण र त्यस उचाइमा बाँच्न नसक्ने अन्य थुप्रै छन् । 
 

वनस्पति अध्ययन अनुसन्धान गर्नेका निम्ति ह्यामिल्टनले संकलन गरेको वनस्पतिका टाइप स्पेसिमेन देख्न पाउनु गौरवको कुरा हुन्छ । नारायणहिटीबाट डिस्कभर्ड भएका वनस्पतिका टाइप स्पेसिमेन नारायणहिटीमा संग्रह गर्नका निम्ति उताबाट ल्याउन त सकिन्न, तर तस्बिर प्रिन्ट गरेर प्रतिलिपि नारायणहिटीमा राख्न सके यो संग्रहालयको ओज अवश्य बढ्छ । नारायणहिटीबाट सुनाखरीका कैयौँ सुन्दर, मनमोहक प्रजातिसहित झाडी तथा झार वर्गका अनेकन सुन्दर फूल फुल्ने प्रजाति डिस्कभर्ड भएका छन् । तीमध्ये केही दर्जन सुन्दर फूलका रूपमा घरघरमा रोप्न मिल्ने छन् । रूख समूहअन्तर्गत दुई प्रजातिका चाप त्यहीँबाट विश्वका निम्ति डिस्कभर्ड भएको हो । यसैगरी, बाँझअन्तर्गत पनि त्यहीँबाट दुई प्रजाति डिस्कभर्ड भएका छन् । 

नारायणहिटीबाट डिस्कभर्ड भएका वनस्पति त्यहीँ रोपी लहलह तुल्याए नारायणहिटी दरबार संग्रहालय अवलोकन गर्न आउनेले नेपालको वनस्पति खोज अनुसन्धानको इतिहास बुझ्ने अवसर पाउँछन् । ती वनस्पति विश्वका निम्ति नेपालबाट डिस्कभर्ड भएका हुन् भनेर अवलोकनकर्तालाई जानकारी दिन सक्दा राम्रै सन्देश जान्छ । यसो गरे त्यो संग्रहालय मात्र नभई यसले सानो बोटानिकल गार्डेनको रूप ग्रहण गर्छ । संग्रहालयअन्तर्गत बोटानिकल गार्डेन सम्मिश्रण गरिँदा अवलोकनकर्ताका निम्ति त्यो थप आकर्षण हुन सक्छ । यसबाट नारायणहिटीमा इतिहाससँगै विज्ञान अवलोकनकर्ता पनि थपिन्छन् । 

अन्तर्राष्ट्रिय मान्यताअनुरूप बोटानिकल गार्डेन भनेको वनस्पतिको नमुनाको संग्रहालय हो, जहाँ महत्वपूर्ण वनस्पति रोपिन्छ । वनस्पतिसम्बन्धी अध्ययन अनुसन्धान हुन्छ । अध्ययन अनुसन्धानसम्बन्धी सामग्री प्रकाशित पनि गर्छ । प्रोडोमस फ्लोरा नेपालेन्सिसमा उल्लेख भएअनुसार उसवेला नारायणहिटीमा एक उद्यान थियो । राजा तथा राणाका परिवारले त्यहीँ रोपिएका औषधिजन्य वनस्पतिबाट उपचार गराउँथे होलान् । राज्यले नारायणहिटीमा राजपरिवारको इतिहास संरक्षण मात्र होइन, दुई सय वर्षअघिको बोटानिकल गार्डेन पनि ब्युँताउनुपर्छ ।