मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ फाल्गुण ६ बिहीबार ०७:०६:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

संक्रमण दर घटेपछि कोरोना अस्पताल सुनसान

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण ६ बिहीबार ०७:०६:००

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमातहतको कोरोना विशेष अस्पताल सुनसान बन्दै गएको छ । कोरोना संक्रमण दर घटेपछि अस्पताल सुनसान बन्दै गएको हो ।  केही महिनाअघिसम्म संक्रमितले खचाखच भरिएको अस्पतालमा अहिले एकजना संक्रमित उपचाररत छन् ।

केही दिनअघि त कोरोना अस्पताल पूरै रित्तिएको थियो । अहिले भर्ना हुन आउने संक्रमितको संख्या निकै न्यून रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । ‘बिरामी नहुँदा कुनै दिन अस्पताल पूरै खाली हुन्छ । बिरामी भएको दिन पनि एक–दुईजनाभन्दा बढी हुँदैनन्,’ श्रेष्ठले भने, ‘परीक्षणमा नयाँ बिरामी फेला पर्ने दर पनि अहिले न्यून भएको छ ।’ 

प्रदेश सरकारले सेतीलाई कोरोना उपचार विशेष अस्पताल घोषणा गरेको थियो । अस्पतालले जटिल अवस्थाका संक्रमितलाई भर्ना गर्ने गरेको छ । कोरोना संक्रमणले महामारीको रूप लिन थालेपछि संक्रमितको उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालमातहत रहने गरी ५० शय्याको कोरोना विशेष अस्पताल निर्माण गरेको थियो । सेतीको प्रयोगशालामा हुने नमुना परीक्षणमा पनि अहिले नयाँ संक्रमित फेला पर्ने दर न्यून भएको छ । अहिले दैनिक एक–दुईजनामा मात्रै संक्रमण देखिने गरेको अस्पतालले जनाएको छ । कुनै दिन नयाँ संक्रमित भेटिँदैनन् । 

सुदूरका अन्य अस्पतालमा  पनि संक्रमित घटे
संक्रमण दर न्यून भएपछि सुदूरपश्चिमका अन्य अस्पतालमा पनि संक्रमितको संख्या घटेको छ । प्रदेशभर अहिले पाँचजना संक्रमितको मात्र अस्पतालमा उपचार भइरहेको प्रदेशको सामाजिक विकास मन्त्रालयका कोरोना फोकलपर्सन नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार अहिले सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या करिब तीन सय छ । ‘संक्रमण दर घटेको छ । प्रदेशभर दैनिक तीन–चारजनामा मात्र संक्रमण देखिने गरेको छ,’ कार्कीले भने, ‘त्यसैले अस्पताल र आइसोलेसनहरू अहिले खाली छन् ।’ संक्रमण दर घट्यो भनेर स्वास्थ्य सावधानी अपनाउन लापरवाही भने गर्न नहुने उनले बताए ।

जनजीवन सामान्य बन्दै
प्रदेशभर दुई हजार २६१ बेडका आइसोलेसन पनि रित्तिएका छन् । क्वारेन्टाइनहरू पनि खाली भएका छन् । सुदूरपश्चिममा हालसम्म १४ हजार १४ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित ५५ जनाले ज्यान गुमाएका छन् । संक्रमण घट्दै जाँदा जनजीवन पनि सामान्य बनेको छ । सबैजसो क्षेत्र संक्रमणअघिको अवस्थामा फर्केका छन् । सुदूरपश्चिममा कोरोना भाइरसविरुद्धको खोप लगाउन पनि सुरु भएको छ । अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, कर्मचारी, सञ्चारकर्मीलगायतले खोप लगाइरहेका छन् ।