१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार २o:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चित्रबहादुर केसी भन्छन्– सरकार संकट टार्नेभन्दा सत्ता लम्ब्याउने खेलमा लाग्यो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार २o:४३:oo

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संकट टार्नेभन्दा पनि सत्ता लम्ब्याउने खेलमा लागेको बताएका छन् । राष्ट्रिय जनमोर्चाले गलकोटमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै केसीले सरकारले चुनावको नाममा सत्ता लम्ब्याउने खेल खेलेको आरोप लगाएका हुन् । 

उनले कोरोना नियन्त्रण र आर्थिक संकट पार लगाउने विषयमा सरकारले काम गर्नुपर्ने भए पनि सरकारको ध्यान अन्तै गएको बताए । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका केसीले जनताले पाँच वर्षलाई दिएको म्यान्डेटलाई ओली सरकारले लत्याएर तीन वर्षमा नै चुनावमा जान लागेको भन्दै बारम्बार चुनावमा जाँदा नेपाललाई आर्थिक भार पर्ने बताए । केसीले राणा, राजा फालेर ल्याएको गणतन्त्रमा समेत जनतालाई सुख नभएकोप्रति दुःखेसो पोखे ।

केसीले प्रधानमन्त्री ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरेको बताए । ‘संसद् विघटनको प्रक्रिया राष्ट्रिय जनमोर्चाले असंवैधानिक कदम भन्दै आएको छ’ केसीले भने, ‘राष्ट्रपतिले संसद् विघटनलाई स्वीकार गर्नुभन्दा पहिले सल्लाह गर्नुपर्ने थियो, प्रधानमन्त्री ओलीले बेमौसममा चुनाव गराउँदा आर्थिक रूपमा देशलाई समस्या हुन्छ । विकास बजेट कटाएर चुनाव गराउँदा देश भड्खालोमा जान्छ ।’

केसीले सरकार युवालाई रोजगारी दिनुपर्नेमा विदेश जान प्रेरित गरेको आरोप पनि लगाए । उनले भारतले मिचेको नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी भूमि फिर्ता गर्न भारतले आनाकानी गरेको बताउँदै तत्काल पलह गर्न सरकारसँग माग गरे । 

भारतले नेपाललाई हिन्दू राज्य बनाउन चाहेको र राजा फर्काउने नियतका कारण कूटनीतिक चाला रचेको केसीको आरोप छ । केसीले संविधान जारी गर्ने वेलामा ओली–प्रचण्डले राम्रो अडान राखे पनि अहिले बिस्तारै भारतको प्रभावमा सरकार पर्न थालेको उनको भनाइ थियो । 

केसीले राष्ट्रिय जनमोर्चाले विगतमा भनेको संघीयता षड्यन्त्रको पोको हो भन्ने कुरा अहिले आएर साबित भएको बताए । ‘एउटै संसद् चलाउन नसक्ने देशमा प्रदेशमा सरकार कसरी चल्छ ?’ केसीले भने, ‘अब यो कुरा जनताले बुझ्ने वेला आएको छ । मनपरीतन्त्रलाई जनताले अब स्विकार्दैनन् ।’ उनले प्रधानमन्त्रीको असंवैधानिक कदमलाई राष्ट्रिय जनमार्चाले निरन्तर विरोध गर्ने बताए ।

ad
ad